दार्चुला । दार्चुलाको घाँटीबगरमा नेपाली सेनाको सेक्सन प्लस फौज तैनाथ भएको छ । महाकाली करिडोर अन्तरगत दार्चुला तिकंर सडकको उत्तरतर्फको ८७ किलोमिटर सडक खण्ड निर्माण गर्ने योजनाअनुसार सेना त्यहाँ पुगेको हो ।
वैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले उक्त सडक खण्ड निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरेअनुसार दार्चुलाको व्यास गाउँपालिका—२ को घाँटीबगरदेखि तिकंरसम्मको सडक र घोडेटो बाटो समेत सेनाले बनाउने भएको छ । त्यहाँ २ मिटर चौडाइको ४ सय ५० मिटर घोडेटो निर्माण गर्न लागिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो ।
बाटो बनाउने दुरी छोटो भए पनि जटिल भूगोल भएकाले सेनाले काम गर्न लागेको हो । निर्माण कार्यका लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीको सामान लिएर सेनाको हेलिकोप्टर घाँटीबगर पुगेको उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले ट्युटमार्फत जानकारी दिनुभयो ।
बिहीबार बिहान ११ बजे घाँटीबगर इलाका नजिकको थी भन्ने स्थानमा नेपाली सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । दशकौंदेखि भारतसित जोडिएको पश्चिमी क्षेत्रको समस्या एक पछि अर्को गर्दै समाधान हुदै गएको रक्षामन्त्री पोखरेलले बताउनुभयो ।
सेनाका अनुसार बाटो निर्माणका लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीका निम्ति आवश्यक फौज, उपकरण एवं अन्य सामग्रीसहितको टोली शुक्रबार तैनाथ गर्ने योजना छ ।
दार्चुला सदरमुकामबाट व्याँस गाउँपालिका वडा नम्बर १ पुग्ने बाटो नहुदा बिहिबार मात्रै व्याँसीसौका समुदाय भारतीय बाटोको प्रयोग गरेर गाउँ फर्किएका छन् । व्याँस गाउँपालिकाको छाङरु र टिंकर गाउँका करिब १७५ घरपरिवारको झण्डै १२०० जनालाई खलंगा आवतजावत गर्न स्वदेशको बाटो नहुदा भारतीय बाटोको प्रयोग गर्नुपर्ने बाध्यता छ ।
व्याँस गाउँपालिका वडा नम्बर २ को मौराभिटादेखि विभिन्न ठाउँमा ठूलो चट्टान र घाँटीबगरमा पहिरो समेत गएकोले आवतजावत गर्न समस्या भएपछि नेपाल सरकारले बजेट बिनियोजन गरेर तत्काल घोरेटो बाटो र सडक निर्माण गर्ने निर्णय गरेको छ । सडक खण्ड सञ्चालन भएपछि मात्रै स्थानीयहरू नेपालकै भूमी प्रयोग गरी सहजै सदरमुकाम आवतजावत गर्न पाउनेछन् । अहिलेसम्म बाटो बनाउने नाममा नेताहरुले आफ्नो पेट भर्ने गरेकोले बाटो नबन्दासम्म आफुहरुको समस्या दिर्घकालिनरुपमा समाधान भइहाल्नेमा पुर्ण विस्वस्त नभएको स्थानीयले बताएका छन् । तर सेनाले सडक र बाटो बनाउन सीमामा आएको खबर पाएर खुसी लागेको व्याँसबासीको भनाइ छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?