दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकालीमा बेपत्ता भएको एक महिना पुग्न लाग्दा समेत छानबिन समितिले प्रतिवेदन नबुझाएपछि सरकारले भारतको दबाबमा पैसा दिएर यो विषय ढाकछोप गर्न खोजेको परिवारले आशंका गरेको छ । वैदेशिक रोजगारीमा जान काठमाडौँ हिँडेका जयसिंह धामी भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुकालिदिदा महाकालीमा खस्नुभएको थियो । लगत्तै परिवार, स्थानीय र सुरक्षाकर्मीहरु जयसिंहको खोजीमा जुटे पनि २८ दिनसम्म कुनै अत्तोपत्तो लागेको छैन् । जयसिंहको महाकालीमै मृत्यु भइसकेको भन्दै परिवारले कुशको शव बनाएर तेस्रो दिन जयसिंहको अन्त्यष्टि गरिसकेका छन् ।

भारतीय एसएसबीको यो ज्यादतीले सबैको ध्यान खिच्यो र जयसिंहको न्यायको लागि सडकदेखि संसदसम्म आवाज उठ्यो। साउन १७ गते गृहमन्त्री बालकृष्ण खाणले सहसचिव जनार्दन शर्माको संयोजकत्वमा छानबिन समिति बताउनुभयो । छानबिन टोलीले १० दिनका लागि समय पाएपनि २६ दिनसम्म प्रतिवेदन बुझाउन सकेन । पटक पटक म्याद थप गरेर प्रतिवेदन बुझाउने प्रक्रियालाई अलमल्याउन थालेको जनमानसमा आशंका बढ्न थालेको छ । छानबिन समितिको प्रतिवेदन बुझाएपछि सरकारले आवश्यक निर्णय लिने गृहमन्त्री खाणले बचन दिएपनि समितिका दुई सदस्य बिदामा रहेकाले प्रतिवेदन लेखनमा ढिलाइ भएको बताइएको छ। छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरेर जयसिंहलाई न्याय गर्नुको सट्टा सरकारले पीडित परिवारलाई आर्थिक सहयोग दिने विषयलाई प्राथमिकता दिएको छ।

बिहीवार सरकारले जयसिंहको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो। छानबिन समितिको प्रतिवेदन आउनुअगाडि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेर सरकारले घटना ढाकछोप गर्न खाजेको आशंका परिवार तथा आफन्तहरुलाई छ। प्रतिवेदन सार्वजनिक गर्न छाडेर प्रतिवेदन आउनुअगाडि नै पैसा दिएर सरकारले घटना मत्थर पार्न खाजेको देखिन्छ,’ जयसिहका एक जना आफन्तले भन्नुभयो, हाम्रो सरकारलाई भारत सरकारले दबाब दिइरहेको छ। त्यसैले यतिका दिनसम्म पनि प्रतिवेदन आएन। घटनाको सत्य, तथ्य छानबिन गरेर दोषीमाथि कारबाही गरे पछि मात्रै राहत दिन उचित हुने उहाँको भनाइ छ।

तत्काल छानबिन प्रतिवेदन सार्वजनिक गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने जयसिंहको परिवारको माग छ। आर्थिक सहयोगभन्दा पनि जयसिंहलाई न्याय दिएर सरकारले छोराछोरीको शिक्षा, लालनपालन र स्वास्थ्यको ग्यारेन्टी गर्नु पर्ने जयसिंहका भाइ नरेन्द्रसिंह धामीले बताउनुभयो । गरिब परिवारका जयसिंह महाकालीमा बेपत्ता भएपछि उहाँको परिवार बिचल्लीमा परेको छ।

सम्बन्धित खबर : राहात दिएर तुइन घटना थामथुम पार्ने सरकारको प्रयास

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?