
कालापानी नेपालकै हो, कालापानी काठमाण्डौँलाई किन दुख्दैन (कालापानी नेपालको मुटु हो) भनेर सञ्चारमाध्यम र सदनमै आवाज उठाउँने नेपालका एक सपुत, दार्चुलाको समाजिक, राजनीतिक विकासका धरोहर स्वर्गिय नेता प्रेम सिह धामीको शनिबार (आज) तेइसौँ स्मृति दिवस परेको छ । २००९ साल भदौ २९ गते जन्मीएर जागीरे जीवन हुदै बहुदल स्थापना भएपछि खुला राजनीतिमा होमिएका देशभक्त नेता स्वर्गिय धामीको स्मृति दिवसका अवसरमा उहाँको योगदान, सपना र सम्झनामा केन्द्रित भएर यो सामाग्री तयार पारेका छौँ ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ साबिकको मालिकार्जुन गाबिस वडा नम्बर ८ प्रेमनगर भौतडी, घट्ट गाउँमा जन्मीएका धामीले नेपालको राष्ट्रियता, जिल्लाको विकास र दार्चुलाको राजनीतिक पहुच केन्द्रसम्म बिस्तार गर्न ठुलो योगदान पुर्याउनुभएको छ । पञ्चायतकालसम्म जागीर गरेर बहुदलको स्थापना संगै राजनीतिक मैदानमा होमीएका धामीले २०४८ सालमा कञ्चनपुर जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरे पनि तर पराजय भोग्नुपर्यो । बौद्धिक क्षमतावान नेता धामीले निर्वाचन लडेको झन्डै एक वर्षपछि २०४९ सालमा तत्कालिन नेकपा मालेको केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्यमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुभयो । छोटो समयमै आफ्नो राजनीतिक छबि र पहुच केन्द्रसम्म बिस्तार गरीसकेका धामीले २०४९ सालदेखी नै पार्टीको महाकाली अञ्चल ईन्चार्ज र ३३ जनाको तत्कालिन मालेको केन्द्रीय कमिटि सदस्यको जिम्मेवारी पाउँनु दार्चुला र समग्र सुदूरपश्चिमकै लागि सौभाग्यको विषय थियो ।
धामीले २०५१ सालमा सम्पन्न प्रतिनिधिसभाको मध्यावधिक निर्बाचनमा विजयी हुदै संसदमा प्रतिनिधित्व गर्नुभयो । साथै २०५१ सालमा पहिलोपटक मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको ९ महिने कम्युनिष्ट सरकारमा आवास तथा भौतिक योजना राज्यमन्त्रीको महत्तपुर्ण जिम्मेवारी समेत प्राप्त गर्नुभयो । १५ सदस्यिय मन्त्रीमन्डलमा राज्यमन्त्रीको भुमिका समेत सफलतापुर्बक बहन गर्नुभएका नेता धामीले विकाससंगै राष्ट्रियताको रक्षाका खातीर पटकपटक आवाज उठाएर राष्ट्रिय राजनीतिमा चर्चा समेत कमाउँन सफल हुनुभयो । ९ महिनामा सरकार बिगठन भएको केहि समयपछि नेपालमा तत्कालीन नेकपा माओवादीले सशस्त्र संघर्ष शुरु गर्यो । धामीले २०५३ सालमा माओवादी समस्या समाधान अध्ययन कार्यदलको संयोजक भएर काम गर्नुभयो ।
राष्ट्रियताको खातिर बलिदान दिनुपरेपनि पछि नपर्ने स्वभावका स्वाभिमानी बिचारक धामीको २०५४ साल भदौ २७ गते आजकै दिन गाडी दुर्घटनामा परि नुवाकोट जिल्लाको साबिकको मदानपुर गाबिस ३ क्युरिनिभिरमा असामयिक निधन हुनपुग्यो । धामीको भौतिक शरीर २०५४ सालमा क्षति भएपनि उहाँले दार्चुला लगायत समग्र सुदूरपश्चिम प्रदेशको विकास र नेपालको राष्ट्रियताको लागी पुर्याएको योगदान अहिलेपनि सम्झनामा छ ।
कम्युनिष्ट मात्रै हैन, प्रजातान्त्रीक समुहले समेत उहाँलाई राष्ट्रबादी र विकासप्रेमी नेताको रुपमा स्मरण गर्ने गरेका छन । नेता धामीले सुदूरपश्चिमको प्रमुख चाड गौरापर्वलाई राष्ट्रिय रुपमा मनाउँनु पर्ने र गौराको अवसरमा सार्वजनिक विदा समेत दिइनु पर्ने संसदमा जोडदार माग गरेपछि अहिले देशभरी भाद्र महिनाको अष्टमी तिथिको दिन गौरा पर्वको अवसरमा सार्वजनिक विदा दिने गरीएको छ ।
दार्चुला जिल्लाको विकासको मेरुदन्डको रुपमा रहेको महाकाली लोकमार्गलाई बैतडीबाट दार्चुला सदरमुकाम सम्म तिब्रताका साथ विकास गर्न सदन र सरकारसंग उपलब्धिक पहल गरेका धामीकै योगदान स्वरुप महाकाली लोकमार्ग दार्चुलामा छोटो समयमै बिस्तार भएको छ । सुदूरपश्चिमलाई बजेट बिनियोजनमा सौतेनी व्यवहार देखाउँने सरकारलाई महाकाली लोकमार्गमा प्रयाप्त वजेट विनियोजन नगरे राजीनामा दिनेसम्मको चुनौती दिन सफल धामीको योगदानमा अहिले पनि दार्चुलामा कम्युनिष्ट नेताहरुले निर्वाचनमा आफुले गरेको उपलब्धीको रुपमा जनतालाई सुनाउँन पाएका छन ।
