दार्चुला । रास्वपा बालेन शाह नेतृत्वको नयाँ सरकारमा बन्ने मन्त्री चयनको अन्तिम गृहकार्यमा जुटेको छ । रास्वपा स्रोतका अनुसार केही व्यक्तिहरुको मन्त्रालय टुंगो लागिसके पनि केहीको बाँकी छ । ती बाँकी भएकाहरुसँग पार्टी सभापति रवि लामिछाने अन्तिम छलफलमा छन् ।

बालेन यही चैत १३ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारीमा छन् । सोही दिन सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी छ ।

हालसम्म १५ देखि १८ सदस्यीय मन्त्रिपरिषद बनाउनेबारे छलफल भइरहेको स्रोत बताउँछ । रास्वपाले चुनावी वाचापत्रमा मन्त्रालय १८ मा सीमित गर्ने उल्लेख गरेकाले त्यो भन्दा ठूलो आकारको मन्त्रिपरिषद नबनाउनेबारे छलफल भइरहेको नेताहरुले बताएका छन् ।

पार्टी सञ्चालनको लागि टिम चाहिने भएकाले सचिवालय तहका केही नेतालाई भने ‘रिजर्भ’ मा राख्ने तयारी रास्वपाको छ ।

विभिन्न नाममा छलफल

स्रोतका अनुसार बालेनले प्रधानमन्त्रीसँगै रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले मन्त्री बन्ने निश्चित छ । उनीहरुले गृह, अर्थ वा भौतिक मन्त्रालय सम्हाल्नेबारे छलफल भइरहेको स्रोतले बतायो । भौतिक पूर्वाधारमा सुनिल लम्सालको नाममा छलफल भइरहेको छ ।

परराष्ट्र मन्त्रालयमा शिशिर खनालको चर्चा छ । खनाल पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख समेत हुन् ।

सोविता गौतमलाई स्वास्थ्य वा कानुन मन्त्रालय दिनेबारे छलफल भइरहेको छ । त्यसो त सभामुख पदमा पनि सोविताको नाम चर्चामा आउने गरेको छ ।

सभामुख पदमा पूर्व सञ्चारमन्त्री जगदिश खरेल र प्रतिभा रावलको पनि चर्चा छ । खरेलको नाम सञ्चार मन्त्रालयमा पनि छलफल भइरहेको स्रोत बताउँछ ।

युवा तथा खेलकुदमा सुदन गुरुङको नाम पनि चर्चामा छ । मनिष झाको नाम पर्यटन वा सञ्चारमा छलफल भइरहेको छ । झालाई युवा तथा खेलकुद मन्त्री बनाउने प्रस्ताव समेत छ ।

मन्त्रीको रुपमा विभिन्न नामहरुमा छलफल भइरहेको तर टुंगो नलागेको रास्वपाका एक नेताले बताए ।

२१ फागुनको निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको थियो । समानुपातिकबाट उसले ५७ सिट थपेको छ । प्रतिनिधि सभामा कूल १८२ सिटसहितको रास्वपा झण्डै दुई तिहाइ बहुमतको बलियो सरकार गठनको गृहकार्यमा छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला सुरु: धार्मिक, सांस्कृतिक, व्यापारीक दृष्टिकोणले प्रशिद्ध

२०८२ फाल्गुन ३, आईतवार ०७:५० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?