दार्चुलासहित सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

दार्चुला । हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी पोल्ने पर्व दार्चुलासहित सुदूरपश्चिम प्रदेशमा धुमधाम संग मनाईँदै छ ।

द्वापर युगमा राक्षसनी पुतनाले राजा कंशको आदेशमा भगवान श्रीकृष्णलाई दूधको रुपमा विष खुवाएर मार्न लागेको बेला भगवान श्रीकृष्णले थाहा पाएर उल्टै राक्षसनी पुतनाको स्तन चुसी मारेको खुशीयालीमा सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष असोज संक्रान्तिका दिन बुढी पोल्ने पर्व मनाउने प्रचलन रहेको छ।

यस पर्वमा गाईवस्तुको हेरचाह गर्ने गोठालाहरुले भाद्र संक्रान्ति अर्थात् ओल्के पर्वको दिन सल्ला, बाँझ, निंगालो आदिका हांगाबिंगाहरु काटेर बनाएको बुढीलाई जलाउने चलन रहेको छ ।

जासुसी राक्षसनी पुतना दहनका लागि असोज संक्रान्तिका दिन साँझपख सबै घरबाट काँस, अमरिसो लगायत पाँच थरीका घाँसले बेरेको राँको बनाएर बुढी पोल्ने ठाउँमा लैजाने गरिन्छ ।

दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन समेत रहेको लेकम गाउँपालिका-५ का स्थानीय संस्कृतिका जानकार लिलाधर जाेशीले बताउनुभयाे । बूढी पोल्दा लुतो फाल्ने भन्दै युवाहरु काँक्रो चपाउँदै थुक्ने गर्दछन र नाम पुकार्दै लुतो लैजा भन्दै नाचगान समेत गर्छन् ।

साँझ आकाशमा तारा चम्केपछि मात्रै राक्षसनी पुतनाको पुत्ला दहन गरिन्छ । यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै प्रकारको रोग नलाग्ने धार्मिक विश्वास रहँदै आएको छ ।तर पछिल्लो समयमा बुढी पोल्ने पर्व लोप हुँदै गएको प्रति संस्कृति संरक्षणकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।

बुढी पोल्ने पर्व सुदूरपश्चिम प्रदेशका पहाडी समुदायले मनाउनुका साथै छिमेकी देश भारतको कुमाउ, गढवालमा पनि मनाउने गरिएकाे जाेशीले बताउनुभयाे ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?