दार्चुला । लेकम गाउँपालिका वडा नम्बर २ कैनोडा तितेकाडामा रहेको नेपाल टेलिकमको टावर नियमित तथा प्रभावकारी नहुदा सेवाग्राही मार्कामा परेका छन । २०५१ सालमा निर्माण भएको नेपाल टेलिकमको टावरमा विद्युत अभावका कारण घाम लागेको बेला बाहेक सेवा प्रवाह नहुदा लेकम गाउँपालिकाका अधिकांस स्थानीयहरु टेलिफोन र इन्टरनेट सेवा बाट बञ्चित रहेका छन् ।
कैनोडा टावरबाटै नै लेकम गाउँपालिकाका अधिकांस बस्तीहरुमा टेलिफोन सेवा विस्तार गरिएको छ । सोलार सिस्टमबाट सञ्चालनमा रहेको उक्त टावरले घाम लागेको बेला मात्रै काम गर्ने गरेको स्थानीय केशव दत्त जोशीले बताउनुभयो । घाम नलागेको बेला र रातीको समयमा टावरले काम नगर्दा निकै समस्या हुने गरेको उहाँले गुनासो गर्नुभयो ।
टावरमा आएको समस्या समाधानमा गाउँपालिकाले ध्यान नदिएको भन्दै मंसिर २१ गते खरकडाका स्थानीयहरुले गाउँपालिका कार्यालयमा तालाबन्दी गर्दै ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । सोहि दिन लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले कैनौडा टावर नियमित सञ्चालन गरि समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
प्रतिबद्धता अनुसार गाउँपालिका अध्यक्ष जोशीको पहलमा कैनौडा टावर नियमित सञ्चालनको लागी आज नेपाल टेलिकमको प्रादेशिक निर्दैशनालय कैलाली अत्तरियाबाट आएको प्राविधिक टोलीले निरीक्षण गरेको छ । टेलिकमका इन्जीनियर अनिल लामा र प्राविधिक लालबहादुर देउवाले टावरको निरीक्षण गर्नुभएको हो ।
टावर निरीक्षण गर्दे इन्जिनियर अनिल लामाले टावरमा जडान गरिएका सोलार ब्याट्रिहरु ड्यामेज भइसकेकोले विद्युत विस्तार नभए सम्म नेटर्वकको समस्या समाधान नहुने बताउनुभयो । उहाँले बिग्रिएका ब्याट्रिहरु तत्काल फेर्नुपर्ने भएकोले छिट्टै नयाँ ब्याट्रि जडान गरिने बताउनुभयो ।
ब्याट्रि जडान गरे पनि विद्युत जतीको प्रभाकारी नहुने भएकोले विद्युत विस्तार नै नेटर्वक समस्याको उपयुक्त र दिर्घकालिन समाधान भएकोले छिट्टै ठेक्का प्रकृया मार्फत कैनौडा तितेकाडा टावर सम्म विद्युत विस्तार गरिने गाउँपालिका अध्यक्ष जोशीले प्रतिबद्धता जनाउनुभयो । विद्युत विस्तारका लागि बजेट विनियोजन भइसकेको छ, तिब्र गतिमा काम गरेर केहि महिना भित्रै तितेकाडासम्म विद्युत विस्तार गरिने उहाँले बताउनुभयो ।

लेकम गाउँपालिकाका अधिकांस बस्तीहरुमा कैनौडा तितेकाडा टारले नै काम गर्ने भएकोले सञ्चार समस्या छिट्टै समस्या समाधान गरिने गाउँपालिकाका अध्यक्ष जोशीले बताउनुभयो । अहिले नेटवर्क अभावमा बिहान, बेलुका र रातीको समयमा ७० प्रतिषत बढी लेकमबासी जनता सञ्चार सेवाबाट बञ्चित हुने गरेका छन् । विज्ञान र प्रविधिको युगमा फोन गर्न समेत मोबाइलमा टावर नआउनु लेकमबासी जनताका लागि दुभाग्यको कुरो रहेको सेवाग्राहीहरुको गुनासो छ ।
गाउँपालिकाको कार्यालय रहेको खरकडा क्षेत्रमा कार्यालय समयबाहेक टेलिफोनमा सम्पर्क नहुदा जनप्रतिनिधि, कर्मचारी, सेवाग्राही र आम लेकमबासीले प्रतक्ष र अप्रतक्ष रुपमा समस्या भोग्नुपरेको मात्र छैन, कतिपय कार्यालयका र व्याक्तिगत कामहरु समेत गर्न नसकिने अवस्था छ । घाम नलागेको दिन गाउँपालिका कार्यालय क्षेत्रमा दिउँसो समेत टेलिफोन सम्पर्क हुने गरेको छैन् ।
टेलिकमबाट आएका प्राविधिकहरुले लेकम गाउँपालिका वडा नम्बर २ का वडा सदस्यद्धय पदम राज जोशी, वाशुदेव भट्ट, लेकम गाउँपालिकाका प्राविधिक लोक राज जोशी, स्थानीय केशव राज जोशी, दुर्गादत्त जोशी, कम्मान जोशी लगायतसंग तितेकाडामा छलफल गरेको रेडियो लोकदर्पणका सम्बाददाता हरिप्रसाद जोशीले बताउनुभयो ।




