काठमाण्डौ – (टिका भट्टराइ-शिक्षा नीति तथा अभ्यास केन्द्र) आपतकाल कक्षा, पाठ्यपुस्तक र परीक्षाका पद्धति चलाउनुभन्दा सिकाइ सुदृढ गर्न जोड दिने समय हो । यो जीवनका लागि आवश्यक सीपहरु सिकाउने बेला हो । हामीलाई परीक्षाले यति गाँजेको छ कि दुनियाँभरिका संयन्त्रको ध्याउन्न नै त्यतैतिर छ । हामी अहिले आध्यात्मिकतादेखि तुना बाँध्ने सीपसम्मका कुरा गर्न सक्छौँ । न्वारनदेखि क्रियाकर्मसम्मका चालचलन सिक्न सक्छौँ । उदाहरणको लागि कोरोना अहिले सबैभन्दा उपयुक्त विषय हो जानकारीमा ल्याउन । यसैलाई कक्षाअनुसारको जटिलतामा प्रयोग गर्न सकिन्छ ।
यतिबेला विद्यार्थीलाई अनुभव र ज्ञान मिसाउन सिकाऔँ । यसो भन्दा पाठकलाई अमूर्त लाग्न सक्छ । शिक्षक र अभिभावकलक्षित यस्ता सीप र दृष्टिकोणबारे यहाँ छोटो चर्चा गरिन्छ । यद्यपि नीति निर्माताहरुले पनि यो कुरा बुझ्नु त्यत्तिकै जरुरी छ । ताकि उनीहरुले हस्याङफस्याङ गर्दै इन्टरनेट कसरी जोड्ने वा घरमै विद्यालय कसरी चलाउनेजस्ता काममाभन्दा तत्काल भएकै साधन र ज्ञानका भरमा सिकाइलाई प्रोत्साहन गर्न सक्नुस् । अर्को विपतकालमा के गर्ने र लकडाउन खुलेपछि के गर्ने भनेर विचार गर्नुस् ।
राम्ररी जानेका कुरा
शिक्षक वा अभिभावकले आफूले सबैभन्दा राम्ररी जानेका कुरा सिकाउनुस् । त्यो पाठ्यपुस्तकमा होस् वा नहोस् । यसले तपाईंलाई पनि सोच्न घच्घच्याउँछ । यसै बारेमा तपाईं केटाकेटीसँग पनि सोध्नुस् । उनीहरुका विचारमा तपाईं के सबैभन्दा राम्ररी जान्नुहुन्छ ? तपाईंले सबभन्दा राम्ररी जानेका कुरालाई पाठ्यपुस्तकसँग पनि जोड्नुभयो भने गजब भइहाल्यो । नजोडिने त होइन । तर जोड्न सकिएन भने पिर चाहिँ नगर्नुस् । आखिर कोरोना र लकडाउन कसको पाठ्यक्रममा थियो र ? यो त जीवन सिकाउने बेला हो ।
कतिले दुध दुहुन सिकाउन सक्छन् त कतिले अभिनय गर्न । हाम्रो शिक्षाले जीवनका सीपहरुबाट केटाकेटीलाई अलग्याएर पाठ्यपुस्तकमा सीमित गरेको छ । यो त्यसको क्षतिपूर्ति गर्ने वा वृद्धि गर्ने अवसर हो । हरेक छुट्टीलाई हामीले त्यस दिशामा लैजानेबारे सोचौँ ।
हाम्रो शिक्षा प्रणालीको ठूलो कमजोरी भनेको केटाकेटीले स्वाभाविक रुपमा जानेका सीपलाई विद्यालयले कुण्ठित पार्नु हो । गुरु कपटी परेनन् भने एकलव्यलाई महाधुरन्धर बनाउन सक्छन् । आखिर जे सिक्न गएपनि अर्जुन धनुर्विद्यामा र भीमसेन गद्दायुद्धमै निपुण हुन सके । आखिरमा जिन्दगीमा जानेर आएको कामले प्रोत्साहन पायो भने त्यसले उच्चता प्राप्त गर्छ ।
उनले जानेका कुरा आफू सिक्नुस् । अहिले तन्नेरीले एक हदसम्म जानेको र प्रौढले नजानेको विषय सूचनाप्रविधिकै हो । उनीहरु प्रौढलाई सिकाउन पाउँदा खुसी हुन्छन् । मोबाइल उपयोगप्रति आफ्नो क्षमता बढाऔँ । बताउँदा उनीहरुले थप सिक्छन् । कति सक्षम बालबालिका पनि फेसबुकमा मात्र अलमलिएका छन् ।
