दार्चुला । स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रम अन्तरगतको रकम स्वास्थ्य क्षेत्रको विकास र कोरोना नियन्त्रणलाई प्राथमिकतामा राखेर विनियोजन गर्ने विषयमा सहमति भएको छ ।
स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रम परामर्श समितिका संयोजक एवं प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्नाले राखेको कोरोना परीक्षणका लागि पीसीआर मेसिन खरिद गर्नुका साथै जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालका लागि स्वास्थ्य सामाग्री खरिद गर्ने प्रस्तावमा सम्पूर्ण सदस्यहरुले ऐक्यबद्धता जनाएका छन् ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगतका योजना छनौट गर्ने विषयमा छलफल गर्न बसेको परामर्श समितिको बैठकले पीसीआर मेसिनका साथै स्वास्थ्य सामाग्री खरिद गर्ने विषयमा सर्बसहमति गरेको छ । जिल्ला समन्वय समिति र स्थानीय तहका जनप्रतिनिधिहरुले गत असार अन्तिम साता जिल्ला सभाबाट पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेपनि बजेट अभावमा हालसम्म पीसीआर मेसिन खरिद भएको छैन् ।
बिहिबार दार्चुला सदरमुकाम खलंगामा बसेको परामर्श समिति बैठकले पीसीआर मेसिनका साथै जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा भेन्टिलेटर, आइसियु बेड र अक्सिजन प्लान्ट राख्ने विषयमा सहमति गरेको जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीले जानकारी दिनुभयो ।
दार्चुला जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा १/१ वटा भेन्टिलेटर, दुबै अस्पतालमा २/२ वटा आइसियु बेड, दार्चुला सदरमुकाममा पीसीआर मेसिन र अक्सिजन प्लान्ट व्यवस्थापन गर्ने सहमति भएको प्रतिनिधिसभा सदस्य एबं परामर्श समिति संयोजक गणेशसिह ठगुन्नाका स्वकिय सचिब दौलतसिह ठगुन्नाले जानकारी दिनुभयो ।
दार्चुलामा प्राप्त हुने संघीय सरकारको ४ करोड र प्रदेश सरकारको ६ करोड गरी १० करोड बजेट अन्तरगत पीसीआर मेसिन र स्वास्थ्य सामाग्री खरिद गर्ने र स्थानीय तह र समन्वय समितिले समेत सहयोग गर्ने विषयमा छलफल भएको छ । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको पीसीआर मेसिन र स्वास्थ्य सामाग्री खरिदपछि बाकी रहने बजेटबाट अन्य पूर्वाधार निर्माणका योजनाहरु विनियोजन गर्ने तयारी छ ।
परामर्श समिति संयोजक एवं प्रतिनिधिसभा सदस्य ठगुन्नाको अध्यक्षतामा बसेको बैठकमा प्रदेश सभा सदस्य द्धय गेल्बुसिंह बोहरा र मानबहादुर धामी, जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की, महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्ट, शैल्यशिखर नगरपालिका प्रमुख अमरसिंह धामी, लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशी, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी, मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी, नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी, अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल, दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, ब्याँस गाउँपालिका उपाध्यक्ष हेमा भट्ट र परामर्श समिति सचिव एवं जिल्ला समन्वय अधिकारी मोहन सिंह धामीको सहभागिता रहेको थियो ।
बैठकमा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडू, प्रदेशसभा सदस्य एबं प्रदेशसभा उपसभामुख निर्मला बडाल जोशी, व्याँस गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकी लगायतको उनुपस्थिति रहेको थियो । उपस्थिति भएका र नभएका सबै समिति सदस्यहरुको स्वास्थ्य सामाग्री खरिद गर्ने र पीसीआर मेसिन खरिद गर्ने निर्णयमा सहमति रहेको बताइएको छ ।





प्रतिक्रिया