दार्चुला । दार्चुलाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने भलिबल खेलाडीहरूको पहलमा जिल्लामा प्रथम ‘लिपुलेक कप’ भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी अघि बढाइएको छ। प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आर्थिक तथा अन्य आवश्यक सहयोगका लागि आयोजकले सबै पक्षसँग आग्रह गरेका छन्।
हाल अस्ट्रेलियामा रहेका पूर्व राष्ट्रिय भलिबल टोलीका सदस्य राजेन्द्र विष्ट र भलिल खेलाडी धनराज कुँवरको विशेष पहलमा प्रतियोगिता आयोजना गर्न लागिएको राष्ट्रिय भलिबल खेलाडी बल्देव सिंह धामीले बताउनुभयो। उहाँका अनुसार दशैँ र तिहारको बीचमा प्रतियोगिता सञ्चालन गर्ने तयारी भइरहेको छ। प्रतियोगिताको मिति र स्थान भने अझै टुंगो लाग्न बाँकी रहेको उहाँले बताउनुभयो।
दार्चुलाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भलिबल खेलाडी उत्पादन भइरहेकाले जिल्लामै नियमित र स्तरीय प्रतियोगिता सञ्चालन गरी नयाँ प्रतिभाको पहिचान, खेलाडीको क्षमता विकास तथा भलिबल खेलको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगिताका लागि खेलमैदान छनोट, खेलाडी तथा टोली व्यवस्थापनलगायतका आवश्यक तयारी अघि बढाइएको खेलाडी धामीले बताउनुभयो। प्रतियोगितालाई सफल बनाउन स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, व्यवसायी, खेलप्रेमी, स्वदेश तथा विदेशमा रहेका दार्चुलावासी र आम नागरिकबाट आर्थिक तथा अन्य सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो।
आयोजकले प्रतियोगितालाई केवल खेलकुद प्रतियोगितामा सीमित नराखी दार्चुलाको भलिबल प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सहयोग पुग्ने अवसरका रूपमा अघि बढाउने तयारी गरेको जनाएको छ।





प्रतिक्रिया