दुनियाँको भय
आफ्ना केटाकेटीलाई दुनियाँको डरबाट र दुनियाँलाई आफ्ना सन्ततिको डरबाट जोगाउने पक्का गरियो भने सबै थरीले दुनियाँ जितियो । बाबुआमा र शिक्षकहरुले यतिबेला आफ्ना केटाकेटी चिन्नुस् । उनीहरुको बल र कमजोरी केमा छ ? थाहा पाउनुस् । पक्कै यो एकै दिनमा गर्न सकिन्न । तर त्यो सुरुवात गर्ने यो राम्रो समय हो । तपाईं केटाकेटीलाई बिनासर्त माया गर्न सिक्नुस् त्यसले उसलाई निर्भय र आत्मविश्वासी बनाउँछ ।
चुलोचौको र खेतीपाती
यतिवेला केटाकेटीलाई स्कुलतर्फ फर्काउनभन्दा सिकाइको दायरा बढाउन र त्यसको मकसद बताउन जोड दिऔँ । स्कुलमा पढ्न गएको सिक्नको लागि हो । सिक्न बाँच्नको लागि हो । बाँच्नु एउटा अभीष्टको लागि हो । सिकाइको प्रयोजन त्यही अभीष्ट थाहा पाउनको लागि हो । हरेक परिवेशमा बाँच्ने आँट, सीप र आधार तयार गरौँ । त्यसका लागि सिकाइका धेरैभन्दा धेरै पक्षहरु समावेश हुने दुईवटा मुख्य काम छन् जसमा आज विश्व महिलाको भरमा बाँचेको छ । ती हुन् चुलोचौको र खेतीपाती । यसले तन, मन र व्यवहार पनि समेट्छ । चुलामा ‘कल्चर’ र ‘एग्रिकल्चर’ दुवै छ । कृषिमा प्रकृति र विज्ञान दुबै छ । उत्पादनदेखि उपभोगसम्मको चित्र देखियो भने त्यसमा सबै विषय यति एकीकृत भएर आउँछन् कि केटाकेटीले विश्व विनाशको डिलतिर पुग्दै गरेको देखिहाल्छन् । फर्कन के गर्नु पर्छ, थाहा पाइहाल्छन् ।
धैर्य माग्छ
खेतीपाती होस् या चुलोचौको यसले ध्यान माग्छ । धैर्य माग्छ । निश्चित समय नभई केही उम्रन्न, बढ्दैन । गति अलि बढाउने विचार र उपाय अपनाउन सिर्जनशीलता माग्छ । एक किसिमले स्वनियन्त्रित सिकाइ पनि हुन्छ । अलिकति सुरु गरेपछि खेतबारी, बगैँचा र बिरुवाले नै सोध्छन् – तिमी कति र के गर्न सक्छौ ? एक हिसाबले चुनौती दिन्छन् सिकाइ शब्दावलीको हिसाबले । के गरे के हुन्छ वा नगरे के हुन्छ भन्ने परिणाम तुरुन्त आउँछ । यसले भनिने गरेको आलोचनात्मक चेत बढाउँछ । झन् सम्झना त तिखारिन्छ नै । पानी हाल्न वा सार्न बिर्सिंयो भने बिरुवा मरिहाल्छ । अझ अर्को फसलको लागि के लगाउने, के फेर्ने योजना नगरी भएन । अनि फुलेर फलेपछिको आनन्द भनिरहनु परेन जे अहिले पढेलेखेका भन्नेहरुले गुमाइरहेका छौँ ।
यतिवेला सधैँजसो सहरियालाई मात्र प्राप्त हुने विशेष सहुलियत छ । त्यो हो वरपर खेतबारी र वनजङ्गल डुल्न पाइने । मिलेसम्म केटाकेटीसँग हिँड्नुस् । नीति निर्माता र शिक्षक यति सिर्जनात्मक भइदिऔँ कि सधैँ काम गरिरहेका र गर्न चाहने केटाकेटीको ज्ञानलाई प्रमाणपत्रभित्र हालिदिऔँ । आखिर नीति निर्माताका पनि छोराछोरी, नातिनातिना छन् नि !
