दार्चुला । अन्तर्राष्ट्रिय योग दिवस दार्चुलासहित नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ का दिन मनाइन्छ । दार्चुला सदरमुकाम खलंगास्थित अक्सफोर्ड एकेडेमीमा योग दिवस समारोहको आयोजना गरिएको छ । यस्तै मालिकार्जुन र लेकम गाउँपालिकामा पनि योग दिवस मनाइएको छ । सदरमुकामसहित विभिन्न पालिकाहरू, विद्यालय, संघ, संस्थाहरूमा योग दिवस मनाइदैछ ।
शारीरिक र मानसिक स्वास्थ्यका लागि योग महत्त्वपूर्ण छ । सिंगो पृथ्वी र स्वास्थ्यका लागि योग भन्ने नारासहित योग दिवस मनाइदैछ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो ।
नेपालमा २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरुले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए । नेपाल सरकारले २०७२ साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।त्यसपछि नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।





प्रतिक्रिया