दार्चुला । स्वास्थ्य निर्देशनालय राजपूर डोटीले दार्चुलामा किट पठाएसंगै जेठ २८ गतेबाट दार्चुलामा पनी कोरोना परीक्षण सुरु भएको छ ।
जिल्ला सदरमुकाम खंलागास्थित पुलघाट सीमानाकामा २८ गतेबाट कोरोना परीक्षण सुरु भएको सीमानाकामा परीक्षणको लागि खटिएका अहेब प्रतिभा ठगुन्नाले जानकारी दिनुभयो । पुलघाट सीमानाकामा पहिलो दिन हिजो २ जनामा कोरोना परीक्षण गरिएको छ । उहाँका अनुसार परीक्षण गरिएका दुबै जनाको नतिजा भने नेगेटिभ देखिएको छ । पुलघाट सीमानाकामा रहेको हेल्थ डेस्कमा अहेब प्रतिभा ठगुन्ना लगायत ७ जना चिकित्सकहरुले कोरोना परीक्षण गरिरहेका छन् ।
दार्चुलाको पुलघाट सीमानाकाको लागि निर्देशनालयले पहिलो चरणमा २५ वटा किट मात्रै पठाएको छ, भने इपियोडोलोजीयो तथा रोग नियन्त्रण महाशाखा टेकुले केहि दिनमा आवश्यकता अनुसार थप किट पठाउने अहेब ठगुन्नाले बताउनुभयो । अहिले दार्चुलाको पुलघाट सीमानाका भएर दैनिक २०–२५ जना नेपाली स्वदेश फर्किरहेका छन् ।
त्यस्तै भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका चारवटा क्षेत्रमा हेल्थ डेस्कमार्फत शङ्कास्पद बिरामीको ‘एन्टिजेन’ परीक्षणको व्यवस्था गरिएको छ । कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफण्टा, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट सीमानाकामा रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरूले कोरोनाका शङ्कास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षणको कार्य भईरहेको सुदूरपश्चिम प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले जानकारी दिनुभयो ।
हाल जुलाघाटलाई ५५, पुलघाट दार्चुलालाई २५, गड्डाचौकीलाई १०० र गौरिफण्टा हेल्थ डेस्कलाई १५० किट उपलब्ध गराइएका छन्। सीमानाकामा भारतबाट खेतीपातीका लागि फर्कनेहरूको सङ्ख्या बढ्दै गएकाले थप किट आपूर्ति गरिदिनका लागि सम्बन्धित विभागमा पत्राचार गरिएको सूचना अधिकारी जोशीले बताउनुभएको छ ।
जेठ २१ देखि २८ गतेसम्म सुदूरपश्चिमका सीमानाका भएर फर्कने १६ जनाको एन्टिजेनको नतिजा पोजेटिभ देखिएको छ ।





प्रतिक्रिया