दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिकामा आ.ब. २०७८/०७९ मा सञ्चालित बाख्रा पालन अनुदान योजनासम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७८/७९ मा नागार्जुन दानेश्वर आधुनिक बाख्रा फर्म निर्माण गर्दा सम्झौता बमोजिम नगरेको तथा वोयर जातका बोका, बाख्रा खरिद गरी वितरण गरेको भनी झुट्टा बिल भरपाईका आधारमा भुक्तानी दिइ लिइ भ्रष्टाचार गरेको आरोप लागेको छ । उहाँका अनुसार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट र तत्कालीन लेखापाल घनश्याम जोशीविरुद्ध २३ लाख ७५ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। आयोगका अनुसार नगरपालिकाको कार्यपालिकाका तत्कालीन इन्जिनियर राजेन्द्र सिंह धामी, तत्कालीन सब–इन्जिनियर मदन विष्ट र तत्कालीन ना.प्रा.स. अम्बिका विष्टविरुद्ध ११ लाख २७ हजार ९१५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । यसैगरी, शैल्यशिखर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय वडा नम्बर ९ स्थित नागार्जुन दानेश्वर आधुनिक बाख्रा पालन उपभोक्ता समितिका अध्यक्ष रुपेश विष्ट, सचिव रुपेश विष्ट, सचिव प्रकाश विष्ट र कोषाध्यक्ष पुजा विष्टविरुद्ध २३ लाख ७५ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
यो विषयमा शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टले भन्नुभयो, “कागजात र प्रकृया पुगे/नपुगेको आधारमा भुक्तानी/आगामी चरणमा जानुपर्ने हुन्छ। प्रकृयागत त्रुटि नभएकै कारण तथा बिल भएकै कारणले यसलाई पनि आगामी चरणमा लग्न मनासिव देखि प्रकृया अगाडि बढाइएको हो, यसअघि कुनै कारोबार नभएको भक्तपुरको फर्मको बिल सक्कली वा नक्कली भनेर नाङ्गो आँखाले पहिचान गर्न सक्ने अवस्था रहेन। प्रक्रियागत हुँदा यो परिस्थिति सिर्जना भयो। सम्मानित अदालतमा यसको प्रतिवाद गरेर सफाइ पाउनेमा विश्वास छ।”
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरुविरुद्ध सार्वजनिक संस्थाको सम्पत्ति बदनियत गरी हिनामिना, हानि नोक्सानी एवम् दुरुपयोग गरे गराएको आरोपमा बिगो असुल हुन मागदाबी लिइ आइतबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ। आफुले आर्थिक लेनदेन वा भ्रष्टाचार नगरेकोले अदालतमा प्रक्रियागत वास्तविक जानकारी गराएर सफाइ पाउने विश्वास रहेको प्रमुख प्रशासकीय अधिकृत बिष्टको भनाइ छ।





प्रतिक्रिया