दार्चुला । नेकपा (एमाले) दार्चुलाको स्थानीय तह निर्वाचन २०७९ पश्चातको पहिलो समिक्षा बैठक जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको छ । जिल्ला पार्टी कमिटी अध्यक्ष प्रेमसिंह धामीको अध्यक्षतामा आयोजित बैठकमा नेकपा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य, सुदूरपश्चिम सहइन्चार्ज एबं जिल्ला इन्चार्ज गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो । जिल्लाका प्रमुख नेताहरु, जिल्ला कमिटी पदाधिकारी र सदस्य, स्थानीय तहमा निर्वाचित प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडाअध्यक्षहरुको सहभागिता रहेको बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा गरिएको छ ।
दार्चुलाका स्थानीय तहमा नेकपा एमालेकोतर्फबाट निर्वाचितहरुलाई दोसल्ला ओढाएर बधाई तथा शुभकामना ज्ञापन गरिएको नेकपा एमाले दार्चुलाका उपसचिव एबं प्रचार विभाग प्रमुख खडक वडालले जानकारी दिनुभयो । बैठकले स्थानीय तह निर्वाचनमा देखा परेका समस्या समाधान गर्न तीन सदस्यिय कार्यदल गठन गरेको छ । एमाले प्रदेश कमिटी सदस्य ज्ञानेन्द्र घर्तीको संयोजकत्वमा गठित स्थानीय तह समस्या समाधान कार्यदलमा एमाले दार्चुलाका उपाध्यक्ष चरनसिंह बुढाथोकी र उपसचिव खडक वडाल सदस्य रहनुभएको छ ।
यस्तै नेकपा एमालेको तर्फबाट स्थानीय तह निर्वाचनका लागि जारी गरिएका घोषणापत्र कार्यान्वयनका लागि एमाले दार्चुलाका अध्यक्ष प्रेमसिंह धामीको संयोजकत्वमा घोषणापत्र कार्यान्वयन कार्यदल गठन गरिएको छ ।
स्थानीय तह निर्वाचनमा नेकपा एमालेले दार्चुलाका नौँ स्थानीय तहमध्ये दुई नगरपालिकासहित पाँच स्थानीय तह प्रमुख/अध्यक्षमा विजय हासिल गरेको छ । तीन स्थानीय तह उपप्रमुख/उपाध्यक्ष जितेको एमालेले ६१ वडामध्ये सबैभन्दा बढी ३४ वडामा विजय हासिल गरेको छ ।
२०७४ सालको स्थानीय निर्वाचनमा दोस्रो शक्तिका रुपमा रहेको एमाले २०७९ को निर्वाचनमा भने सत्तारुढ कांग्रेश र माओबादीको गठबन्धनलाई पछार्दै पहिलो शक्तिका रुपमा उदाएको छ । माओबादीले चार गाउँपालिका अध्यक्ष जितेपनि नेपाली कांग्रेशले सबै स्थानीय तहको नेतृत्वमा पराजय व्यहोरेको छ । २०७४ सालमा कांग्रेशले जित हासिल गरेका पाँचवटै स्थानीय तहमा अहिले एमाले विजय भएको छ ।



विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




