दार्चुला । भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकमा नेपालको झण्डा गाड्न हिडेका दार्चलाको लेकम गाउँपालिका—१ का ७ जना र नाैगाड गाउँपालिकाका एक युवा बिच बाटोबाटै फर्किएका छन् । व्याँस गाउँपालिका—२ दुम्लीङ पुग्दा स्थानीय सौँका समुदायले अवरोध गरेपछि उनिहरुकै सुरक्षाको लागि प्रहरीले नियन्त्रण लिई खलंगा ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायक उपरीक्षक (डिएसपी) पदमबहादुर बिष्टले जानकारी दिनुभयो ।
लिपुलेकमा नेपाली झण्डा फहराउन हिँडेका उनीहरुलाई व्याँसबासीले अवरोध गर्ने बुझिएको र देशभरी लकडाउनको अवस्थामा कोरोनाको जोखिम समेत हुन सक्ने भएकोले अाठ जना युवाहरुलाई दुम्लीङबाट पक्राउ गरिएको डिएसपी बिष्टले बताउनुभयो ।
पक्राउ पर्नेहरुमा लेकम गाउँपालिका १ सर्मोलीका जनक साउँद, अनिल साउँद, दिपक बिष्ट, सुरेन्द्र बिष्ट, गणेश बिष्ट, जीवन बिष्ट, मदन बिष्ट र नाैगाड गाउँपालिकाका बिक्रम ठगुन्ना रहेका छन् । पक्राउ परेका अाठै जनालाई अहिले सदरमुकाम खलंगा ल्याउन लागिएको डिएसपी बिष्टले बताउनुभयो ।

विभिन्न गाउँ हुदै सीमा क्षेत्रमा जान लागेकाले कोरोनाको जोखिम हुन सक्ने स्थानीयले गुनासो गरेका थिए । साथै व्याँसी सौँका समुदायले कुञ्चा सर्न लागेकोले आफुहरुलाइ समस्या हुने अवस्था आए जे पनि हुनसक्ने आसयका कुराहरु बाहिर आएपछि उनिहरुकै जीवन रक्षाका लागि प्रहरीले पक्राउ गरी खलंगा ल्याउन लागेको जनाइएको छ । बिहिबार मात्रै भारतीय पक्षकै अनुमतिमा भारतको बाटो प्रयोग गरेर सौँका समुदाय गाउँ फर्किरहेका छन् ।
सीमा विवादका कारण अहिले दुबै देशबिच असहमति बढेको अवस्था छ । बुधबार नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेसंगै वर्तमान सरकारको नेपाली जनताले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन । भने भारतले असहमति जनाएको छ ।
लिम्पियाधुरासम्मको भूमि नेपालकै भएपनि २०३२ सालयता प्रयोग भइरहेको नेपालको नक्सामा पश्चिम लिम्पियाधुरा समेटिएको थिएन । जबकि दुई सय वर्षभन्दा पुरानो सुगौली सन्धिअनुसार लिम्पियाधुरा मुहान भएको महाकाली पूर्वका सबै भूभाग नेपालको हो ।
विगतमा नेपालको नक्सामा छुटाइएका गुन्जी, नाबी, कुटीलगायतका क्षेत्र समेटेर लिम्पियाधुरा मुहान भएको काली नदी सीमा नदी हुनेगरी नक्सा जारी गरिएको मन्त्री अर्यालले जानकारी दिनुभयो ।
हामीले पढ्दै आएको क्षेत्रफल एक लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर भएपनि अब तीन सय भन्दा बढी बर्गकिलोमिटर भूभाग नेपालको थपिने सीमा बिदहरुले बताएका छन् ।
कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा मात्रै तीन सय ९५ वर्गकिलोमिटर भूभाग अतिक्रमणमा परेको छ । अतिक्रमितमध्ये ६० वर्गकिलोमिटर भूभाग नेपालको यसअघिको नक्सामै समेटिएको थियो । नेपालको पुरानो नक्सामा भएको कालापानी, लिपुलेकलगायतका क्षेत्र भारतले अतिक्रमण गरेको थियो । पुरानो नक्साअनुसार पनि कैलाश—मानसरोवर जाने सडकको १९ किलोमिटर नेपालमै पर्छ।
बुधबार सार्वजनिक राजनीतिक नक्सामा करिब ३ सय ३५ वर्गकिलोमिटर भूभाग समेटिएको देखिन्छ । त्यसैको आधारमा कतिपयले एक लाख ४७ हजार ५ सय १६ वर्गकिलोमिटर क्षेत्रफल हुने अनुमान गरेपनि आधिकारीक रुपमा सरकारले सार्वजनिक गरिसकेको छैन ।

यसैबिच भारतले नेपालको नयाँ राजनीतिक नक्सा स्वीकार्य नहुने बताएको छ । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेको हो ।
भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको दाबी गरेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?