दार्चुला । मालिकार्जुन गाउँपालिका—३ मडमा अवस्थित मालिकार्जुन मन्दिर दार्चुलाको प्रमुख धार्मिक तिर्थस्थल तथा राष्ट्रकै सात धाम मध्येको एक धामका रुपमा परिचित छ । ऐतिहासिक बिरगाथा, किम्बदन्ती, परम्परा, पूजापाठ गर्ने संस्कृति, भक्तजनहरुको आस्था र सहभागिताको धरोहरका रुपमा रहेको मालिकार्जुन मन्दिरलाइ नेपाल सरकारको पर्यटन मन्त्रालयले सार्वजनिक गरेको सय गन्तव्य सूची अन्तर्गत नयाँ विकास गरिनुपर्ने गन्तब्यमा समावेस गरिएको छ ।
दार्चुला सदरमुकाम खलंगाबाट झण्डै ५० किलोमिटरको सडक दूरीमा रहेको मालिकार्जुन धार्मिक क्षेत्र सम्म सडक पूर्वाधार विकास भएकोले पनि टाढाटाढाबाट भक्तजनहरु मन्दिरसम्म सजिलै पुग्ने गरेका छन् । ऐतिहासिक, धार्मिक एवं पूरातात्विक महत्वले भरिपूर्ण यस मन्दिरमा हरेक दिन श्रद्धालु भक्तजनहरु आउने र पूजाआजा गर्ने गरेका छन् । मन्दिरमा शिव पूराण, श्रीमद्भागवत गिता पाठ, नवाह, सत्यनारायणको पूजा, सप्ताह, स्थानीय पर्व जात्रा, नवरात्राका साथै पूजनका कार्यहरु समयानुसार हुने गरेका छन् ।
मालिकार्जुन देवताकाे बासस्थान रहेकाे शैल्यशिखर मालिकार्जुन पुजन जात्रामा जादै गरेका भक्तजनहरु
समुद्री सतहबाट झन्डै ३२ सय मिटर उचाइमा रहेको मालिकार्जुनमा वर्षेनी हजारौ भक्तजन एबं दर्शनार्थीहरुले पुजाआजा एबं दृष्याबलोकन गर्ने गरेका छन् । मानबबस्ती नभएको, भगौलिक सौन्दर्यताले भरिपूर्ण, प्राकृतिक श्रोतले सजीएको, बिभिन्न वन्यजन्तु, चराचुरङगी, किटपतगं सहित जैबिक बिबिधताले भरीपूर्ण घना जंगलको बिचमा रहेको श्री शैल्यशिखरमा स्वामी मालिकार्जुन बिराजमान रहेको मालिकार्जुनको बिरगाथामा बर्णन गर्ने गरिन्छ ।
मालिकार्जुनका बुवा सोमनाथ र आमा जलन्तरी माया तथा छोरोहरु लटिनाथ र गलैनाथ भएको किम्बदन्ती छ । मालिकार्जुनका आठओटा रानीहरु रहेको र उनिहरुको लेकम क्षेत्रको बिभिन्न फरकफरक स्थानमा बसोबास रहेको पाइन्छ । पौराणिक कथन र बुढापाखाहरुका अनुसार शोभाश्रीको बासस्थान लेकम ६ उचाकोट, सुनारानी लेकम ५ मैखोली, गोमतीश्री लेकम २ गराडी, धानाश्री लिमा डाडाकोट, गौतमाश्री शंकरपुर गैरा, रुपाश्री चाँडी भगवति, शैलेश्वरी ग्वानि आगर र भागाश्रीको मड मालिकार्जुमा बसोबास रहेको छ ।
शैल्यशिखर धाम-मालिकार्जुनकाे बासस्थान
नेपाल सरकारले २०६५ सालमा राष्ट्रकै साताँै धाम भनेर घोषणा गरेको मालिकार्जुनमा बिषेशगरी भदौमा गौँरा पर्ब र कार्तीक, मंसीर महिनामा बिसाल जात्रा लाग्ने गरेको छ । मालिकार्जुन मन्दिरबाट झन्डै ५ किलोमिटरको उचाइमा रहेको शैल्यशिखर धाममा असार सुक्ल चतुदर्शी र कार्तिक शुक्ल त्रियोदशीका दिन पुजन जात्रा लाग्ने गरेको छ ।
हिन्दु धर्मालम्बीहरुको आस्थाको धरोहर शिखर धाममा महिलाको हकमा बिवाहित र पुरुषको हकमा ब्रतबन्ध गरेपछि १५ दिन पहिलेदेखी चोखोवर्त बसेकाले मात्रै दर्शन गर्न पाउँने परम्परा छ । महाकाली लोकमार्गको चैतलीचोरबाट मालिकार्जुन मन्दिर मड पुग्न पैदल हिडेर २५ मिनेट समय लाग्ने र मडबाट शिखर पुग्न ३ घन्टा समय लाग्ने गरेको छ । ३५ रोपनी क्षेत्रफलमा समेटिएको मालिकार्जुन मन्दिरको झण्डै १५ रोपनी वन क्षेत्र पर्दछ ।
