गोकुलेश्वर । नेपाल सरकारले लिम्पियाधुरासहितको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि देशभरी नेपाली जनता खुसी भएका छन् । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर बजारमा सरकारले ऐतिहासिक काम गरेको भन्दै प्रशंसास्वरुप दिप प्रज्वलन गरिएको छ ।अखिल नेपाल राष्ट्यि स्वतन्त्र युनियन (अनेरास्वबियु) का नेता राजेशसिह बिष्टको अगुवाइमा शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वरमा बुधबार साझँ दिप प्रज्वलन गरिएको छ ।
२०३२ सालयता बनेका कुनैपनि सरकारले लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक नगरेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको साहसिक निर्णयको स्वगत र सम्मास्वरुप दिप प्रज्वलन गरिएको बिष्टले बताउनुभयो । दिप प्रज्वलन समारोहमा अनेरास्ववियुका केन्द्रिय सदस्य भुवन भन्डारी सहित अनेरास्ववियुका नेता, शुभचिन्तक र स्थानीयकाे सहभागिता रहेको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बुधबार नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेसंगै वर्तमान सरकारको नेपाली जनताले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।
२०३२ सालयता प्रयोग भइरहेको नेपालको नक्सामा पश्चिम लिम्पियाधुरा समेटिएको थिएन । जबकि दुई सय वर्षभन्दा पुरानो सुगौली सन्धिअनुसार लिम्पियाधुरा मुहान भएको महाकाली पूर्वका सबै भूभाग नेपालको हो ।
विगतमा नेपालको नक्सामा छुटाइएका गुन्जी, नाबी, कुटीलगायतका क्षेत्र समेटेर लिम्पियाधुरा मुहान भएको काली नदी सीमा नदी हुनेगरी नक्सा जारी गरिएको मन्त्री अर्यालले जानकारी दिनुभयो ।
हामीले पढ्दै आएको क्षेत्रफल एक लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर भएपनि अब तीन सय भन्दा बढी बर्गकिलोमिटर भूभाग नेपालको थपिने सीमा बिदहरुले बताएका छन् ।
कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा मात्रै तीन सय ९५ वर्गकिलोमिटर भूभाग अतिक्रमणमा परेको छ । अतिक्रमितमध्ये ६० वर्गकिलोमिटर भूभाग नेपालको यसअघिको नक्सामै समेटिएको थियो । नेपालको पुरानो नक्सामा भएको कालापानी, लिपुलेकलगायतका क्षेत्र भारतले अतिक्रमण गरेको थियो । पुरानो नक्साअनुसार पनि कैलाश—मानसरोवर जाने सडकको १९ किलोमिटर नेपालमै पर्छ।
बुधबार सार्वजनिक राजनीतिक नक्सामा करिब ३ सय ३५ वर्गकिलोमिटर भूभाग समेटिएको देखिन्छ । त्यसैको आधारमा कतिपयले एक लाख ४७ हजार ५ सय १६ वर्गकिलोमिटर क्षेत्रफल हुने अनुमान गरेपनि आधिकारीक रुपमा सरकारले सार्वजनिक गरिसकेको छैन् ।
यसैबिच भारतले नेपालको नयाँ राजनीतिक नक्सा स्वीकार्य नहुने बताएको छ । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेको हो ।
भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको दाबी गरेको छ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।