दार्चुला । दार्चुलामा भारतका विभिन्न सहरबाट भित्रिएका १७ जना पुरुषहरुको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । आइतबार अपिहिमाल गाउँपालिका—१ का ३० वर्षीय पुरुष, वडा नम्बर २ का १५ वर्षीय युवक र लेकम गाउँपालिकाका २५ वर्षीय पुरुषको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
भारतका विभिन्न सहरका साथै बाहिरी जिल्लाहरुबाट भित्रिएर क्वारेन्टाइनमा बसेकाहरुको आरडिटी परीक्षण भइरहेको छ । भारतबाट कैलालीको गौरीफन्टा नाका हुदैँ दार्चुला भित्रिएका अपिहिमाल गाउँपालिका र लेकम गाउँपालिकाका तीन जना पुरुषमा आरडिटी पोजेटिभ देखिएपछि आइसोलेसन कक्षमा सार्ने तयारी गरिएको छ ।
यसअघि शनिबार शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरस्थित क्वारेन्टाइनमा बसेका १० जना र मालिकार्जुन गाउँपालिका—४ का दुई जना पुरुषमा आरडिटी रिपोर्ट पोजेटिम देखिएको थियो । शुक्रबार गोकुलेश्वरमा १ जना र लेकम—३ लालीमा १ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको थियो । हालसम्म दार्चुलाका ४ वटा स्थानीय तहमा १ सय १९ जनाको आरडिटी परीक्षण गरिएकोमा १७ जनाको एन्टिबडी पोजेटिभ देखिएको छ ।
आरडिटी रिपाेर्ट पाेजेटिभ आएका सबैकाे पिसिअार विधिबाट परीक्षण गरिने स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयाे ।
जिल्ला अस्पताल दार्चुलामा उपचाररत दार्चुलाका एकमात्र कोरोना संक्रमित पुरुषको दोस्रो रिपोर्ट नेगेटिभ आइसकेको र तेस्रो पटक पिसिआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना धनगढी पठाइएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।