दार्चुला । व्याँस गाउँपालिका–१ छाङरु र तिकंर गाउँका व्याँसी सौँका समुदायले एक महिना ढिलो गरि गाउँ फर्किन पाएका छन् । विहिबार नेपाल भारत सीमा पुल खुलाएर लालाबाला र पशुचौपाया सहित सौँका समुदाय कुञ्चा (बसाइ) सरेका हुन् ।
दार्चुला सदरमुकामबाट गाउँ जाने बाटो नहुदा पशुचौपायासहित खलंगामै बस्नुपरेको भन्दै कुञ्चा सर्ने वातावरण बनाइदिन व्याँसबासीले सरोकारवालाहरुलाई एक महिना पहिले देखि नै निरन्तर दबाब दिदै आएका थिए । चिसो छल्न मंसिर महिनामा खलंगा झरेका व्याँसीहरुले बैशाख पहिलो हप्ता गाउँ फर्किन खोजेपनि लकडाउन र सीमा बन्दका कारण गाउँ फर्किन पाएका थिएनन । जिल्ला प्रशासन कार्यालय दार्चुलाको समन्वयमा विहिबार खलंगास्थित सीमा पुल खुलाएर भारतकै बाटो प्रयोग गरी छाङरुका १ सय १० परिवार र तिकंरका ६५ परिवार गरी १ सय ७५ परिवार व्याँसबासी एकसाथ गाउँ फर्किएका छन् ।
नेपालतर्फ बाटो नहुदा भारतीय भूमिको प्रयोग गरेर गाउँसम्म बसाइसराई गर्ने छाङरु र तिकंर गाउँका सौँका समुदाय एक साथ कुञ्चा सरेको स्थानीय नगेन्द्र तिकंरीले बताउनुभयो । भारतको धारचुला हुदैँ पाचँ दिन लगाएर सौका समुदाय गाउँ पुग्ने गरेका छन् । नेपालतर्फ पञ्चायत कालमा निर्माण भएको व्याँस जाने बाटो मर्मत नहुँदा दुई दशकदेखि तिकंरबासीले भारतीय प्रशासनकै अनुमतिमा भारतीय बाटोको प्रयोग गरेर गाउँ जानुपर्ने बाध्यता छ ।
खेतीपातीको समयमा गाउँ जान नपाएका उनिहरुको हिउँदेबाली खेतमै कुहिएको बताएका छन् । बर्खे बाली लगाउन समेत ढिलाइ भएको छ । छ महिनाका लागि पशुचौपाया, बालबालिका सहित व्याँसीहरु खलंगा झरेपछि सीमा क्षेत्र मानवबस्ती विहिन हुने गरेको छ । स्वदेशको बाटो नहुदा भारतबाट पाचँ दिन हिडेर गाउँ पुग्ने सौँका समुदाय तिकंर सडक निर्माणपछि चार घण्टामै गाउँ पुग्न सक्नेछन् । नेपाल र भारतको स्थानीय प्रशासनबाट बसाइसराईको अनुमति लिएर एकसाथ व्याँसबासी गाउँ फर्किएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवँरले जानकारी दिनुभयो ।
अहिले व्याँस गाउँपालिका–२ दुम्लीङ देखि वडा नम्बर १ को बुदीसम्म घोरेटो बाटो ठाउँठाँउमा भत्कीएको छ । स्वदेशबाट गाउँ जाने बाटो समेत नहुदा भारतीय पक्षको दुव्र्यवहारका साथै विभिन्न समस्या भोग्नुपरेको स्थानीयको गुनासो छ ।

चालु आर्थिक वर्ष भित्रै नेपाल सरकारले तिकंरसम्म भत्कीएको घोरेठो बाटो निर्माणका लागि बजेट विनियोजन गरेर नेपाली सेना मार्फत निर्माण गराउने तयारी थालेको छ । दार्चुला—तिकंर सडक निर्माणको जिम्मा समेत नेपाली सेनालाइ दिने सरकारले निर्णय गरिसकेको छ ।
२०६५ सालदेखि निर्माण भइरहेको तिकंर जोड्ने सडकको हालसम्म ४० किलोमिटर ट्रर्याक मात्रै खुलाइएको छ । पछिल्लो समय कालापानी भन्दा १२ किलोमिटर तल छाङरुमा सशस्त्रको बीओपी स्थापना गरिएको छ । तिकंर र सीतापुलमा नेपाल प्रहरीको उपस्थिति छ । सडक निर्माणमा खटिने सेनाको सुरक्षार्थ सीमा क्षेत्रमा नेपाली सेनाको पोष्ट स्थापना गर्ने र सशस्त्रको बीओपीलाइ गुल्बका रुपमा स्तरोन्नती गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?