दार्चुला । भूमि समस्या समाधान आयोग दार्चुलाले फेरी काम थालेको छ । लामो समयदेखि रोकिएका प्रक्रिया अगाडि बढाइ नागरिकलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने उद्देश्यले समितिले काम थालेको भूमि आयोग दार्चुलाका सदस्य नारायणदत्त भट्टले बताउनुभयो ।
भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष लाल सिंह धामीको अध्यक्षतामा बसेको बैठकले काम सम्पन्न गर्न बाँकी रहेका नौगाड गाउँपालिका र महाकाली नगरपालिकामा रहेका भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको काम कार्वाही पुनः सुचारु गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । हालसम्म भएका प्रगतिको समीक्षा गर्दै अव्यवस्थित बसोबासीको पहिचान, नापजाँच र आवश्यक प्रक्रिया तीव्र बनाउने विषयमा छलफल गरिएको बताइएको छ ।
हालसम्म दार्चुलामा ७० जना अव्यवस्थित बसोबासीलाई रातो पुर्जा वितरण गरिएको छ। हालसम्म दार्चुलाको शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ मा ५२ जना र दुहुँ गाउँपालिकामा १८ जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा (रातो पुर्जा) वितरण गरिएको अध्यक्ष धामीले बताउनुभयो।
आगामी दिनमा जिल्लाका बाँकी स्थानीय तहमा पनि प्रक्रिया छिटो सम्पन्न गर्न काम थालिएको उहाँको भनाइ छ। जिल्लाका विभिन्न पालिकाबाट भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी प्रमाणपूर्जाका लागि आवेदन दिएको भएपनि अधिकाशंको काम बाँकी रहेको बताइएको छ ।





प्रतिक्रिया