मालिकार्जुन मन्दिर
धार्मिक, ऐतिहासिक पृष्ठभुमी
शिबपुराण लगायत बिभिन्न पौराणिक धार्मिक ग्रन्थहरुमा देवाधिदेव महादेवका १२ ओटा ज्वोर्तिलिङ्गमध्ये दोस्रो ज्वोर्तिलिङ्ग मानिने मालिकार्जुनको ऐतिहासिक पृष्ठभुमी रोचक छ । दक्षिण भारतको आन्ध्रप्रदेश मूलस्थान रहेका मालिकार्जुन स्वामी बिभिन्न ब्याक्तीहरुको सहयोगमा शैल्यशिखर धाममा बसाइ सरेर आएको ऐतिहासिक किम्बदन्तीहरुमा उल्लेख छ । भारतबाट बिभिन्न ठाउँहुदै आएका मालिकार्जुन स्वामीको शैल्यशिखरमा बासस्थान रहेको कुरा स्थानीय देबस्तुतिहरु झोडो, फाग, गौरामा गाइने अठवाली आदिमा समेत विस्तृत बर्णन गरीएको छ ।
मडस्थीत मालिकार्जुन मन्दिरकाे गजुर
देवस्तुतिमा बर्णन भएअनुसार ११ औँ शताब्दीतिर भारतमा मुगल सम्राटहरुको जबरजस्ती धर्मपरिवर्तन गराउँने हिंसात्मक चपेटाबाट बच्न सनातन हिन्दु धर्मालम्बीहरु धर्म रक्षाकालागि दक्षिण भारतबाट काशी, बनारस हुदै अल्मोडा कत्युरबाट अभयराज पाण्डे, निमनाथ योगी, भिम राज भट्ट, धाराधिरा पहलवान र सुरदास औजी दार्चुलाको लेकम गाउँपालिका ५ रिठाचौपाताको जाइझुलमा बास बसेको उल्लेख गरिएको छ । भारतबाट नेपाल आएको उक्त टोलीले आफ्नो नित्य पुजा र धर्मरक्षाकालागि झोलामा मालिकार्जुनको प्रतिमुर्तिस्वरुप शिव लिङ्ग ल्याएको र सो शिवलिङ्ग बिहान बेलुकी सधै नित्य पुजा गरेर मात्रै खाना खाने गरेको इतिहास छ ।
उनिहरुको झोलाबाट आफुभन्दा बढी प्यारो शिवलिङ्ग एकदिन आफै हराएको भनाइ छ । निकै बिस्वास र प्यार गरेर राखेको शिबलिङ्ग हराउँदा निरास बनेका ति ब्याक्तीहरुले १५ दिनसम्म निराहर शिबलिङ्गकै एकाग्र ध्यान गर्दा अभयराज पाण्डेको सपनामा मालिकार्जुन देखिएको किम्बदन्तीमा उल्लेख छ । तत्कालिन समयमा ति व्याक्तिहरु बसेको रिठाचौपाता भन्दा माथी दोबाटोमा पशुबली गर्ने सर्बाहारी प्रबृतिको तत्कालिन डिङे राजाको कोट रहेको बुढापाखाहरुले सुनाउँछन ।
पाण्डेले देखेको सपनामा मालिकार्जुनले उक्त डिङ्या राजाले दिनहु पशु बलि गर्दा मनमा अशान्ती भएर एकान्त शैल्यशिखरमा आएर बसेको कुरा जानकारी गराउनुभएको थियो । साथै शिखरसम्म पुग्न आफुले एउटा दाँया खुट्टामा निङगालोको सुरा भएको बाघ पठाउँने र उक्त बाघको खुट्टाबाट त्यो सुरा निकालेर नडराइ बाघकै पछिपछि आउँदा बाघले आफ्नो बसाइ रहेको ठाउँसम्म पुर्याउँने बचन दिनुभएको थियो । धर्ममा औधी बिस्वास गर्ने र आफ्ना प्राणभन्दा प्यारो मानेर ल्याएको शिबलिङ्गको बचन सुनेर बिहानै बाघ आउँने आसामा नुहाइधुवाइ गर्दा मालिकार्जुनले बचन दिएजस्तै बाघ रिठाचौपाता आएको र बाघकै पछिपछि जादा शिखरमा भगवान मालिकार्जुनको दर्शन पाइएको बुढापाखाहरु बताउछन् ।
