‘यस्तो पो स्वागत !’

मैले काँडेमा पुगेपछि कुइरोको अन्धमुष्टि देखेर भनेँ मनमनै । पानीको बिर्बिराइ र कुइराको बाक्लो खातमा काँडेले झुलुक्क मुख देखायो । बीस÷बाइस घर थिए त्यहाँ ।

घरमा व्यापारका सूचनापाटीमात्र थिए । मलाई त्यस्ता सूचनापाटीले पोखरामै वाक्क पारेका थिए । म जतिसक्दो चाँडो अलि पर पुग्न चाहन्थेँ ।

कार्की, सापकोटा थिए मसँग । म पो नौलो । उनीहरू पाका थिए यो भेगका । उनीहरूले देखाएको र औँलाएको बाटोमा मैले हिँड्नु थियो ।

बिहानैको चिसो समय ।

भदौको मध्य बेला । जतिबेलै पानी बिर्बिराइरहेछ । कुइरोले घ्वाप्प–घ्वाप्प आएर चिनाजानी गर्न छोडेन मलाई । अरूहरू आफ्नै सुरमा हुन्छन् । म त कुइराको रङ र उसको चालामालालाई निहाल्न खोज्छु घरी–घरी ।

उत्तरतिर कार्की लागेपछि मैले डोर्रिनै प¥यो ।

कुइरो टाउकोतिर कुदिरहेको छ । तीन÷चार घर नाघेर थोरै उकालोपछि तल फेदैतिरबाट फेरि बटारिएर हामीलाई नै सर्लक्क निल्यो कुइरोले ।

‘हत्तेरिका !’

कान्छी र साइँली औँलाको चेपमा कुन बेला–बेला जुका टाँस्सिन भ्याइसकेछ । रगतको भल्को छुटेपछि पो थाहा पाएँ ।

‘आफ्नो औँलै डस्दा पनि थाहा नपाउने तँ कस्तो हुस्सू ?’

धारेहात लाउने नि मै ।

‘दाउ छोपेर काँ–काँ बस्दा रै’छन् । के थाहा पाउनु त मैले ?’

थामथुम पार्ने नि मै ।

एकछिन मन खल्बलियो । तै कुइरोले बेरबार पारेर फेरि आफूमै हुलेपछि मन मोडियो ।

गाउँको बाटो । उकालो र तेर्पे । जताततै हरियो । बाटोपूर्व बाक्लो छ– जङ्गल । काँ हो कहाँ– नदेखिने भीर र हरियो वन ।

‘पसिना पो आयो !’

‘छोड् दे आउन दे,’ भन्छु ।

कुइरो मुठी पारेर मुख धुन्छु । कान, ओठ, निधार पुछपाछ गर्छु । कपालमा अलेली टाँसिएको छ– शीतको थोपाथोपी । परेली र नाके डाँडी पनि पुसपास गर्छु ।

ढुङ्गेनी बाटोलाई घाँस, लहरा र पोथ्रापोथ्रीले सबै निलेको देख्छु । अहिले हामीलाई कुइराले निलेजस्तै ।

‘ओहो, कोदाको कपनी हौ !’

कोदोबारीको लहलह आएर आँखामा ठोक्किँदा गीत गाएँ मैले । कत्ति राम्रोसँग फक्रेका कोदाका झुप्पा–झुप्पा । हरिया पात, हरिया डाँठ र हरियै बाला छन् कोदाका ।

तेर्छो भने नि ढुङ्गाको उबडखाबडले खुट्टा अल्झिइरहन्छ । ठेस लागेको लागेकै छ । सानो हातेझोला नि हुत्याउन मन लागेको छ । सबै कुरा गलेपछि यो झोला पनि भारी भो ।

फाट्टफुट्ट घँसेनीहरू भेटिन्छन् ।

तल पानीको कुलकुल सुन्छु । कतै झरझर पानी खसेको सुन्छु– भीरमुन्तिर ।

पानीको सङ्गीतले मन धोइन्छ । धोइएको मनमा वरपरको वनको हरियाली सङ्लो भएर बस्छ थपक्क ।

‘यो गोलडाँडो !’

चौतारीमा बूढा तमाखु तानिरहेथे । तीन÷चार घर थिए चौतारीका वरिपरि । बूढाले चिनाएको अलिक परतिर सूचनापाटीमा लेखिएको थियो– गोलडाँडा ।

ढुङ्गेनीमा म हात टेक्दै लम्केँ । एउटी निकै बडेमानकी बङ्गाली थरर्र तिघ्रा कमाउँदै ओर्लिरहेकी थिइन् ।

‘उडी बाबा ! उडी बाबा !’

