दार्चुला । दार्चुलामा नेकपा (एमाले)ले निर्वाचन लक्षित प्रचार–प्रसार र मतदाता भेटघाटलाई तीव्रता दिएको छ । नेकपा (एमाले)बाट दार्चुलाका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गणेशसिंह ठगुन्ना नेतृत्वको टोलीले जिल्लाका विभिन्न स्थानीय तहमा मतदाता भेटघाट तथा अगुवा–कार्यकर्ता भेला कार्यक्रम सञ्चालन गरिरहनुभएको छ।
पार्टीको पूर्वनिर्धारित तालिका अनुसार जिल्लाभर मतदाता भेटघाट तथा अगुवा कार्यकर्तासँग अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेका छन्। सोही अन्तर्गत आजबाट प्रतिनिधि सभा निर्वाचन लक्षित प्रचार–प्रसार तथा भेला एवं आमसभा सुरु भएको छ ।
एमालेबाट दार्चुलाका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गणेशसिंह ठगुन्ना नेतृत्वको टोलीले सोमबार (आज) मालिकार्जुन गाउँपालिकाको वडा नम्बर १ र २ का विभिन्न टोलहरूमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरेको मुख्य टोलीमा सहभागी दौलत सिंह ठगुन्नाले जानकारी दिनुभयो । सोही क्रममा मालिकार्जुन गाउँपालिकाको वडा नम्बर १ मा १५ जना र वडा नम्बर २ मा ५२ जनाले एमाले प्रवेश गरेको उहाँले बताउनुभयो ।
वडा नम्बर १ मा नेपाली कांग्रेस परित्याग गरी क्रियाशील सदस्यहरू करण सिंह बोहरा र रतन सिंह बोहरा तथा संगठित सदस्य गोपाल सिंह बोहराले एमाले प्रवेश गरेको मुख्य टोलीमा सहभागी ठगुन्नाले जानकारी दिनुभयो । त्यस्तै दान सिंह धामी ‘घर फर्क अभियान’ अन्तर्गत पार्टीमा सक्रिय भएर लाग्ने प्रतिबद्धतासहित १५ जनाले एमाले प्रवेश गरेको उहाँले बताउनुभयो ।
त्यस्तै वडा नम्बर २ को ठिङ, न्वालपानी, सिराड, फिरुडी लगायतका टोलहरूमा चुनावी प्रचार–प्रसार अन्तर्गत मतदाता भेटघाट एवं अगुवा कार्यकर्ता अन्तरक्रियाका क्रममा नेपाली कांग्रेस परित्याग गरी ५२ जनाले एमाले प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका क्रियाशील सदस्यहरू किशन सिंह धामी, मदन सिंह धामी, राम सिंह धामी, आन सिंह धामी, राम सिंह धामी, बिना धामी, बिस्ना धामी, जानकी धामी, शंकर सिंह धामी, देव सिंह धामी, बेलमती धामी, गौरी धामी, गीता धामी, तारा धामी, दिलप धामी, पदम सिंह धामी र बिमला धामी (क्रियाशील सदस्यहरू मात्रै) र अन्य ३५ जनाले एमाले प्रवेश गरेको उहाँले बताउनुभयो ।
नवप्रवेशीहरूलाई प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गणेशसिंह ठगुन्ना लगायतका नेताहरूले फूल, माला, अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको उहाँले बताउनुभयो ।
यस्तै एमाले दार्चुलाले नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गणेश सिंह ठगुन्नाको निर्वाचन प्रचार–प्रसार कार्यक्रम तालिकामा सामान्य संशोधन गरेको जनाएको छ । यस अघिको पूर्वनिर्धारित तालिकामा केही संशोधन गरिएको जिल्ला कमिटी सचिव उमेशराज जोशीले जानकारी दिनुभयो ।
जसअनुसार फागुन ५ गतेबाट ठगुन्ना नेतृत्वको मुख्य टोली दुहुँ गाउँपालिका प्रवेश गर्नेछ । फागुन ५ गते भोलि बिहान दुहुँ गाउँपालिकाको खेती, दिउँसो बोहरीगाउँ–फारा–पोक्सेमा भेटघाटसहित वडा नम्बर ४ र ५ को संयुक्त भेला पोक्सेमा दिउँसो ३ बजेदेखि सञ्चालन हुने जिल्ला कमिटी सचिव जोशीले जानकारी दिनुभयो ।
त्यस्तै फागुन ६ गते दुहुँ गाउँपालिकाकै वडा नम्बर २ को भेला हिकिला ब्रह्मान्डौ परिसरमा र वडा नम्बर १ को भेला कोटखाला पिपलचौरीमा आयोजना हुने उहाँले बताउनुभयो । ७ गतेबाट टोलीले व्याँस गाउँपालिकामा चुनावी प्रचार–प्रसार तथा आमसभा र मतदाता भेटघाट कार्यक्रम गर्ने तालिका निर्धारण गरिएको छ ।




