दार्चुला — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुला जिल्लामा कुल ८५६ जना कर्मचारी खटाइएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचनका लागि खटिने कर्मचारीहरूको अन्तिम सूचीअनुसार जिल्लाका १४५ मतदान केन्द्रमा आवश्यक जनशक्ति परिचालन गरिएको सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थीले जानकारी दिनुभयो।
तीन सयभन्दा बढी मतदाता रहेका मतदान केन्द्रमा ६ जना र तीन सयभन्दा कम मतदाता भएका केन्द्रमा ५ जनाका दरले कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका कम्प्युटर अपरेटर हरिश बडूले बताउनुभयो। जिल्लाका ७ वटा मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता रहेको उहाँले जानकारी दिनुभयो।
निर्वाचनका लागि आवश्यक मतपत्र तथा अन्य सामग्री यसअघि नै जिल्लामा पुगिसकेको छ। हाल मतदान केन्द्रमा मतपत्र रुजू गर्ने र मिलाउने कार्य भइरहेको सहायक निर्वाचन अधिकृत अवस्थीले बताउनुभयो।
निर्वाचनमा खटाइएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि यही फागुन १३ र १४ गते तालिम सञ्चालन गरिने भएको छ। तालिम सम्पन्न भएपछि कर्मचारीलाई सम्बन्धित मतदान केन्द्रमा पठाइनेछ।
जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार जिल्ला निर्वाचन कार्यालयमै तालिमको आयोजना गरिएको छ। तालिममा मतदान प्रक्रिया, कानुनी, व्यावहारिक तथा सैद्धान्तिक पक्षबारे जानकारी दिइनेछ। साथै मतदान अधिकृत र सहायक मतदान अधिकृतको काम, कर्तव्य, अधिकारक्षेत्र तथा मतदान केन्द्र व्यवस्थापनसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिनेछ।
जोशीका अनुसार फागुन १३ गते अपिहिमाल, व्यास, मार्मा, लेकम र नौगाड गाउँपालिकामा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन हुनेछ। त्यस्तै फागुन १४ गते शैल्यशिखर र महाकाली नगरपालिका तथा मालिकार्जुन र दुहुँ गाउँपालिकामा खटिने कर्मचारीका लागि तालिम सञ्चालन गरिनेछ।
एक निर्वाचन क्षेत्र रहेको जिल्लामा विभिन्न राजनीतिक दलका ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। जिल्ला निर्वाचन कार्यालयले निर्वाचन तयारी तीव्र रूपमा अघि बढिरहेको जनाएको छ।





प्रतिक्रिया