ती बेस्सरी अत्तालिएकी थिइन् ।

म गोर्खाली त लड्खडाएको बेला ती नहड्बडिने कुरै भएन ।

‘ए, सास फुलाउने हो ?’

तीन÷चारजना ओरालो झर्दै थिए । एकजना बूढा बाले मलाई जिस्काएर भनेथे । तर, त्यो सत्य नै भइरहेथ्यो । हरक्षण दम फुलाएर हिँडिरहेथेँ म ।

सरोबरी छ कुइरो र पानी ।

जङ्गलको गोरेटोमा निभारो जताततै सप्लाएको छ । निगुरो, सिस्नु झन् मल नै पाएर कम्मर र कुम–कुम छुने अग्लाइका देख्छु । बर्खाको पानीले सबै कुरो दिँदो रै’छ वनस्पतिलाई ।

‘ओहो, निस्कन पो सकिएला के ?’

कुइराको सुरुङमा पस्दा सोच्छु ।

रूखको बाक्लो चेप छ । गोरेटोमा छरिएको कुइरो छ ठ्याक्कै सुरुङ आकारको । हो, कुइराको ठूलो दुलो !

पसिना शरीरभरि छ । टाउकोमा कुइराले मुसार्न छोडेको छैन । कसले जित्ने ? यै होडबाजी छ– कुइरो र मेरो । ऊ कुद्छ– म पनि पछ्याउँछु । रूखमा छरिएको कुइराले झन्–झन् आँखालाई वरवर बोलाउँदै छ ।

‘ए यो चराको हो कि ?’

‘हैन, पानीको हो कि ?’

‘कि कीराको पो हो ?’

मन्थन हुन्छ ।

‘हैन है हैन । यो त हावा सिर्सिराएको !’

अनौठो स्वर सुनेर मनमा खल्बली हुन्छ । उत्तर फेरि सरक्क आइपुग्छ छातीमा ।

‘हत्तेरिका, कस्ता चिप्ला ढुङ्गा !’

म चिप्लिएँ ।

लेउ हातभरि टाँसियो । पातले पुछेर अघि बढ्दा अलिक पर गएर हेरेँ– माझी औँलामा सानो चिप्ले जुको ढाडिइसकेको रहेछ ।

‘सबको दाउ छ है !’

सराप्छु र ढुङ्गाले थिचथाच पार्छु जुका ।

तेर्पे भेटियो ।

दाउराको खलियो र मकैका उरुङखात छाप्रोमा भेटियो । मकैका तीन÷चार झुत्ता मैले आफ्नै सुरमा पारेँ । बर्खाको भल पसेर दाउरा मक्किन लागेका देखिए ।

बाटोभरि ठोट्नेको घारी थियो । एक÷दुई ठाउँमा पानी, बिरुवा र ढुङ्गाको राम्रो चित्रजस्तो देखिन्थ्यो । म उभिएर रमाइरहन सकिनँ । सँगै साथीहरू कुइरोभित्र हराए । अत्तालिएँ म ।

‘सविन भाइ !’

‘हजुर !’

कुइराको पर्दा भित्रबाट आवाज आयो । बोली अलिक परैबाट आएथ्यो । लम्किएँ म चम्केर । जत्ति लम्किए नि भेट्तिनँ त । पसिनै छुट्यो । खुट्टा बाउँडिएलाजस्तो पो भयो मलाई ।

जङ्गलतिर ठूलो बाटो लाग्यो । सानो गोरेटोतिर साथीहरू हावा खाइरहेथे । त्यतै लागेँ म ।

‘मेरो विचारमा एक घण्टा भो, अब पुग्नुपर्ने !’

कार्कीको बोली सुनेँ ।

बाक्लै जङ्गलमा भीर भेटियो । भीरबाट सङ्लो झरना गड्गडाएर तल झ¥यो । उसले पनि पुगेको कुरा भनेको हो ।

रूखबाट ठुल्ठूला लहरा तल भुइँतिर लत्रिएका थिए । भुइँको माटो छुन–छुन हत्तारिएका लाग्थे ती ।

‘तिर्खालु जरा !’

रूखबाट हाम्फालेका जरा देखेर हृदय बोल्यो ।

हामी हिँड्न रोकिएनौँ । कुइरोले डाम्न नि छोडेन ।

कतै बाक्लै, कतै पातलो कुइरो । कतै गुजुमुज्जे, कतै हसुस्स मास्तिर आएर वेगिएको कुइरो । कुइरोले आफूलाई गति दिएको–दिएकै छ ।

कुइरोसँग के गुनासो गर्नु !