बालबालिकालाई हामी विषालु माया दिइरहेका छौँ, यसलाई रोकौँ : डा. अरुणा उप्रेती
स्वस्थ रहनका लागि खानपान र जीवनशैलीमा ध्यान दिनैपर्छ । लकडाउनका बेला मात्र होइन अरु बेला पनि यो कुरामा ध्यान दिनैपर्छ । तर, यो बेला मानिस घरमै बसिरहने भएकाले मानिस चलायमान हुन पाउँदैनन् । हिँडडुल बन्द जस्तै छ, भए पनि कम मात्र छ । दिनभरि घरमा वा कोठामा बसिरहँदा तनाव पनि बढ्छ । घरमै बसिरहँदा खाउँखाउँ लागिरहन्छ । पकाइरहँदा गृहिणीलाई थकान र तनाव हुन सक्छ । अर्कोतिर खानेकुरा नपाएर पनि समस्या हुन्छ ।
अहिलेको समयमा ठूला मानिससँगै बालबालिका पनि समस्यामा छन् । विद्यालय जान पाएका छैनन् । बाहिर खेल्न जान पनि पाएका छैनन् । घुम्न जान पाएका छैनन् । यस्तो बेलामा उनीहरुको स्वास्थ्य, सिकाइ र मानसिक अवस्थाकाबारेमा पनि ध्यान दिन जरुरी छ । अहिलेको बेलामा उनीहरुलाई राम्रा र उपयोगी कुरा सिकाउन अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ ।
बालबालिकालाई पढाइमा मात्र जोड नगरौँ । जतिबेला पनि पढ मात्र नभनौँ । अरु काममा पनि लगाऔँ । खाना पकाउन सिकाऔँ । सरसफाइमा सहभागी गराऔँ । १२र१३ वर्षका बालबालिकाले खाना बनाउन मज्जाले सहयोग गर्न सक्छन् । कोठा सफा गर्न र सामान मिलाउन सक्छन् । ससाना लुगा आफै धुन सक्छन् । यसो गर्दा उनीहरुलाई आफ्नो काम आफै गर्नुपर्ने रहेछ भन्ने थाहा पनि हुन्छ । काम गर्दाको अनुभव पनि हुन्छ अनि मेहनतका बारेमा पनि बुझ्छन् । उनीहरुले पोख्लान् वा फोहर गर्लान् भनेर नसिकाउने हो भने उनीहरुले जीवनभरि केही पनि सिक्न सिक्दैनन् ।
उनीहरुले सक्ने काममा लगाउने हो भने काम सिक्छन् र जिम्मेवार पनि बन्छन् । पानी पोखियो भने पुछ्न सिक्छन् । तरकारीको फोहर कता लगेर फ्याँक्ने भन्ने कुरा सिक्छन् । गाउँघरका बच्चाले यसै गरेर धेरै कुरा सिकेका हुन्छन् भने शहरमा पनि बालबालिकालाई यो कुरा सिकाउन सकिन्छ । यसैगरी सिकाउन सकिन्छ । लकडाउनको समय बालबालिकालाई जीवनोपयोगी कुरा सिकाउने मौका पनि हो ।
यो बेलामा सम्भव भए बालबालिकालाई हजुरबुबा, हजुरआमालगायत बुढाबुढीसँग बसाऔँ । उहाँहरुका पुराना कुराहरु सुनाउने गरौँ । कथाहरु र भोगाइहरु सुनाउने गरौँ । यो निकै नै उपयोगी हुन्छन् । यस्तै, कथा कविता वा उनीहरुलाई मन परेका कुरा लेख्न, चित्र बनाउन, अनुभव लेख्न लगाऔँ । यस काममा उनीहरुलाई सहयोग गर्ने र हौसला दिने गर्न सकिन्छ । उनीहरुलाई कथा पढेर सुनाऔँ, उनीहरुलाई नै पढ भनौँ । सँगै खेलौँ, खेल्न सिकाऔँ ।
