दार्चुला । विगत २७ वर्षदेखि बन्द रहेको दार्चुलाको गोकुलेश्वर विमानस्थल निर्माणको काम सुचारु भएको छ । के.एस. कन्सट्रक्सन प्रा.ली. धनगढीले विमानस्थल निर्माणको काम शुरु गरेको हो । अहिले विमानस्थलमा माटो भर्ने (फिलिङ र ग्याबीन) को काम गर्ने गरी के.एस. कन्सट्रक्सनसंग सम्झौता भएको छ । एक बर्षमा फिलिङ र ग्याबीनको काम सम्पन्न गर्नेगरी तीन करोड ५८ लाख बजेटमा सम्झौता भएको कम्पनीका साइट इन्चार्ज राजेन्द्र ऐरले जानकारी दिनुभयो । अहिले विमानस्थलमा उम्रिएको घास उखेल्ने कामका लागि स्काइभेटर मेसिन प्रयोग गरेका छौँ, ऐरले भन्नुभयो, तिहारलगत्तै फिलिङ र ग्याबीनको काम थाल्ने तयारी छ ।
विमानस्थलमा स्काइभेटर प्रयोग गरेर घाँस उखेल्ने काम भएसंगै स्थानीयमा विमानस्थल सञ्चालन हुने आशा पलाएको बताएका छन् । विमानस्थल सञ्चालनका लागि दार्चुलाबाट निर्वाचित सासंद एबं पूर्व मन्त्री गणेशसिंह ठगुन्नाको पहलमा अर्थ मन्त्रालयबाट गत आर्थिक बर्षमा बजेटको सुनिश्चितता भएर ठेक्का प्रकृया अगाडी बढेको थियो । गत वर्ष डिपीआर तयार गरी स्वीकृत भइ सकेको उक्त विमानस्थल सञ्चालनका लागि वहुवर्षे ठेक्कामार्फत काम शुरु भएको हो । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा रहेको विमानस्थल सञ्चालनमा आए दार्चुलाका साथै बैतडी र बझाङ जिल्लाका नागरिकहरुले समेत सेवा पाउने छन् । विमानस्थलले जिल्लाको समृद्धिमा महत्तपुर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको शैल्यशिखरका स्थानीय नवराज बिष्टको भनाई छ । विमानस्थल निर्माणको काम शुरु भएपछि निकै खुसी लागेको बताउदै छिटो काम सकेर विमानस्थल सञ्चालनमा ल्याउन माग गर्नुभयो ।
सुदूरपश्चिमका विभिन्न जिल्लामा गोकुलेश्वरसंगै बन्द भएका विमानस्थल सञ्चालनमा आइसकेको भएपनि गोकुलेश्वर विमानस्थल निर्माणमा ढिलाइ भइरहेको छ । ढिलैभएपनि विमानस्थल निर्माणको काम थालेकोमा निकै खुसी लागेको विमानस्थलमा कार्यरत कार्यालय सहयोगी रामदत्त बिष्टले बताउनुभयो । तत्कालीन बोहरीगाउँको देवथलीमा प्रस्ताव गरिएको विमानस्थल निर्माण गर्न स्थानीयवासीले स्वीकृति नदिएपछि चमेलिया नदी किनारमा रहेको गोकुलेश्वरमा बिसं. २०४४÷०४५ तिर विमानस्थल निर्माणको काम शुरु भएको थियो । २०४६ सालदेखि सञ्चालनमा आएको गोकुलेश्वर विमानस्थल २०५० साल मंसीर २२ गते देखि पूर्णरूपमा बन्द भएको भएको कार्यालय सहयोगी बिष्टले बताउनुभयो । २०६० देखि कार्यालय सहयोगीका भरमा छाडिएको विमानस्थल अहिले जीर्ण छ । यो विमानस्थल गाई, भँैसी चरन तथा खेलमैदानका रूपमा प्रयोग हुँदै आएको छ । गोकुलेश्वर विमानस्थल सञ्चालन गर्न सके दार्चुला, बैतडी र बझाङका नागरिक लाभान्वित हुनेछन् । पर्यटन विकास, जनजीविका, व्यापारव्यवसाय र यस क्षेत्रको विकासका लागि यो विमानस्थल निर्माण गर्नु जरुरी रहेको स्थानीय प्रेम जोशीले बताउनुभयो ।
जिल्लामा हवाइ सेवा नहुदा समयमै अस्पताल पुग्न नपाएर बिरामीहरुले अकालमै ज्यान गुमाइरहेका छन् । कार्यालय प्रमुख र अधिकारीहरु तथा पर्यटकहरु समेत यातायातको सहज व्यवस्था नहुदा दार्चुला कमै मात्र पुग्ने गरेका छन् । विमानस्थल सञ्चालन नहुँदा पर्यटकीय र व्यापारिक सम्भावना बोकेको दार्चुलाको पर्यटन प्रवद्र्धन हुनसकेको छैन । प्रदेश राजधानीबाट झण्डै ३५० किलोमिटर सडकमार्गबाट पुगिने दार्चुला सदरमुकामसम्म पुग्न कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ ।
दार्चुला जडीबुडी, पर्यटन र उद्योगको लागि उपयुक्त छ । यी सबै कुरा जोड्नका लागि सडक यातायात र हवाई यातायातको पूर्वाधार आवश्यक छ, सासंद गणेशसिंह ठगुन्नाले भन्नुभयो, यस क्षेत्रको विकासका लागि विमानस्थल सञ्चालन संगै महाकाली करिडोरअन्तर्गत दार्चुलामा निर्माणाधीन दार्चुला–तिकंर सडक, गोकुलेश्वर–विटुले–पारिबगर–खण्डेश्वरी, गोकुलेश्वर–खार–खलंगा सडक लगायतका सडक र अन्य पुर्वाधारलाई प्राथमिकतामा राखेर निर्माण कार्य अगाढी बढ्नु जरुरी छ । दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्र र मालिकार्जुन धाम सरकारले घोषणा गरेको सय पर्यटकीय गन्तव्यको सूचीमा छ । अपि नाम्पा संरक्षण क्षेत्रभित्र अपि हिमाल, नाम्पा हिमाल, कापु, जेठबहुरानीलगायत उच्च हिमशृङ्खला छन् । यार्सागुम्बालगायत ७५ प्रकारका जडीबुटी र २२ प्रकारका वन्यजन्तु यही क्षेत्रमा छन् ।



विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




