दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा बिहिवार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा खलंगाका ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
विहिबार कोरोना पुष्टि भएका मध्ये १४ जना सशस्त्र प्रहरी ४४ नम्बर गण हेडक्वाटर दार्चुलाका सुरक्षाकर्मी, दुई जना जिल्ला कारागार दार्चुलाका कैदीहरु, तीन जना रेडक्रस दार्चुलाका र बाकि मोहतीका स्थानीय रहेका छन् । संक्रमण पुष्टि हुनेमा मोहतीका १२ जना महिला समेत रहेका छन् ।
कारागारबाट दुई जनाको स्वाब पठाउदा दुबैमा कारोना पुष्टि भएपछि कारागारमा कोरोनाको जोखिम बढेको छ । क्षमता भन्दा बढी कैदीबन्दी रहेको कारागारमा कोरोना पुष्टि भएपछि असुरक्षा बढेको कैदीबन्दीहरुले गुनासो गरेका छन् ।
पछिल्लो २४ घण्टामा १४० नमुना परीक्षण गर्दा दार्चुलाको महाकाली नगरपालिका ३८ जना र डोटी जोरायल गाँउपालिकाका ९ जना गरि ४७ जनामा संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पताल प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले जानकारी दिनुभयो । एकै दिन ३८ जना थपिएसंगै दार्चुलामा कोरोना संक्रमितको संख्या एक सय ९१ पुगेको छ ।
संक्रमितमध्ये ९८ जनाले कोरोना जितेका छन् । ९३ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । आठ जना आइसोलेसन र ८५ जना होम आइसोलेसनमा रहेका छन् । दार्चुला सदरमुकामबाट सोमबार ७२ जनाको स्वाब पठाइएकोमा बुधवार एक जना र बिहिवार ३८ जनामा संक्रमण पुष्टि भएको छ । अझै चार जनाको रिर्पोट आउन बाकी रहेको महाकाली नगरपालिकाका स्वास्थ्य शाखा संयोजक मोहन महराले बताउनुभयो।
हालसम्म दार्चुलाको तीन हजार एक सय ३० जनाको स्वाब परीक्षण गरिएकोमा एक सय ९१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाबाट आठ सय ३८ जनाको स्वाब परीक्षण गर्दा एक सय ११ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
स्वाब पठाइएकोमध्ये झण्डै ५५ प्रतिषतमा कोरोना पुष्टि भएपछि दार्चुला सदरमुकाममा कोरोना समुदायस्तरमा फैलिएको पाइएको हो । यसअघि समेत कन्ट्र्रयाक्ट ट्रेसिङमा नपरेका व्याक्तिमा लक्षणसहित कोरोना संक्रमण पुष्टि भइसकेको छ ।





प्रतिक्रिया