२१ माघ २०७६ काठमाडौं :

हाइस्पिड नेपाल |

प्रधानमन्त्री केपी ओली ११ फागुनमा ६९ वर्ष पुग्दै छन्। उनी स्वास्थ्य अनुकूल हुनासाथ दैनिक कार्यमा क्रियाशील भइहाल्छन्। डायलासिस गर्दाबाहेकका दिनमा सक्रियता बढाइहाल्छन्। आगन्तुकसँग भेटघाट गर्छन्। सार्वजनिक कार्यक्रममा सहभागी हुन्छन्।

प्रधानमन्त्री ओलीले डायलासिस कति पटक गरे ? यसको यकिन गणना कसैले गरेको छैन। उनले मंगलबार साँझ सम्पादकहरूसँगको भेटमा चाँडै मिर्गौला प्रत्यारोपण गर्ने जानकारी दिए। ‘किन प्रत्यारोपण गर्ने भनेर सोध्नुहोला, अझै बलियो भएर तीन वर्ष सरकार चलाउन र काम गर्नका लागि हो’, उनले भने।

 

उनी मंगलबार तीनवटा कार्यक्रममा व्यस्त भए। मंगलबार दिउँसो अखिल नेपाल महिला संघको शपथग्रहण कार्यक्रमका लागि राष्ट्रिय सभागृह पुगे। साँझ सम्पादकसँग भेटघाट गरे। चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई कहाँ राख्ने भन्नेबारे बैठकमा उनले सहभागिता जनाए। यसअघि उनले १५ माघमा नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरेका थिए। बैठक समापनमा पनि उनको सहभागिता रह्यो।

भारतको अपोलो अस्पतालमा २०६४ सालमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसपछि उनले इम्युनोसप्रेसिभ औषधि सेवन गर्दै आएका छन्। गत १८ साउन र ५ भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार गरिएको थियो। २० भदौमा स्वदेश फर्किएका उनको शरीरमा बढेको एन्टिबडी प्लाज्माफेरेसिस पद्धतिबाट हटाइएको थियो। हाल स्वास्थ्य अनुकूल भएका कारण उनको दौडधुप बढेको छ।

ग्रान्डी अस्पतालमा गत कात्तिक १३ गते पहिलो पटक डायलासिस गरिएको थियो। उनले केही समययता मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गराउँदै आएका छन्। उनी १० मंसिरमा गम्भीर बिरामी परेका थिए। एपेन्डिसाइटिसको शल्यक्रियापछि सरकारी अस्पतालमै उनले डायलासिस गराउन थालेका हुन्।

 

‘मिर्गौलाको कार्यक्षमतामा कमी आएकाले हप्ताको एक पटक डायलासिस गराउनुहुन्छ। कामको सक्रियतामा कमी आएको देखिँदैन’, डा. अरुण सायमीले भने, ‘साताको दुईपटक डायलासिस गर्नुपर्ने अवस्थामा मात्र मिर्गौला प्रत्यारोपणको कार्य अघि बढ्ला।’ पुनः प्रत्यारोपण कहिले गर्ने र कहाँ गर्ने भनेर छलफल भइरहेको सचिवालय स्रोतले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलामा ट्याक्टरबाट खसेर ४० बर्षीय पुरुषको मृत्यु

२०८० चैत्र २२, बिहीबार १०:४९

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?