दार्चुला । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ८ को ठेउला प्रभावित क्षेत्रमा विश्व स्वास्थ्य संगठनको टोलीले स्थलगत निरीक्षण गरेको छ ।
वडा नम्बर ८ को केही ठाउँमा ठेउला संक्रमण भएपछि विश्व स्वास्थ्य संगठनको टोली पुगेर स्थलगत निरीक्षण गरेको हो । टोलीले आज संक्रमित व्यक्तिहरुको स्वाब संकलन गर्नुका साथै रगतको नमूना समेत संकलन गरेको शिखरपुर स्वास्थ्यचौकीका प्रमुख बिरबहादुर बोहराले जानकारी दिनुभयो । ठेउला संक्रमित व्यक्तिमध्ये ९ जनाको घाँटीको स्वाब संकलन गरिएको छ भने ६ जनाको रगतको नमूना संकलन गरिएको उहाँले बताउनुभयो ।
उक्त स्वाब र रगतको नमूना परीक्षणपछि ठेउला नै हो कि अन्य रोग पनि हो भन्ने कुरा पत्ता लाग्ने बोहराले बताउनुभयो ।उक्त क्षेत्रका बालबालिका तथा अन्य नागरिकहरु ठेउला संक्रमणबाट प्रभावित भएपछि केदार मावि कठमडा बन्द गरिएको छ । विद्यालयमा अध्ययनरत बालबालिकाहरु ठेउलाबाट प्रभावित भएपछि विद्यालय बन्द गरिएको हो ।
गएको १५ दिनयता सुर्नयाको वडा नम्बर ८ का केही ठाउँमा ठेउलाको संक्रमण देखिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताउनुभयो । यस्तै ठेउला प्रभावित क्षेत्रमा सतर्कता अपनाउन गाउँपालिकाले सबैमा आग्रह समेत गरेको छ । संक्रमित व्यक्तिलाई आइसोलेसनमा बस्नका लागि आग्रह गरिएको छ भने व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिन आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताउनुभयो ।
संक्रमित व्यक्तिहरुको शरीरमा बिमिरा आउने, ज्वरो आउने, खोकी लाग्ने लगायतका लक्षणहरु देखा परेका शिखरपुर स्वास्थ्यचौकीका प्रमुख बोहराले बताए । बिरामीहरुमा ठेउलाको लक्षण देखिएकाले सोही अनुसार उपचार र परामर्श सेवा सञ्चालन भइरहेको उहाँले बताउनुभयो





प्रतिक्रिया