बालबालिकालाई स्वस्थ खानेकुरा खुवाउने मात्र होइन स्वस्थ खानेकुराका बारेमा पनि बुझाउनुपर्छ । बालबालिकालाई मीठोमीठो खानेकुरा खान दिउँ भनेर बिस्कुट, चाउचाउ, पाउरोटी, दालमोठलगायत प्याकेटका ुपत्रुु खानेकुरा नखुवाउँ । यसले उनीहरुलाई पोषण पुग्दैन । कब्जियतलगायतका समस्या सुरु हुन सक्छ । त्यसैले स्वस्थ र रेसा भएका खानेकुरा, सागपात, फलफुल प्रशस्त खुवाऔँ ।
भात, रोटी, हलुवा, दूध, दही, मोही, घिउ, अचार, अण्डा, चना, मटर, केराउलगायत खानेकुरा खान दिऔँ । बिहान खानामा दाल भात नै खाए पनि दिउँसो खाजामा के खाने भन्ने धेरैले हेल्चेक्र्याइँ गरेको पाइन्छ । खाजाका रुपमा चिउरा, अण्डा, गेडागुडी र बिहानको खानामा गेडागुडी र तरकारी मिसाएर खान दिनु एकदमै राम्रो हो ।
बालबालिकालाई मोबाइल र कम्प्युटर दिँदै नदिऔँ । कुनै पनि बहानामा यो कुलतको बानी लगाउँदै नलगाऔँ । यसका लागि सुरुमा त बुबाआमा आफै मोबाइल र टीभीबाट टाढै रहनुपर्यो । अनि बल्ल उनीहरुले पनि यो कुलत सिक्दैनन् । मेरो बच्चाले मान्दै मान्दैन, मोबाइलविना खाना नै खाँदैन भनेर वा रुँदा फकाउने बहानामा पनि बालबालिकालाई मोबाइल कम्प्युटर वा ट्याब दिँदै नदिऔँ । यो विषालु माया हो ।
हामी आफ्ना बालबालिकालाई माया त दिन चाहन्छौँ, तर विषालु माया त पक्कै दिन चाहँदैनौँ । त्यसैले यो विषालु माया उनीहरुलाई नदिऔँ । बच्चाले मोबाइलविना एकछिन मानेन भने पनि केही फरक पर्दैन । उसले नमानेर के भयो र रु एकछिन रोला, कराउला, चिच्याउला, लडिबुडी गर्ला यसले केही नराम्रो गर्दैन ।
बालबालिका र बाँदर बिरामी हुँदा मात्र चुप लाग्छ भनिन्छ । उनीहरु खेल्ने, चल्ने उमेरकै हुन्छन् । चल्छन्, खेल्छन्, लड्छन्, उठ्छन् यो नियमित प्रक्रिया नै हो । धेरे अप्ठ्यारो मान्न हुँदैन यसमा । त्यसैले उनीहरुलाई पनि आफैसँग काममा लगाऔँ न । सजिला कामहरुमा लगाऔँ, सिकाऔँ । काम गर्दा उसको हातमा फोहोर लाग्ला, धुन सिकाऔँ । यसले सामाजिकीकरण पनि गराउन सिकाउँछ । र, यो सिकाइ उनीहरुको जीवनभरका लागि काम लाग्छ ।
-उज्यालाे अनलाइनबाट साभार
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।