दार्चुलाका थप एक कोरोना संक्रमितको मृत्यु

दार्चुला । कोरोना संक्रमणबाट दार्चुलाका थप एक जनाको ज्यान गएको छ ।

कैलालीको सेती प्रादेशिक अस्पतालको  कोरोना अस्थाई अस्पतालमा उपचाररत जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ घर भएका ६६ बर्षिय पुरुषको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

उहाँमा एन्टीजेन विधिबाट परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँको सेती अस्पतालको कोरोना अस्थाई अस्पतालमा सोमबार राती ९ बजेको समयमा मृत्यु भएको बताइएको छ।

यस्तै सोमबार नेपाली सेनामा कार्यरत दार्चुलाको ब्याँस गाउँपालिका घर भएका ४५ वर्षीय सेना नायकको पनि  कोरोना संक्रमणको कारण मुत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

यहि वैशाख १५ गते जिल्ला अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उहाँमा कोरोना पोजेटिभ आएको थियो । अस्पतालकै आइसोलेशनमा रहेका उहाँको स्वास्थ्य अवस्था दिनदिनै बिग्रीदै गएपछि आइतबार दिउँसो रेफर गरिएको थियो ।

केहि दिन पहिले दार्चुलाको मालिकार्जुन घर भइ डडेल्धुरामा कार्यरत एक जना शिक्षकको समेत उपचारको क्रममा धनगढीमा मृत्यु भएको थियो । कोरोनाको दोस्रो लहर फैलिएपछि दार्चुला घर भएका  ३ जना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाभरी हाल ७७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । कोरोना तिब्र रुपमा फैलिन थालेपछि ८ स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै सुदुरपश्चिमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको ज्यान गएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ की ७७ वर्षीया महिला र वडा नम्बर १३ का २२ वर्षीय पुरुषको मृत्यु भएको हो।

महिलाको मंगलबार बिहान साढे २ बजे र पुरुषको सोमबार राति साढे ११ बजेको समय मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताउनुभयो।

महिलाको गत १२ गते पीसीआर रिर्पोट पोजेटीभ आएको थियो भने पुरुषको सोमबार मात्रै सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकोमा एन्टिजेनबाट चेक गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। उनीहरुको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका १२ घर भएका ७१ वर्षीय पुरुषको पनि सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। एन्टिजेनबाट चेक गर्दा रिपोर्ट पोजेटिभ आएकोमा उनको मंगलबार बिहान ३ बजेको समयमा मृत्यु भएको हो।

यस्तै बझाङका २६ वर्षीय पुरुषको पनि गत १४ गते एन्टिजेनबाट चेक गर्दा रिर्पोट पोजेटिभ आएकोमा सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा सोमबार राति साढे १० बजेको समयमा मृत्यु भएको जनाइएको छ। सेतीमै उपचाररत बर्दियाका ३० वर्षीय पुरुषको मृत्यु भएको छ। सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?