
दार्चुला । व्याँस गाउँपालिकाको घाँटीबगर क्षेत्रमा नेपाली सेनाले सडक निर्माण सुरु गरेको छ । यो सडक निर्माणपछि तिकंर र लिपुलेक पुग्न भारतीय भूमिको प्रयोग गर्नुपर्ने अहिलेसम्मको अवस्थाको अन्त्य हुनेछ ।
असारसम्ममा उक्त क्षेत्रमा गोरेटो बाटो निर्माण भइसक्ने नेपाली सेनाले जनाएको छ । सेनाको प्राविधिक टोली घाँटीबगर क्षेत्रको थी भन्ने स्थानमा तैनाथ भइसकेको छ ।
चीन र भारतको सीमा नाकासमेत पर्ने दार्चुला जिल्लाको व्यास गाउँपालिकास्थित घाँटीबगर ईलाकामा दुई मिटर चौडाइको ४५० मिटर गोरेटो र घोडेटो बाटो निर्माण गरिने जानकारी सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले दिनुुभयो ।
व्यास गाउँपालिकामा पर्ने छाङरु र टिङ्करका करिब १८२ घरपरिवारको करिब १२०० जना स्थानीयलाई जिल्ला सदरमुकाम खलङ्गा आवतजावत गर्न ठूलो समस्या छ । व्यास गाउँपालिकामा पर्ने मौरीभिटामा ठूूलो चट्टान र घाँटीबगर भन्ने स्थानमा पहिरोसमेत गएकाले आवतजावत गर्न समस्या हुने गरेको थियो ।
घाँटीबगर र मौरी भीर ईलाकामा पर्ने ४५० मिटर सडक खण्ड अविलम्ब सुचारु गर्न दार्चुला जिल्ला सुरक्षा समितिबाट निर्णय भएबमोजिम सडक खण्ड निर्माण गर्न सेना खटिएको हो ।
२०७७ वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले महाकाली करिडोर (दार्चुला टिङ्कर सड्क योजना) अन्तर्गत उत्तरतर्फ रहेको ८७ किलोमिटर सडक खण्ड नेपाली सेनामार्फत निर्माण गराउने निर्णय गरेको थियो । अहिलेसम्म व्याँस गाउँपालिका—१ छाङरु र तिकंरबासीको गाउँ जाने बाटो नहुदा भारतीय प्रशासनको अनुमतिमा भारतकै बाटो भएर गाउँ फर्किनुपर्ने बाध्यता थियो । बिहिबार मात्रै व्याँसबासी भारतको धारचुलाहुदै गाउँ गएका छन् ।
छारुङमा सशस्त्रको भवन निर्माण प्रक्रिया शुरु
दार्चुलाको छाङरुमा बोर्डर आउट पोष्ट (बीओपी) को भवन निर्माणका लागि सशस्त्र प्रहरीले प्रक्रिया थालेको छ । सरकारले भवन निर्माणका लागि ११ करोड रुपैयाँ बजेट विनियोजना गरिदिएपछि सशस्त्र प्रहरी बलले बिहीबार बोलपत्र आह्वान गरेर निर्माण प्रक्रिया अघि बढाउन थालिएको हो ।
अहिले प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली रहेको छाङरुमा भवन निर्माणपछि १ सय ६० जनाको फौज रहने गुल्म स्थापना गर्ने सरकारको तयारी छ । भवन निर्माणका लागि गत वर्ष नै सशस्त्रले १५ रोपनी जग्गा प्राप्त गरिसकेको छ ।
सडक नहुदा यो क्षेत्रसम्म पुग्नका लागि समस्या छ । नेपाली सेनाको फौज सडकको ट्रर्याक खोल्नका लागी घाँटीबगर क्षेत्रमा बिहीबार पुगेको छ । सेनाले तिकंर जोड्ने घोरेटो बाटो र सडकको निर्माण गर्ने तयारी थालेपछि स्थानीय खुसी भएका छन् ।
व्याँसका स्थानीय समेत रहेका प्रदेशसभा सदस्य गेल्बुसिह बोहराले व्याँस गाउँपालिका—१ छाङरु र तिकंरबासीको वर्षौदेखिको सडक सपना पुरा गर्ने उद्धेश्यले सेना मार्फत सडक निर्माणको काम थालेकोमा नेपाल सरकारलाई धन्यबाद दिनुभएको छ । अझै त्यस क्षेत्रमा खाद्यान्नको सहज आपुर्ती, सीमा प्रशासन, भन्सार, भेटनरी कार्यालयको स्थापना गर्नु जरुरी रहेकोले सरकारको ध्यानआकर्षण गराउनुभएको छ । छाङरुमा तत्काल सशस्त्रको गुल्म राख्नुका साथै कौवा र तिकंर क्षेत्रमा सशस्त्रको बिओपी र सेनाको फौज राख्न प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्नाले सरकारसंग माग गर्नुभएको छ । सीमा क्षेत्रमा अझै सुरक्षा उपस्थिति प्रयाप्त नभएकोले जनशक्ति बढाउन प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले माग गर्नुभयो ।
छांगरु र तिंकरको लागि खाद्यान्न ढुवानी गर्न सांसद ठगुन्नाको माग
