सुदूरपश्चिममा भयावह बन्दै कोरोना, स्थिति नियन्त्रण बाहिर

दार्चुला । सुदूरपश्चिममा कोरोना भाइरसको महामारी भयावह अवस्थामा पुगेको छ । प्रदेशका अस्पतालहरुमा अक्सिजनको हाहाकार भएपछि अस्पतालहरुले बिरामी भर्ना लिन समेत आनाकानी गर्न थालेका छन् ।

प्रदेश सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि गतिलो तयारी नभएकाले यो अवस्था आएको छ । संघीय सरकार, प्रदेश सरकार र पालिकाहरुले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि संयुक्त प्रभावकारी काम गर्नतिर ध्यान नदिँदा अवस्था भयावह बन्दैछ ।

२७० जनाले ज्यान गुमाए
सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई सय ७० पुगेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार हालसम्म दुई सय ७० जनाको कोरोनाका कारण ज्यान गएको छ । पछिल्लो बैशाख महिनामा मात्रै दुई सय १२ जनाको ज्यान गएको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले दैनिक रुपमा जारी गर्दै आएको तथ्यांकमा बैशाख १ गतेभन्दा अघि कोरोनाबाट प्रदेशमा ५८ जनाको ज्यान गएको थियो । बुधबार साँझ जारी तथ्यांकमा १४ जनाको ज्यान गएको उल्लेख गरिएको छ । मंगलबार साँझको तथ्यांकमा अहिलेसम्म दुई सय ५६ जनाको ज्यान गएको विवरण राखिएको थियो ।

बैशाखको अन्तिम हप्ता कोरोनाबाट धेरैले ज्यान गुमाएका छन् । पछिल्लो तीन दिनमा मात्रै कोरोनाबाट ६२ जनाको ज्यान गएको छ । पछिल्लो १२ दिनमा कोरोनाबाट एक सय ८० जनाको ज्यान गएको छ । बैशाख १८ गतेदेखि बैशाख २९ गतेसम्मको अवधिमा कोरोनाबाट प्रदेशमा एक सय ८० जनाको ज्यान गएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयको तथ्यांक अनुसार पछिल्लो तीन दिनमा सबैभन्दा बढी ६२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । बैशाख १८ गते १० जना, १९ गते १२, २० गते १४, २१ गते ८ जना २२ गते ९ जना २३ गते १७ जना २४ गते १३ जना, २५ गते १५ जना २६ गते १८ जना, २७ गते १७ जना, २८ गते ३१ जना र २९ गते १४ जना संक्रमितको ज्यान गएको निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ । बैशाख २७, २८ र २९ गते मात्रै गरेर ६२ जनाको ज्यान गएको छ ।

सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनु परेको डाक्टरहरुको भनाइ छ ।

स्थिति नियन्त्रण बाहिर
प्रदेशमा कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रभावकारी काम नभएकाले अवस्था अझै भयावह हुने अनुमान गरिएको छ । सरकारले अक्सिजन, संक्रमितलाई उपचार गर्न शय्या, भेन्टिलेटर र आईसीयूको संख्या नबढाए मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

संघीय र प्रदेश सरकार तथा स्थानीय पालिकाहरुले गम्भीर रुपमा नलिए ज्यान गुमाउनेको संख्या अझै बढ्ने बताउँदै स्वास्थ्य विभागका पूर्व महानिर्देशक डाक्टर लक्ष्मीराज पाठकले भन्नुभयो, “सीमा क्षेत्रमा होल्डिङ सेन्टर जाँचमा लापरवाही गरिँदा यस्तो अवस्थाको सामना गर्नु परिरहेको छ ।” कोरोना महामारीमा अझै भयावह अवस्था आउन सक्ने जनस्वास्थ्यविद्हरुले अनुमान गरेका हुन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?