दार्चुला । बिहीबार सुदूरपश्चिम प्रदेशमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
कैलालीका ६, कञ्चनपुरका ४, अछाम र बझाङका एक एक जना गरी आज एकै दिन ११ जना संक्रमितको मृत्यु भएको हो।
कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ४५ वर्षीया महिलाको बिहान मृत्यु भएको थियो। संक्रमण पुष्टि भएको १२ घण्टामै उनको बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयो।
यस्तै सेती प्रादेशिक अस्पतालको आइसियूमा उपचाररत कैलाली लम्कीचुहा वडा नम्बर २ का ३३ वर्षीय पुरुष र घोडाघोडी वडा नम्बर १० का ६० वर्षीय पुरुषको पनि आजै मृत्यु भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो।
आजै कैलालीको गोदावरी नगरपालिकाका ८७ बर्षीया महिलाको पनि होम आइसोलेसनमा मृत्यु भएको छ । १५ गते उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो। होम आइसोलेसनमा रहेका बेला उहाँको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो ।
उहाँका अनुसार आजै घोडाघोडी नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय कोरोना संक्रमित युवकको पनि सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ। सूचना अधिकारी जोशीले आजै धनगढी उपमहानगरपालिकाका ४० वर्षीय पुरुषको पनि कोभिड संक्रमणबाट मृत्यु भएको बताउनुभयो। उहाँको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १९ का २१ वर्षीय युवक, महाकाली नगरपालिकाका ३० वर्षीय युवक र भीमदत्त नगरपालिका वडा नम्बर १८ की ३६ वर्षीया एक महिलाको आजै मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ।
अस्पतालका कोरोना सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाका अनुसार भीमदत्त नगरपालिका वडा नम्बर १९ का २१ वर्षीय युवकको कुनै पनि ट्राभल हिस्ट्री नभएको र उहाँमा ब्लड क्यान्सरको समस्या रहेकोमा कोरोना पनि पुष्टि भएको थियो। यस्तै ३० वर्षीय युवकलाई मंगलबार अस्पतालमा उपचारको लागि भर्ना गरिएको उहाँमा कडा खालको निमोनिया देखा परेको थियो। उहाँ हालै भारतबाट आउनुभएको थियो।
यस्तै अछामका एक वृद्धको पनि मृत्यु भएको छ। जिल्लाको बान्नीगढी जयगढी गाउँपालिका वडा नम्बर ५ कालिका बाहुन गाउँका ७७ वर्षीय लोगराज ढुङ्गानाको मृत्यु भएको हो। ढुंगानाको नेपालगंजबाटबाट अछाम ल्याउँदै गर्दा बर्दियामा मृत्यु भएको हो।
त्यस्तै कोरोना भाइरसको संक्रमणबाट बझाङमा पनि एक जनाको मृत्यु भएको छ। जिल्ला अस्पतालमा उपचाररत मष्टा गाउँपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय बझाङका काभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताउाुभयो।
उपचारका लागि बुधबार अस्पताल पुगेका ती पुरुषमा ऐन्टिजेज विधिबाट परीक्षण गर्दा कोरोना पुस्टि भएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि रेफर गर्ने तयारी गर्दै गर्दा ज्यान गएको काभिड सम्पर्क व्यक्ति जोशीले जानकारी दिनुभयो ।





प्रतिक्रिया