दार्चुलाबाट प्रतिनिधि सभा सदस्य गणेशसिह ठगुन्नाले व्यासको छांगरु र तिंकरका स्थानीयको लागि हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्न माग गर्नुभएको छ । नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका ठगुन्नाले शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई भेटि व्यास गाउँपालिका १ छांगरु र तिंकरका स्थानीयको लागि खाद्यान्न ढुवानी गर्न माग गर्नुभएको हो ।
नेपालतिर घोरेटोबाटो नभएको अवस्थामा तत्कालका लागि खाद्यान्न समस्या समाधान गर्न हेलिकप्टर व्यवस्थापन गर्न उहाँले माग गर्नुभएको छ । व्याँसको छाङरुमा ११५ घरधुरी तथा तिंकरमा ६५ घरधुरीको बसोबास छ । यो वर्ष झण्डै ७५ प्रतिशत व्यास बासी कुञ्चा सरेर गएका छन् । यहाँका स्थानीयले यो पटक खेतीसमेत समयमै लगाउन पाएका छैनन् । यस्तो अवस्थामा खाद्यान्न संकट हुन नदिन हेलिकप्टरमार्फत ढुवानीको व्यवस्था गर्न भनिएको सासंद ठगुन्नाले बताउनुभयो ।
यहाँका स्थानीय विगतमा चीनको ताक्लाकोट र भारतीय बजारबाट खाद्यान्न खाने गरेका थिए । यो पटक बन्दाबन्दीका कारण सबै क्षेत्रका सीमा नाका बन्द भएको कारण हेलिकप्टरमार्फत खाद्यान्न ढुवानीको लागि सांसद ठगुन्नाले आग्रह गर्नुभएको हो । जवाफमा मन्त्री भट्टले छिटै हेलिकोप्टरमार्फत व्याँसमा खाद्यान्न ढुवानी गर्ने आश्वासन दिएको सासंद ठगुन्नाका स्वकिय सचिब दौलतसिह ठगुन्नाले बताउनुभयो ।
दार्चुलाबाट १४ जिल्लाका ३ सय १९ नेपालीको उद्धार
भारतमा मजदुरी गर्न गइ लकडाउनका कारण समस्यामा परेका विभिन्न १४ जिल्लाका ३ सय १९ नेपालीको दार्चुला सदरमुकाम खलंगास्थित पुलघाटबाट उद्धार गरिएको छ । लकडाउनका कारण भारतमा अलपत्र परेका नेपाली नागरिकलाई दार्चुला र भारतको पिथौरागढ जिल्लाको समन्वयमा उद्धार गरिएको हो ।
भारतमा लकडाउन खुकुलो भएपछि समस्यामा परेका नेपाली नागरिक सीमामा आएर रोकिएका थिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङक अनुसार दार्चुलाका १ सय २२ जना, बैतडीका ३९ जना, बझाङका १४ जना, कैलालीका ३ जना, कञ्चनपुरका ६ जना, जुम्लाका २१ जना, अछामका ५ जना, सुर्खेतका ५५ जना, दैलेकका २८ जना, डोटीका ७ जना, रुकुमका ३ जना, बाकेका ९ जना, रामेछापक ६ जना र हुम्लाका १ जनाको उद्धार गरिएको छ ।
भारतका विभिन्न सहरबाट हिडेर सीमामा पुगेका नेपाली मजदुरहरु महाकाली नदी तरेर दार्चुला भित्रिने क्रम नरोकिएपछि गाउँघरमा कोरोनाको त्रास बढ्दै गएको छ । भारतबाट अबैध रुपमा महाकाली तरेर दैनिक नेपालीहरु दार्चुला भित्रिरहेका छन् । जिल्लामा लकडाउन खुकुलो भएकोले कोरोना संक्रमणको उच्च जोखिम रहेको छ । सीमाबाट नेपालीको उद्धार गर्ने बेला समेत सामाजिक दुरी कायम नगरिएको भन्दै स्थानीयले गुनासो गरेका छन् । छिमेकी जिल्ला बैतडीमा समेत एक जनामा कोरोना संक्रमणको पुष्टी भइसकेको अवस्थामा उच्च सुरक्षा सतर्कता अपनाउनु आवश्यक रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
गाउँघरमा कोरोनाको त्रास
मार्मा गाउँपालिकामा लकडाउनको पालना नभएको भन्दै स्थानीयले गुनासो गरेका छन् । मार्मा गाउँपालिकाको केन्द्र लटिनाथ बजारमा लकडाउनको अवज्ञा गर्दै दिनभरी होटल पहलहरु खुला हुने, यातायातका साधनहरु सञ्चालन गर्ने र सामाजिक दुरीको ख्याल नगरी जगघट हुने गरेको स्थानीय उपेन्द्रसिह बिष्टले बताउनुभयो । लटिनाथ मात्र हैन गोकुलेवर लगायत दार्चुलाका प्रमुख बजार क्षेत्रहरुमा समेत लकडाउनको पुर्ण पालना गरिएको छैन् । स्थानीय प्रहरी, प्रशासनको उदासिनता र स्थानीयको लापरबाहीका कारण लकडाउन फितलो भएर कोरोनाको जोखिम सहरबजार भन्दा गाउँघरतिर बढी हुन थालेको स्थानीयको गुनासो छ । मार्मा सहित जिल्लाका अधिकासं स्थानीय तहमा भारतबाट आएकाहरु क्वारेन्टाइनमा नबसेरै घर फर्किदा समस्या भएको छ ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।