दार्चुला । घटनास्थापनाको अवसरमा आजदेखि दशैं शुरु भएको छ । दशैंको पहिलो दिन आज शक्तिपीठ तथा मठमन्दिरहरुमा जमरा राखेर घटस्थपाना गरिएको छ । दार्चुला र बैतडीसहित देशभरका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा सामूहिक जमरा राखिएको छ । घरघरबाट जौं लगेर मन्दिरमा सामूहिक रुपमा जमरा राख्ने चलन रही आएको छ । गाउँका सबैजसो मानिसहरुको घरबाट ल्याइएको जौँबाट मन्दिरमा सामूहिक जमरा राखिएको लेकम ५ मा अवस्थित मालिकार्जुन मन्दिर मैखोलीका भण्डारी केशवराज जोशीले बताउनुभयो ।

केही ठाउँमा घरघरमै जमरा राख्ने चलन पनि हुन्छ तर लेकम क्षेत्रसहित दार्चुला र बैतडीका अधिकासं ठाउँमा मन्दिरमै सामूहिक जमरा राख्ने गरिएको छ । दशैंको बेला हाम्रो यतातिर घरघरमा जमरा राख्ने चलन छैन्, उहाँले भन्नुभयो, मन्दिरमै सामूहिक रुपमा जमरा राख्ने चलन रही आएको छ । यस्तै लेकम गाउँपालिका ५ जयपुर मन्दिरमा समेत सामूहिक जमरा राखिएको भण्डारी मनिदत्त बिष्टले जानकारी दिनुभयो । दशैंको दिन सबैले मन्दिरबाटै जमरा लगेर लगाउने गरेका छन् । दार्चुला र बैतडी जिल्लाका सबैजसो मठमन्दिर तथा शक्तिपीठहरुमा सामूहिक रुपमा जमरा राख्ने चलन रही आएको छ । दार्चुलाको मालिकार्जुन, लटिनाथ, हुनैनाथ, ब्रह्म, भगवती लगायत विभिन्न शक्तिपिठ र बैतडीको त्रिपुरासुन्दरी, निङ्गलाशैनी, मेलौली, डिलाशैनी, कफलाशैनी, फाल्ङासैनी, केदार, महारुद्र, भूमिराज, उदयदेब, सिगास लगायतका शक्तिपीठहरुमा सामूहिक जमरा राखिएको छ । आज राखिएको जमरालाई दशैंका दिनका देवीको प्रसादको रुपमा लगाउने चलन रही आएको छ ।

मन्दिरहरुमा जमरा राखेकै दिन आजैदेखि नवरात्र पनि शुरु भएको छ । मन्दिरमै बसेर नवरात्र उपासना गर्ने चलन समेत रही आएको मैखोलीका अर्का स्थानीय बाशुदेब जोशीले बताउनुभयो । शक्तिपीठ तथा मन्दिरहरुमा जमरा राख्नु अघि भण्डार घरबाट शक्तिपीठ तथा मन्दिरहरुमा देउरो अर्थात भराण लैजाने चलन रही आएको छ । मन्दिरमा भाराण ल्याइसकेपछि सामूहिक जमरा राख्ने चलन रहेको छ ।

सामूहिक रुपमा जमरा राख्ने प्रचलनले सामाजिक सदभाव पनि कायम हुने गर्दछ । दशैंको समयमा सामूहिक रुपमा शक्तिको पूजा गर्ने प्रचलन रहेको र सोही अनुसार सामूहिक पूजाआजा गर्ने गरिएको स्थानीय संस्कृतिका जानकारहरु बताउछन् । चाडपर्वले सबैलाई एकैठाउँमा भेटघाट हुने वातावरण समेत सिर्जना गरेको छ । शक्तिपीठ तथा मन्दिरहरुमा जमरा राखिएसंगै नित्य पूजा आराधना गर्ने गरिएको छ । सप्तशती चण्डी लगायतका पाठहरु पढ्ने र माता दुर्गाको आराधना गर्ने प्रचलन रहेको पुजारीहरु बताउछन् । नवरात्र शुरु भएसंगै देवीदेवताका मन्दिरहरुमा भक्तजनहरुको घुइचो बढेको छ ।

जिल्लामा रहेका देवीका मन्दिरहरुमा घटस्थापनाकै दिनदेखि भक्तजनहरुको घुइचो लाग्ने गरेको छ । दशैंको बेला बसाइसराई गरेर गएकाहरु पनि गाउँ फर्कने भएकाले मन्दिरहरुमा घुइचो लागेको हो । गाउँघरमा समेत कामको व्यस्ततासंगै दशैंको चहलपहल बढेको छ ।

अष्ठमी र बडादशैंको दिन विभिन्न मठमन्दिरमा जात्रा समेत लाग्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

प्रेस चौतारी नेपालको तेस्रो केन्द्रीय बैठक १५ बुँदे दार्चुला घोषणपत्र जारी गर्दै सम्पन्न

२०८० मंसिर १३, बुधबार १५:२६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?