दार्चुला । उपप्रधानमन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीच आज टेलिफोन संवाद भएको छ । उपप्रधानमन्त्री पोखरेलले नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिन अमेरिकी राजदूत बेरीसँग आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
नेपालमा कोरोना भाइरसको तीव्र फैलावट रोक्न खोप नै उपपुक्त माध्यम भएकाले त्यसका लागि नेपाल सरकारले अमेरिका सरकारको सहयोग चाहेको उहाँले बताउनुभएको उपप्रधानमन्त्री पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले बताउनुभयो । अमेरिकी खोपको नेपालमा उत्सुकता र तीव्र प्रतिक्षा रहेको सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले भन्नुएको थियो ।
यसैगरी, कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक भेन्टिलेटर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामाग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको उपप्रधानमन्त्री पोखरेलले बताउनुभएको थियो । अमेरिकी राजदूत बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारकोतर्फबाट स्वास्थ्य सामाग्रीहरु सहयोग गरिने जानकारी दिनुभएको थियो ।
के के सहयोग गर्ने बारेमा आगामी आइतबारसम्म टुङ्गो लाग्ने उहाँले बताउनुभएको थियो । ‘खोपका बारेमा मैले पनि पहल गरिरहेको छु, टुङ्गो लाग्नासाथ तपाईंलाई जानकारी गराउँछु’– उपप्रधानमन्त्रीलाई राजदूत बेरीले भन्नुभयो ।
राजदूत बेरीले हप्तामा दुई वटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाइदिन पनि उपप्रधानमन्त्री पोखरेलसँग आग्रह गर्नुभएको थियो । उपप्रधानमन्त्री पोखरेलले सो विषयमा आफूहरुले पनि सोचिरहेको भन्दै सिसिएमसीको बैठकबाट आवश्यक निर्णय गरिने जानकारी दिनुभएको थियो ।
उपप्रधानमन्त्री पोखरेलले यसअघि नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट पाउने कोभ्याक्स अन्तर्गतको खोप सक्दो छिटो नेपाल ल्याउने सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो ।





प्रतिक्रिया