दिपक खाती, दार्चुला। नेपाली सेनाले निर्माण गरिरहेको देशकै रणनीतिक महत्त्वको दार्चुला (तुसरपानी–टिंकर) सडक आयोजनाका प्रमुख तथा श्री नम्बर २ विकास निर्माण गणका गणपति प्रमुख सेनानी (कर्णेल) राजेश कटवाललाई हिजो बुधबार एक विशेष समारोहका बीच सम्मानसहित बिदाइ गरिएको छ। सोही अवसरमा आयोजनाको नेतृत्व सम्हाल्न आउनुभएका श्री नम्बर २ विकास निर्माण गणका नयाँ गणपति तथा आयोजना प्रमुख प्रमुख सेनानी (कर्णेल) नारायण तुम्बाहाङफेको स्वागत गरिएको छ।
बिदाइ तथा स्वागत कार्यक्रममा महाकाली नगरपालिका उपप्रमुख दुर्गाकुमारी खत्री बिष्ट, दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेल, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि र ब्याँसका स्थानीयको सहभागिता रहेको थियो। कार्यक्रममा कर्णेल कटवालले विशेषगरी ब्याँस क्षेत्रमा सडक निर्माण तथा विकासका कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाई स्थानीय जनताको जीवन सहज बनाउन तथा यस क्षेत्रको आर्थिक, सामाजिक र पर्यटन विकासमा पुऱ्याउनु भएको महत्त्वपूर्ण योगदान प्रशंसनीय र अनुकरणीय रहेको भन्दै ब्याँस गाउँपालिकाले विशेष सम्मान गरेको छ। उहाँकै परिकल्पनामा निर्माण गरिएको “मेरो ब्याँस, हाम्रो ब्याँस” भन्ने नारासहित ब्याँस गाउँपालिकाको नक्सा भित्र ब्याँस ऋषिको तस्बिर अंकित लोगोले ब्याँस क्षेत्रको पहिचान प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै गाउँपालिका उपाध्यक्ष विनोद कुँवर र वडा नम्बर १ का अध्यक्ष अशोकसिंह बोहराले दोसल्ला, मायाको चिनो तथा सम्मानपत्र प्रदान गरेका थिए।
सोही अवसरमा कर्णेल कटवालले ब्याँस गाउँपालिका–१ पोलामा नेपाली सेनाको पहलमा निर्माण गरिएको दुई कोठे सार्वजनिक भवन तथा विश्रामगृह वडा अध्यक्ष अशोकसिंह बोहोरालाई हस्तान्तरण गर्नुभयो। यार्सागुम्बा संकलन, भेडाबाख्रा चराउन तथा छाङरु–टिंकर आवतजावत गर्ने स्थानीय तथा यात्रुहरूलाई सुरक्षित बास र विश्रामको सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त भवन निर्माण गरिएको हो।
बिदाइ समारोहमा सहभागीले कर्णेल कटवाललाई दोसल्ला, खादा, फूलमाला र मायाको चिनो प्रदान गर्दै सम्मानपूर्वक बिदाइ गरेका थिए। यसैबीच, दार्चुला–टिंकर सडक आयोजनाको तर्फबाट कर्णेल कटवालले जिल्ला सुरक्षा समिति, श्री नम्बर २ विकास निर्माण गण, दार्चुला–टिंकर सडक आयोजना तथा ब्याँस गाउँपालिकालाई मायाको चिनो प्रदान गर्नुभयो। साथै आयोजना निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने नेपाली सेनाका विभिन्न दर्जाका सैनिक, सडकका नाइके तथा विभिन्न सञ्चारमाध्यमलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।
कर्णेल कटवालको कार्यकालमा दार्चुला–टिंकर सडक आयोजनाले निर्माण कार्यमा उल्लेखनीय प्रगति हासिल गर्नुका साथै ब्याँस क्षेत्रमा धार्मिक, सामाजिक तथा सामुदायिक विकासका विभिन्न गतिविधि अघि बढाइएको भन्दै विभिन्न संघ, संस्थाले सम्मानसहित अभिनन्दन गरेका छन्। कार्यक्रमका सहभागीहरूले कर्णेल कटवालले सडक निर्माणसँगै स्थानीय समुदायसँगको सहकार्य, विकासप्रतिको प्रतिबद्धता तथा ब्याँस क्षेत्रको समग्र पहिचान प्रवर्द्धनमा पुर्याएको योगदान दीर्घकालसम्म स्मरणीय रहने विश्वास व्यक्त गरेका छन्।
साथै नयाँ आयोजना प्रमुख कर्णेल नारायण तुम्बाहाङफेको नेतृत्वमा दार्चुला–टिंकर सडक आयोजनाले थप गति लिने अपेक्षा पनि व्यक्त गरिएको छ।





प्रतिक्रिया