दार्चुला । नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि मंगलबारका लागि बोलाइएको सुदूरपश्चिम एमाले संसदीय दलको बैठक आपसी विवादपछि स्थगित भएको थियो।
मंगलबार सुरु नै नभएर स्थगित भएको दलको बैठक बुधबार (आज) बिहान साढे ८ बजे बोलाइएको एमाले संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले बताउनुभयो ।
उहाँले बैठकमा एमालेका सबै सदस्यलाई खबर गरिएको समेत बताउनुभयो । मंगलबारको बैठकमा नेता माधकुमार नेपाल पक्षका सांसदलाई मात्रै खबर खरिएको थियो। बुधबार हुने बैठकमा आफूहरूलाई पनि खबर आएको संस्थापन पक्षका सांसद एवं एमाले कैलालीका अध्यक्ष रतन थापाले बताउनुभयो ।
नेता भीमबहादुर रावलनिकट भएका कारण दलको नेता अहिलेकै सरकारलाई समर्थन दिने मनसायमा रहेको नेपाल समूहकै केही नेताहरू बताउँछन्।
तर, केही नेपाल पक्षकै केही सांसदहरू भने पार्टी केन्द्रको निर्देशन पालना गर्नुपर्नेमा जोड दिइरहेका छन्।
अहिले सुदूरपश्चिम प्रदेशमा माओवादी र एमालेले संयुक्त रुपमा सरकार चलाइरहेका छन् । माओवादीका तर्फबाट मुख्यमन्त्री सहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् भने एमालेको तर्फबाट अहिले ३ मन्त्री सरकारमा छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग वन तथा वातावरण मन्त्री माया भट्ट रहेका छन् । शाहलाई मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक मामिला तथा योजना मन्त्रालयको पनि जिम्मेवारी दिनुभएको छ ।





प्रतिक्रिया