दार्चुला । दार्चुलाको विकट व्यासका बासिन्दालाई आफ्नै भूमि हुँदै सदरमुकाम आउजाउ गर्न समस्या भइरहेका बेला लुकीछिपी तुइनमार्फत महाकाली तरेर भारतीय बाटो प्रयोग गर्ने विकल्प पनि बन्द भएको छ । भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानले तुइन फुस्काइदिँदा व्यासका युवक जयसिंह धामी बेपत्ता भएको घटनापछि भारतले महाकाली नदी पार गर्ने त्यस क्षेत्रका सबै तुइन बन्द गरेको हो ।
तुइन बन्द गरिएपछि नेपालतिरको घुमाउरो र बाढीपहिरोले क्षतिग्रस्त बाटो प्रयोग गर्नुपरेको व्यास–२ राप्लाका राकेश बुढाथोकीले बताउनुभयो । नेपालतर्फको पैदल बाटो तोसरपानीदेखि सदरमुकाम पुगुन्जेलसम्म बाढीपहिरोले भत्काएको छ,’ उहाँले भन्नुभयो, ‘रित्तै जान पनि मुस्किल पर्छ । भारी बोकेर हिँड्न असम्भवजस्तै छ ।’
सधैं तुइन भएरै सदरमुकाम आउने व्यास–३ सिनाका रमेश कुँवरले यसपालि नेपालकै समस्याग्रस्त बाटोबाट पिठ्युँमा बोकेर सामान लैजानुपरेको बताए । उहाँले भन्नुभयो, ‘जयसिंह घटनाले तुइन बन्द भइसक्यो । लुकीछिपी भए पनि तुइन तरेरै सदरमुकाम तथा बजारसम्म आउने, जाने गरेका थियौं । अहिले त सुन्सेरा, डोकट, नाजी, धौलाकोट, तिग्रम हुँदै झोलुंगे पुलबाट भारत जानुपरेको छ ।’
उहाँका अनुसार व्यास–५ तिग्रममा नेपाल–भारत जोड्ने झोलुंगे पुल छ । यो पुलबाट व्यासको ५ र ६ वडाका बासिन्दालाई पायक पर्छ । धौलाकोटको आधा बस्ती, तिग्रम, चन्दाकोट हुतीलगायतका स्थानीय तिग्रम पुल प्रयोग गर्छन् । माथिल्लो व्यासका धेरैजसो बासिन्दा तुइन तरेर सदरमुकाम आउजाउ गर्छन् । व्यास गाउँपालिकाका अन्य स्थानीय बासिन्दा पनि तुइनकै सहायताले महाकाली पार गरी भारतीय क्षेत्र हुँदै जिल्ला सदरमुकाम आवतजावत गर्ने गरेको कुँवरले बताउनुभयो ।
साउन १५ मा व्यास–२ मालघाटस्थित नेपाल–भारत आवतजावत गर्न बनाइएको तुइनमा स्थानीय जयसिंह धामी तर्दातर्दै भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानले तुइन फुकालेर धामी बेपत्ता भएपछि महाकालीमा फेरि तुइन राखिएको छैन । स्थानीयले एकछिनको जोखिम मोलेर सदरमुकाम तथा बजार आवतजावतमा सहजताका लागि राखिने तुइन नभएपछि समस्या थपिएको माल गाउँका स्थानीय धरम कार्कीले बताउनुभयो । ‘नेपालको बाटो भएर सदरमुकाम आउन साह्रै समस्या छ,’ ठाउँ–ठाउँमा पहिरो खसेर बाटो भत्केको छ,’ उहाँले भन्नुभयो, ‘पहिरो खसेको खस्यै छ । गाउँबाट सदरमुकाम पुग्नै एक दिनभन्दा बढी समय लाग्छ, ।’
व्यासवासीले पश्चिम दिशामा आवागमन गर्न महाकाली नदीमा राखिएका आधा दर्जन तुइन एसएसबीले काटिदिएको छ । अब तिग्रमको झोलुंगे पुलबाट मात्रै आवतजावत गर्न सकिन्छ । मालदेखि हुतीसम्मका नागरिकले तिग्रमको पुल प्रयोग गर्दै अन्य स्थानसम्म पुग्नुपर्ने अवस्था छ । व्यास–२ का दुम्लिङ माल, राप्लालगायत ठाउँका बासिन्दा तिग्रम पुल पुग्न ८र१० घण्टा लाग्ने बताउँछन् । स्थानीयले तुइन घटनामा जयसिंह बेपत्ता हुनुमा प्रमुख दोषी एसएसबीलाई ठहर गरेपछि भारतले सीमा क्षेत्रमा सुरक्षा निगरानी केही दिनयता बढाएको छ । घटना हुनुअघिसम्म एसएसबीले माथिल्लोस्तरको कुनै सुरक्षाकर्मी सीमामा निरीक्षणका लागि आएको अवस्थामा मात्र गस्ती बढाउने गरेका थिए । अन्य समयमा एकरदुई पटक गस्तीमा देखिने र उनीहरू नभएको मौका छोपी तुइन जोडेर नेपालतर्फबाट सीमा वारपार गर्थे व्यासवासी ।
व्यासका २, ३ र ४ वडाका स्थानीयलाई नुन–तेल, चिनी, लत्ताकपडादेखि दैनिक उपभोग्य खाद्य सामग्रीका लागि महाकाली तरेर भारतीय बजार जानैपर्ने बाध्यता छ । तुइनको प्रयोग गरेर एकै दिनमा सहजै बजार गएर घर फर्कन सकिने हुँदा यहाँका स्थानीय लामो समयका लागि खाद्यान्न जोहो गर्दैनन् । यहाँका स्थानीय खाद्यान्न किन्न भारतीय सीमा बजार पाङ्गा, गस्कु र धारचुलासम्म जान्छन् । तुइनहरू बन्द हुँदा खाद्यान्न ल्याउनलाई समस्या भएको कार्कीले बताउनुभयो ।
व्यास जोड्ने मुख्य मार्ग दार्चुला–टिंकर सडक सुन्सेरासम्म ट्र्याक खोलिएको छ । अहिले वर्षातको समयमा सडकको ट्र्याक खोलिए पनि यातायातका साधन बन्द छन् । दार्चुला–टिंकर सडक पनि अलपत्र छ । १२ वर्षअघि शिलान्यास भएको सडकको ४० किलोमिटर ट्र्याक पनि पूरा हुन सकेको छैन । महाकाली नदीमाथि झोलुंगे पुल शिलान्यास भएको ३ वर्षसम्म पनि निर्माण सम्पन्न भएको छैन । –कान्तिपुरबाट
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