दार्चुलासम्म लोकमार्ग पहुच विस्तार नहुदा सम्म भारतीय बाटोको प्रयोग गर्नुपर्ने बाध्यतालाई संसदमा आवाज उठाउँदै भारतबाट नेपाली टोपी लुकाउँदै परनिर्भर भएर गृहजिल्ला जानुभन्दा सदन र सरकारमा नबस्ने चुनौती दिएकै कारण लोकमार्ग सरकारको प्रार्थमिकतामा परेको मालिकार्जुनका स्थानीय एबं पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामी बताउनुहुन्छ । धामीकै योगदानको अहिलेपनि नेकपाले उचित मुल्याङकन गर्न नसकेको उहाँका शुभचिन्तकहरुले गुनासो गर्ने गरेका छन् । चुनाबको बेला मात्रै धामीलाई सम्झने नेताहरुले महाकाली लोकमार्गलाई प्रेमसिह धामी राजमार्गको रुपमा नामाकरण गर्न सके मात्रै पनि उहाँलाई सम्झेको अर्थ हुने प्रेमसिह धामी स्मृति प्रतिष्ठानका अध्यक्ष किसनसिह धामीको भनाई छ ।
राष्ट्ररक्षा, विकास र समृद्धि एवम् समाजिक रुपान्तरणका लागि उहाँले अघि सारेका योजना र सपनालाई अहिलेको नेतृत्वले आत्मसात गर्नुपर्ने बुद्धिजिबिहरुको धारणा छ । स्वर्गिय नेता धामीका आफन्त एबं पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले उहाँको स्मृति दिवसमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन, ” देशभक्त नेता स्व. प्रेम सिंह धामीले २०५४ भदौ २५ गते जनआस्था साप्ताहिकमा काठमाडौंलाई कालापानी किन दुख्दैन ? भन्दै (लेख प्रकासित गरेर) मातृभूमिको विषयमा सिंगो नेपाल र नेपालीको भूमिका खोज्नुभएको थियो । लेख प्रकासित भएको पर्सिपल्ट अर्थात २०५४ भदौ २७ गते जीपदुर्घटनामा उहाँको निधन भयो । उहाँको निधनको २३ वर्षपछि भने कालापानी काठमाडौं र तीन करोड नेपालीलाई दुखेको छ । नेपाल आमाको देशभक्त छोरो प्रेम सिंह धामीप्रति श्रद्धाञ्जली । उहाँको भौतिक शरीर नरहे पनि देशभक्तिको आवाज र योगदान सधैं स्मरण भइरहने छ ।”
पत्रकार धामीले मात्र हैन सयौँ दार्चुलाबासीले सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट स्वर्गिय नेता धामीको स्मृति दिवसको अवसरमा सम्झना गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । स्वर्गिय नेताको स्मृति दिवसको अवसरमा कोरोना भाइरसको जोखिमका कारण दार्चुला सदरमुकाम खलंगामा औपचारीक कार्यक्रम गर्न नसकेपनि उहाँको जन्मस्थल मालिकार्जुनमा प्रेम सिह धामी स्मृति प्रतिष्ठानको आयोजनामा स्मृति दिवस मनाउने कार्यक्रम छ । स्वर्गिय नेताको सम्झनामा हालसम्म खलंगा र मालिकार्जुनमा शालिक निर्माण गरिएको छ । खलंगामा गत बर्ष प्रेमसिह धामी पुस्तकालय निर्माण गरिएको छ । महाकाली लोकमार्गको नामाकरण र प्रदेश राजधानी कैलालीमा पूर्ण कदको शालिक निर्माण गर्नुपर्ने र उहाँको विकास र समृद्धिका सपनाहरु सकार पार्न नेकपा र वर्तमान नेतृत्वले जिम्मेवारी लिनुपर्ने शुभचिन्तकहरुको माग छ ।
खुसीको कुरा स्वर्गिय धामीले उठाएको सीमाको मुद्धामा वर्तमान नेकपा सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको भारतद्धारा अतिक्रमित नेपाली भूमि समेटेर नेपालको नक्सा जारी गर्दै सीमा फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साच्चै भूमि फिर्ता भए स्वर्गिय धामीको एउटा सपनाले सार्थकता पाउने छ ।
जिल्लाको विकास, समृद्धि र सामाजिक परिवर्तनको क्षेत्रमा उहाँको योगदानबाट केहि सिकेर बर्तमान दार्चुलाको नेतृत्व र राजनीतिक नेताहरुको भुमिका हुनेछ भन्ने अपेक्षा व्यक्त गर्दै स्मृति दिवसको अवसरमा राष्ट्रबादी स्वर्गिय नेता प्रेमसिह धामीलाई हार्दिक श्रद्धासुमन सहित सम्झना व्यक्त गर्दछु ।
भिडियो हेर्न तलको लिकंमा क्लिक गर्नुहोस