दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकालाई ज्ञापनपत्र बुझाउदै महिलाको चरित्रहत्या गर्ने रोजगार संयोजक रबिन्द्र शाहलाई हटाउनुपर्नेदेखी करार कर्मचारीको म्याद थप्नुपर्ने लगायत विभिन्न माग गरिएको छ । नेकपा माओबादी केन्द्र नौगाडका अध्यक्ष धनिराम सिंह ठगुन्नाको नेतृत्वमा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र स्थानीयले विभिन्न माग राख्दै गाउँपालिका अध्यक्ष दलजितसिंह धामीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
साउन १५ गते नौगाड गाउँपालिकाले आयोजना गरेको गत आर्थिक वर्षको सार्वजनिक सुनुवाई कार्यक्रममा सूचना अनुसार उपस्थित भइ मन्तव्य राख्दै माओबादी पालिका कमिटी अध्यक्ष ठगुन्नाले नौगाड गाउँपालिका भित्र कार्यरत केही कर्मचारीहरुले स्थानीय महिलाको चरित्रहत्या गर्ने लगायत क्रियाकलाप गरेको भन्दै आचरण सुधार गर्न र नसुध्रिए पालिका छोड्न चेतावनी दिएका थिए । उक्त विषयलाई लिएर कार्यक्रम सकिएपछि धनिराम ठगुन्नाले बोलेको कुराको बिरोध गर्दै नौगाड गाउँपालिकाका कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत पुष्करसिंह धामीको नेतृत्वमा विज्ञप्ति निकालेर कानूनी कार्वाहीको माग गरेका थिए । उक्त विज्ञप्तीप्रति गम्भीर ध्यानआकर्षण भएको बताउदै विभिन्न राजनीतिक दल र स्थानीयले ज्ञापनपत्र बुझाएका हुन् ।
विज्ञप्तीमार्फत महिलाको चरित्रहत्या गरेको आरोप लागेका रोजगार संयोजक रविन्द्र शाहलाई सेवाबाट हटाउनुपर्ने, मुद्दा खेपिरहेका कर्मचारीको बचाउ गर्न विज्ञप्ति निकाल्ने कर्मचारीहरुले सार्वजनिक रूपमा माफी माग्नुपर्ने, पालिका मित्र रहेको करार कर्मचारीहरुलाई कामकाजमा फर्काउनुपर्ने, नौगाडको ३ नम्बर वडामा रहेको स्वास्थ्य चौकी यथावत् रहनुपर्ने लगायत माग गरिएको छ । यस्तै पालिकाले सार्वजनिक खरिद नियमावली बमोजिम प्रभावकारी खरिद गर्नुपर्ने, सञ्चार माध्यमलाई भएको भुक्तानीको हिसाब सार्वजनिक गर्नुपर्ने, खर्चमा मितव्ययिता अपनाउनुपर्ने र प्रेस–स्वतन्त्रताको कार्यान्वयन गर्नुपर्ने लगायत माग राख्दै ज्ञापनपत्र बुझाइएको हो ।
उल्लिखित मागहरू साउन २० गते सम्म सुनवाई नभएको खण्डमा २१ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिने चेतावनी समेत दिइएको छ । धनिराम सिंह ठगुन्नाको संयोजकत्वमा नौगाड गाउँपालिकाका अध्यक्ष दलजीत सिंह धामी र उपाध्यक्ष जगतसिंह ठगुन्ना लगायत सिङ्गो कार्यपालिकालाई ज्ञापनपत्र बुझाइएको नरेन्द्र ठगुन्नाले बताउनुभयो । उक्त ज्ञापनपत्रको बोधार्थ प्रहरी चौकी होपरीगाड, जिल्ला प्रहरी कार्यालय दार्चुला, जिल्ला प्रशासन कार्यालय दार्चुला, सूचना तथा सञ्चार केन्द्र, सामान्य प्रशासन मन्त्रालय र सरोकार राख्ने सम्पूर्ण निकायहरूलाई समेत गरिएको छ ।




