दार्चुलाको छाङरुमा खेती लहलह

दार्चुला । हिउँदका ६ महिना सुनसान हुने व्यास गाउँपालिका–१ छाङरु र टिंकर गाउँमा यतिबेला चहलपहल छ । पोहोर परार यतिबेला खेतीपाती सकेर व्यापार र रोजगारीका लागि भारत र चीनको नजिकका बजारमा जाने यहाँका सौका समुदायलाई योपल्ट लकडाउनले छेक्यो । सबै घरघरै भएकाले घर र खेतको काम सकेर टोलमा भेला भई गफिइरहेका भेटिन्छन् ।

व्यासी सौकाहरूको बसाइ रहेको छाङरु र टिंकरका गाउँले लकडाउन नहुँदो हो भने घरमा वृद्धवृद्धा र बालबालिका छाडेर विभिन्न ठाउँमा रोजगारीमा व्यस्त हुन्थे । ५५ वर्षीया इन्द्रा बोहरा गलैंचा बुनिरहेकी छन् । साँझबिहान घरधन्दा सकेपछिको उनको समय गलैंचा बुनेर कट्छ । यसअघिका वर्ष परिवारका गरिखान सक्नेहरू बाहिर कमाउन जाँदा घरखेतको काम पूरै आफ्नै जिम्मा हुन्थ्यो ।यस पटक सबै जना घरमै रहेकाले गलैंचा बुन्न समय मिलेको उनले बताइन् ।

‘गलैंचा बेच्न बजार छैन । यो त पुर्ख्यौली सीप जोगाउन, अरूलाई सिकाउन पनि सकिनसकी बुनिरहेकी हुँ,’ उनले भनिन्, ‘बुन्न चाहिने सामान ताक्लाकोटबाट ल्याउनुपर्छ । लकडाउनले यो वर्ष ल्याउन पाएकी छैन । पोहोरको बचेको धागो काम लागेको छ ।

’यतिबेला छाङरुमा फापर, गहुँ, उल्ती, उवा र जौलगायतको खेती लहलह छ । केही ठाउँमा लसुन लगाएकाहरू अहिले उखेलिरहेका छन् । स्याउका बोटका चिचिला देखिन्छन् । ढिला गरी बसाइँ आउँदा खेती लगाउन पनि अबेर भयो । यसकारण बोट राम्रो भए पनि फल्ने आस कमै गरेका छन् । बाली सप्रिने वर्ष साउन महिनामा टुसाउँछन् । स्थानीय उद्धयसिंह बोहराले भने, ‘यो वर्ष भदौमा बाली टुसाउला जस्तो छ ।

वैशाख आधासम्म खेती लगाइसक्नुपर्नेमा यो वर्ष एक महिना ढिला गाउँमा आइयो । खेती गर्न ढिला भयो ।’यो वर्ष जेठको दोस्रो साता व्यास क्षेत्रमा उक्लेका व्यासीहरू लेकाली भेगको चिसोमा आ–आफ्नै काममा व्यस्त देखिन्छन् । आफ्नै थातथलो व्यास क्षेत्रमा रहेका व्यासी सौका समुदाय गाउँमा रहँदा खेतीपातीबाहेकको काम अरू नभएको बताउँछन् ।

महिलाहरू आफ्नै घरमा गलैंचा बुनिरहेका छन् । कोही मेलापातमा छन् ।दुई देशको सीमामा एवं हिमाली काखमा अवस्थित यो गाउँमा चिसो बढ्दो छ । न्यानोका लागि गाउँले दाउरा पनि संकलन गरिरहेका छन् । दिनको समयमा खेतीपातीका लागि अधिकांश घर बाहिर निस्कन्छन् । साँझ पर्नासाथ फर्किहाल्छन् । व्यासीहरू गर्मीयाममा यहाँ हुन्छन् ।

जाडोमा जिल्ला सरमुकाम खलंगा झर्छन् । यस क्रममा उनीहरू बस्तुभाउ पनि सार्छन् । यसरी बसाइँ सर्नुलाई स्थानीय भाषामा ‘कुञ्चा सार्नु’ भनिन्छ ।अघिल्ला वर्ष यो बेला छाङरु गाउँमा साना बालबालिका र बूढापाखाहरू मात्र बस्थे । बल भएकाहरू सबै व्यापार र अन्य कामको सिलसिलामा चीनको ताक्लाकोट बजार जाने गरेको स्थानीय ६५ वर्षीय उद्धयसिंहले बताए ।