उसलाई जितेर हेर्नु पो हेर्नु ! उसलाई हराउनु पो हराउनु ! उसलाई छक्काउनु पो छक्काउनु ! उसलाई पछार्नु पो पछार्नु !

‘पुगियो सर अस्ट्रेलियन क्याम्प !’

काकीको बोली सुनेँ ।

यही हेर्ने इच्छा थियो ।

‘कुइरो उघ्रेला त ?’

‘छैन, छेकछन्द !’

हाम्रो छलफल ।

‘हेर्नुस् यो क्याम्पबाट देखिन्छ– नीलगिरि, गणेश, माछापुच्छ«े, अन्नपूर्ण, मार्दी हिमाल !’

‘यो ठूलोखर्क त अद्भुत ठाउँ हो !’

मैले वरिपरि हेरेँ । ठूलो चौरका उत्तरतिर हिमालको ताँती । तर, अहिले ती सबै हिमाल हेर्न कसले सक्ला भनेर अग्ला न अग्ला टाँडे सिमेन्टी घर अग्लिरहेथे ।

‘चार सय रुप्पेको चिया खाऊँ ल !’

कार्कीले माग गरेको सुनेँ ।

एक थर्मस तातो पानीमा अदुवा घोलिएर आइपुग्यो । गिलासमा थपी–थपी त्यै पानी खायौँ हामीले ।

‘महँगो कि सस्तो ?’

‘ल्याउने र पकाउने जोहो गरेको हेर्दा महँगो । पानीमात्रै हेर्ने हो भने निकै सस्तो हुनुपर्ने !’ पानी खाइरहँदा कुरामा कुरा थपिए ।

अहँ, जत्ति गरे पनि हिमाल देखिएनन् । कुइरोको गुजुल्टो बटारिएर बरु आइरह्यो…आइरह्यो । हिमालको झुलुक्क मुख नि देखिएन । कुरेकै हो, देखिएन । जत्ति मनले भने पनि हिमाल देख्न पाइएन ।

होस् त ! आ, होस् त ! नदेखे, नदेखियोस् !

अनि हामी ठूलोखर्कको फाँट नाघेर दक्षिणी ओरालो झ¥यौँ । मुखमै तीन÷चार कालीढुङ्गे छानाका घर देखिए । तिनले बरु ठूलाखर्कको रूप जोगाएको लाग्यो मलाई ।

‘यो कुइराले नछोड्ने भो !’

ओरालोमा बाक्लै थिए– रूखपात । त्योभन्दा बाक्लो कुइराले सबैलाई निलिरहेथ्यो । शरीरमा भन्दा जताततै कुदेको लाग्छ । गज्जबले सिकसिकाएको छ जिउ ।

हिमालतिर लाग्नेहरू फरेस्ट क्याम्प, लो क्याम्पतिर लाग्दारहेछन् । तर, हामीले ती बाटा रोजेनौँ । दक्षिणतिरको ओरालो र तेर्पेमै हिँडिरहेका छौँ । घाम छैन । कुइराले आफ्नो तुजुग देखाइरहेकै छ बेस्सरी ।

पानी रसाएर बाटो छ चिप्लो । बिर्बिराएको पानीले जिउ ल्याफल्याफी छ । छाता खोलेको छैन मैले । तर, खोले हुने हालत भने ज्यूँका त्यूँ छ । निराश भइनँ ।

कुइरोले फकाइरहेको छ । कुइरोको मेजमानी र मायाले अस्ट्रेलियन क्याम्पबाट हिमाल नदेख्दाको कुनै पीडा बल्झिएको छैन । के रिसाउनु, के फन्किनु, के रन्किनु । हिमालकै सन्नति त हुन् नि यी कुइरो, सिमसिमे पानी ।

ओरालो भएर ढुङ्गेनी तेर्पे लाग्दा पानी दर्कियो । अनौठोमा झन् अनौठो । कुइरोले सबै पुरेको छ । त्यसैमा पानी ओइरिएको छ चम्केर ।

आँखामा छक्क आउँछ र फेरि छक्कले खित्का छोडेर हाँस्छ ।

जुका टिपिरहेका थापा भाइसँग आँखाले बात मार्छु । फेरि उसले जुका टिप्दा आफू पनि हात लम्काइरहेको हुन्छु– घुँडा, पिडुँलातिर ।

बाटो उकालो लाग्यो ।

सास फुल्यो । निकै फुल्यो । सास फुलाउन पो यो बाटो बनाएको हो कि ? कुरा फत्काउन्जेलमा कुइराले लखेट्न छोडेन । लौ, हावा र पानी गफ गर्दै उत्तरतिरको घना वनतिर लागे । मेरा आँखा एकछिन त अलमल्ल परे नि ।

गडङडङ… गडङडङ… आवाज उत्तरतिरको जङ्गल पसेको पसेकै ग¥यो ।

उकालोमा पुग्दा पक्कै परेँ म त ।

सातवटा लस्करै घर पो भेटिए । सबै झिलिमिली । सूचना र जानकारीले आँगन र पिँढी छपक्कै । फेरि फूलको झिलिमिली उत्तिकै मीठो ।

‘कति किसिमका फूल हुन् यी ?’