१३ औँ सताब्दीतिर मालिकार्जुनले माफ्नो दिब्यसक्ती पठाएर ५ किलोमिटर तल मडमा मालिकार्जुन मन्दिरको स्थापना गरिएको इतिहास छ । अहिले उक्त मन्दिरमा गौरा, जात्रा, पुजाआजा, नबरात्री, जागरण लगायतका धार्मिक गतिबिधिहरु हुदै आएका छन । मडमा मालिकार्जुनको स्थापना भएपछि पुरै गाउँपालिकाको नाम नै मालिकार्जुन देवताकै नामबाट नामाकरण गरीएको छ । निकै आकर्षक शैलिमा निमार्ण गरिएको मन्दिरमा ११ मिटरलामो गजुर (देवाल) छ । भक्तजनहरुकालागि आवास भवन, चारैतिर ध्वजाहरुले सजाएको मन्दिरमा आकर्षक प्रबेशद्धार निमार्ण गरीएको छ ।
नेपाल र भारतका भक्तजन दर्शनार्थीहरुको आस्थाको धरोहर मालिकार्जुनमा बिभिन्न आध्यात्मिक गतिबिधिमा संलग्न हुन र आत्मशान्तीकोलागि मानिसहरु चोखोभोको भएर धाउँने गरेका छन । मालिकार्जुन जात्रा पुजन गर्न १५ दिन पहिलेदेखी नै शाकाहारी भोजनमात्रै ग्रहण गर्ने, एक हप्तापहिलेदेखी नुवाइधुवाइ गरेर एक छाक सुद्ध खाना खाने, ब्रत बस्ने लगायतका बिधिहरु गर्नुपर्ने नियम छ । हजारौँ मानिसहरुको सहभागिता रहने जात्रामा सयाँै दामाहा लगायतका बाजागाजाहरु ल्याएर पुजाआजा, रमाइलो गर्ने गरीन्छ । सुदूरपश्चिमकै प्रमुख चाडपर्व मानिने गौरापर्व र जात्रा माजिकार्जुनमा लाग्ने गरेको छ । गौँरा र जात्रा हेर्न शुदूरपश्चिमका बिभिन्न जिल्लाका साथै भारतको उत्तराखन्ड प्रदेश लगायत क्षेत्रबाट हजारौँ मानिसहरु मड मन्दिर आउँने गरेका छन ।
मालिकार्जुन देवताका आमा जलन्तरीको बासस्थान रहेको भन्डारीघरमा मालिकार्जुन देबताका खरखजाना, पुजन सामाग्री, भगवानको डोली, बिभिन्न बाजागाजाहरु, छात लगायतका सामाग्रीहरु बजाउँदै, सजाउँदै पर्वको दिनमा मन्दिरमा ल्याइने गरिन्छ । भाराणिघरदेखी मन्दिरसम्म भोकर, दामाहा लगायतका पञ्चेबाजाँ बजाउँदै हर्ष बढाइ गरेर मौतामति, बिनायक, पणिमजेली लगायतका स्थान भएर देबस्थल पुगिन्छ । बाटोको कष्टप्रदयात्रा मन्दिर परिसरमा पुग्दा आफै बिर्शेर स्वर्गपुगेको अनुभुति हुनेगरेको स्थानीय बताउछन् ।
मन्दिरका पुजारीले गौदान गरेर पबित्रजलद्धारा भगवान स्थान गर्दै बिशेष भोग लगाइ बिभिन्न बाजाँहरु, घन्ट, बिकुल, भोकर बजाउँदै पुजाआजा गर्ने गरीन्छ । श्रद्धालुभक्तजनहरुलाइ मन्दिरका बिभिन्न पदाधिकारीहरुले दर्शनपुजा गराउँदै आर्शिवाद दिने गर्दछन । यसरी मन्दिरमा पुगेर दिनभरी पुजा पद्धति गर्दा मनले चिताएको बरदान, शुभ फल प्राप्त हुने जनबिस्वास रहिआएको छ ।
धार्मिक, ऐतिहासिक धरोहरको रुपमा परिचित राष्ट्रकै सातौँ धाम मालिकार्जुनको प्रचारप्रसार र सम्र्बद्धनमा नेपाल सरकार र विभिन्न संघ, संस्थाहरुले कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
दार्चुलाकै धार्मिक पर्यटनको उज्यालो भबिस्य बोकेको मालिकार्जुनको प्रचारप्रसार, संरक्षण, सम्बद्धन गर्ने हो भने आध्यात्मिक मनहरु, आत्मशान्तीकोलागि मन्दिर धाउँनेहरुको उचित गन्तब्य मालिकार्जुन धाम बन्नेमा कुनै दुइमत छैन् । तर मन्दिरको उचित व्यवस्थापन र इमानदारीताको अझै खाचो रहेको जानकारहरु बताउछन् ।
जय मालिकार्जुन !
याे पनि पढ्नुहाेस : अलेक्स र फ्रान्सिस्काले मालिकार्जुनमा बिताइरहेका दिनहरू
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।