‘बिहान उठ्नासाथ पानी पँधेरा सकेर खेतमा घाँस उखेल्न पुग्नुपर्छ । दिउँसो खाना खाएपछि फुर्सदको समयमा गफगाफमै दिन बित्छ,’ उनले भने, ‘यो वर्ष घरखेतको काम गर्ने छोराबुहारी घरमै छन् । पोहोरपरार घर बूढापाकाहरूको जिम्मा हुन्थ्यो, छोराबुहारी कमाउन ताक्लाकोट बजार व्यापारका लागि हिँड्थे ।’गाउँमा ६ महिनाको बसाइ हुन्छ । उब्जनी थोरै हुने हुँदा यहाँका स्थानीय बेंसीबाट कुञ्चा आउने बेला खाद्यान्न बोकेर ल्याउने गरेका थिए । ‘यो वर्ष लकडाउनले बेंसीबाट ढिला गरी यहाँ पुग्यौं । बजार बन्दले रासन ल्याउन सकेनौं ।

ढिला गरी भए पनि सरकारले यो वर्ष गाउँमा चामल पठाएको छ,’ स्थानीय जगतसिंह ऐतवालले भने, ‘तर चामल पुर्‍याएर पुग्दैन । दुर्गम गाउँमा बजार छैन ।’भारतको बजार जान पनि यस पटक लकडाउनले छेकेको उनले बताए । ‘चामल र पानी मात्र पकाएर खान सकिँदैन । यो सँगै दाल, तेल, नुन, पिठो अरू थोक पनि व्यवस्था सरकारले व्यवस्था गरिदिनुपर्छ,’ उनले भने । गाउँबाट जिल्ला सदरमुकामबाट आउजाउ गर्न करिब १० दिन लाग्ने भए पनि स्वदेशबाट जाने बाटो छैन ।

उनले भने, ‘यस्तो अवस्थामा खानपानको वस्तु ज्यादै समस्या भएको छ ।’ यसअघि यहाँका अधिकांश दैनिक जीवनयापनका वस्तु ल्याउन भारतको सीमावर्ती बजार गर्ब्याङ जाने गरेको उनले बताए ।यहाँको भौगोलिक पर्यावरणले नै यस क्षेत्रको एक विशिष्ट सौका संस्कृतिको सिर्जना गरेको शिक्षक प्रेमसिंह बोहराले बताए । ‘हाम्रो समुदायको परम्परागत र मुख्य पेसा व्यापार नै हो,’ उनले भने, ‘अहिले विकसित समाजमा अन्य काम पनि गर्दै आएका छौं ।’

भारतीय क्षेत्रसँग सुरुदेखि साइनो गासिएकाले पढ्ने वातावरण पाउँदा यो समुदायबाट कतिपय नेपाल सरकारका राम्रो ओहदामा पनि पुगेको उनले सगर्व सुनाए । ‘नयाँ पुस्ता पढेलेखेर सरकारी सेवा र अरू जागिरका लागि टाढाटाढा गइरहेका छन्, पलायन भइरहेका छन्,’ उनले भने ।समुद्र सतहबाट ३२०० मिटर उचाइमा रहेको छाङरु गाउँमा व्यासी सौका समुदायको मात्र बसोबास छ ।

उच्च हिमाली क्षेत्र र राज्यकै सामरिक महत्त्व बोकेको क्षेत्रका मानिसहरू पराम्परादेखि नै हिमालय वारपार व्यापार गर्दै आएका छन् । छाङरु गाउँसँगै ३७०० मिटर उचाइमा टिंकर गाउँ पनि छ । यो समुदायको राप्ला र सितोला गाउँमा पनि बसोबास छ । अन्यभन्दा छाङरु र टिंकर गाउँका बासिन्दा सीमापार व्यापार बढी गर्छन् ।

कान्तिपुरबाट मनाेज बडूकाे समाचार

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?