खुल्दुली ।

‘सयौँ… सयौँ… !’

उत्तरले फन्को मा¥यो ।

सि यु लज लेखेको पाटीतिर सबै लागे । पोथना रहेछ– यो ठाउँ । घुमन्ते र डुलन्तेका लागि अर्को बिसौनी ।

कति राम्रो ठाउँ ! ओहो, कति मनोरम !

कुइरोले पुछपाछ गरिरहेथ्यो । डाँडा र खोँचमा कुइरोकोे रजगज थियो बेपत्तैले । मेरो मन र आँखा त्यतैमात्र दगुरे घरीघरी ।

‘भैँसीगोठ रे पुरानो नाम !’

जुहारचन नानीले अथ्र्याइन् ।

गुरुङ भेग प¥यो । गुरुङ भाषाले अर्थ दिने यै शब्द होला पोथना ।

तातोपानी र खœयाकखुत्रुक खाइयो । भोक मारिरहने फुर्सद नि थिएन । घडीका काँटा रोक्न मिले छेक्नु हुन्थ्यो– नमिल्ने !

कुइरो फाटेपछि तलको बाटो झ¥यौँ । सपनाजस्तो । कुइरो कतिखेर–कतिखेर घ्वाप्प आइहाल्थ्यो । मन पो मुुसुमुसु हुन्थ्यो ।

ओरालो थियो भयानक । चिप्लो, ढुङ्गेनी र पानी भुलभुलाइरहेको थियो । थिरिथिरी गर्दै तल झ¥यौँ ।

चार÷पाँचजना केटाहरू ओर्लिरहेथे ओरालीमा ।

‘खाएको त बियर हो, मोहीको पो डकार आयो !’

मोटे तन्नेरी बोल्यो ।

‘मैले भात थपेर खाएको, ढिँडोजस्तो हुलुक्क आइरा’छ !’

लाम्घारेले पीडा पोख्यो ।

बाटोले यिनको स्वाद फरक पा¥यो ।

निकै हिँड्दा जङ्गलमा मकैबारी देखियो । बारीका छेउमा एउटा झुप्रो थियो । आँगनमा एउटी बुलाकी लाएकी आइमाईले हामीलाई ताकेर भनिन्, ‘दूध चिया नि पाइन्छ, मकै पोलेर खान नि पाइन्छ !’

मन त दुवै खान थियो नि मलाई । तर, अरू दुईजना निकै अघि लम्किरहेका छन् । पानी फेरि उर्लेर पर्न थालिरहेथ्यो । कुइराको सुरुङ झन्–झन् ठूलो नजिकिइरहेथ्यो ।

जङ्गलमा ढुङ्गा छापेर राम्रो बनाएथे गाउँलेले । तर, चिप्लो लेउ र झरीले गर्दा पाइला घिसार्न सजिलो भएन । यो दोष अब गाउँलेलाई थोपर्न मिलेन । आफ्नै आँट र शरीरसँग गाँसिएथ्यो ।

पानी परेको परेकै भयो ।

हिलो र बाछिटासँग जोगिन सकिनँ । अझ ह्वाप्प–ह्वाप्प गरेर आउने कुइरोले घरी साउती माथ्र्यो, घरी चिच्याउँथ्यो ।

‘यो धम्पुस हो है !’

कोटगाउँ पुग्दा कुइरोले धोक्रो सुक्नेगरी बोलेर भागेको मैले देखेँ । मैले भागिरहेको कुइरोलाई पछ्याएर भेट्न खोजेँ ।

ऊ घट्टेखोलातिर बेतोडले दगु¥यो ।

मैले सास फुलाएर कुद्दा नि भेट्न सकिनँ । ऊ बत्तिइरह्यो… ऊ वेगिइरह्यो… ऊ बुर्कुसिइरह्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएका छौँः नगरप्रमुख नरसिंह चैसीर (अन्तरवार्ता)

२०८० माघ २४, बुधबार १२:३६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?