दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले असारे विकास अन्त्य गर्न आर्थिक वर्षको पहिलो चौमासिक देखि नै समयको सदुपयोग गर्नुपर्ने बताउनुभएको छ ।
दार्चुला सदरमुकाम खलंगामा आयोजित जनप्रतिनिधि, कार्यालय प्रमुखहरुसंगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री धामीले पहिलो चौमासिक फुर्सदमा बित्ने र आर्थिक वर्षको अन्त्यमा हतारमा हुने काम दिगो नहुने परिपाटी रहेकोले पहिलो चौमासिक देखि नै विकासे कामहरुको प्रकृया थालनी गर्नेपर्ने धारणा राख्नुभयो । स्थानीय, प्रदेश र संघीय सरकारले आपसी सहकार्य गर्दै पारदर्शी ढंगले काम गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ ।
आइतबार गृह जिल्ला दार्चुला आइपुग्नुभएका मन्त्री धामीले सोमबार (आज) दिउँसो जिल्लास्थित कार्यालय प्रमुख र सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्नुभएको थियो । महाकाली नगरपालिकामा सदरमुकाममा उपलब्ध जनप्रतिनिधिहरुसंग भेटघाट गर्नुका साथै जिल्लाको विकास निर्माणका सवालमा छलफल समेत गरिएको मन्त्री धामीको सचिवालयले जनाएको छ ।
दार्चुला बसाईको क्रममा नौगाडका बाढी पिडितहरुसंग भेटघाट तथा राहात वितरण गर्ने, विभिन्न स्थानीय तहमा नागरिक भेटघाट, स्थानीय तहका जनप्रतिनिधी तथा कर्मचारीसंग भेटघाट गर्ने र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत जिल्लामा सञ्चालन भएका योजनाहरुको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया