दार्चुला । नेकपा एमालेको माधव नेपाल समूहले देशभरका पार्टी कमिटी ब्युँताउने घोषणा गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै देशभरका ४ हजारभन्दा बढी नेता–कार्यकर्ताको दुई दिने भेला गरेको यो समूहले सर्वोच्च अदालतको आदेशअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने र सबै कमिटी ब्युँताउने बताएको हो ।
भेलाको अन्तिम दिन बिहीबार भेलामा सहभागीहरुलाई सम्बोधन गर्दै उपमहासचिव घनश्याम भुसालले भन्नुभयो, ‘अब जन संगठन र पार्टी कमिटी जेठ २ कै अवस्थामा ब्युँताउँछौं ।’
पार्टीको धेरै कमिटीमा आफूहरुको नेतृत्व भएपनि केहीमा हारेको भन्दै उहाँले त्यस्ता कमिटीमा भएका आफ्नो पक्षका नेताकै संयोजकत्वमा कमिटी बनाउने बताउनुभयो । उहाँले अघि भन्नुभयो, ‘हामी अधिकारिक हौं, उनीहरु समानान्तर हुन, गुटबन्दी हुन् ।’
यसरी एकाध महिना काम गर्ने हो भने एमाले पार्टीलाई बचाउन सक्ने र ओलीवाद हार्ने उहाँले बताउनुभयो ।
नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाले १७ बुँदे विशेष प्रस्ताव पास गरेको छ । त्यसको निष्कर्ष पनि २ जेठ २०७५ सम्म कायम भएका पार्टी कमिटी, जनवर्गीय पेशागत कमिटी, केन्द्रीय विभाग र सम्पर्क मञ्च लगायतका सबै कमिटीलाई सक्रिय बनाउनु रहेको भन्दै सचिव योगेश भट्टराईले भन्नुभयो, ‘केपी ओली समूहबाट त्यसमाथि षड्यन्त्र हुँदैछ, हामी त्यो कमिटीको बदलामा बनाइएका कुनै पनि संरचना स्वीकार गर्दैनौं ।’
भेलाले ‘जनताको बहुदलीय जनवादलाई रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने’ नवौं महाधिवेशनको कार्यदिशालाई पक्रिने र देशभर पार्टीका भेला, बैठक, प्रशिक्षण सञ्चालन गर्ने निर्णय समेत गरेको सचिव भट्टराईले जानकारी दिनुभयो ।
नेकपा एमाले माधव कुमार नेपाल र झलनाथ खनाल समूहले आयोजना गरेको भेला सकिएको छ। चैत ४ र ५ गते उक्त समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो। भेलाले गत २८ गते ओलीले गरेको निर्णयको विरोध गर्ने निर्णय गरेको छ।
बिहीबार भेलाको समापनपछि आयोजित पत्रकार सम्मेलनमा भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर राजनीतिक अस्थिरता ल्याएको निष्कर्ष निकालेको हो।
एमाले अध्यक्ष ओलीबाट पार्टी विधानविपरीत भएका काम र गुटबन्दी र राष्ट्रियहितविरूद्ध अग्रसर हुन पनि सो समूहले कार्यकर्तालाई निर्देशन दिएको छ।
पत्रकार सम्मेलनमा नेता विष्णु रिजालले भेलाले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका विधानविपरीतका सबै निर्णय अस्वीकार गर्ने निष्कर्ष निकालेको जानकारी दिनुभयो ।
भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कमिटीका तर्फबाट ९ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत गरेका थिए।





प्रतिक्रिया