मार्माका दुई वडामा सञ्चालन भएको एकीकृत घुम्ती शिविरबाट ९८४ जनाले  सेवा लिए

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा सञ्चालन भएको पहिलो चरणको एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । गाउँपालिकाका सबै वडाहरुमा तीन चरणमा शिविर सञ्चालन गर्ने तयारी अनुसार पहिलो चरणमा वडा नम्बर ५ र ६ मा शिविर सम्पन्न भएको हो ।

गाउँपालिकाको चालू आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अनुसार “अध्यक्षसँग नागरिक स्वास्थ्य परीक्षण” कार्यक्रम अन्तर्गत पहिलो चरणमा वडा नम्बर ५ र ६ मा सञ्चालन भएको शिविरबाट ९ सय ८४ जनाले विभिन्न सेवाहरु लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चक्र सिंह धामीले जानकारी दिनुभयो ।

शुक्रबार र शनिबार गाउँपालिकाको वडा नम्बर ६ मा शिविर सञ्चालन भएको थियो भने आइतबार आज वडा नम्बर ५ मा शिविर सञ्चालन भएको उहाँले बताउनुभयो । जस अनुसार शुक्रबार वडा नम्बर ६ को शेरी स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरबाट १ सय १४ जनाले स्वास्थ्य परिक्षण तथा उपचार सेवा लिएका थिए भने १३ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको थियो ।

त्यस्तै ४० जनाले ल्याव सेवा, ८१ जनाले पशु शाखाबाट प्रदान हुने सेवा र १ सय २० जनाले कृषि शाखाबाट प्रदान गरिने सेवा शिविरको माध्यमबाट लिएको उहाँले बताउनुभयो । शनिबार वडा नम्बर ६ कै शिराडभूमी आधारभूत विद्यालय छिपानमा सञ्चालन भएको शिविरबाट ६५ जनाले स्वास्थ्य परीक्षण तथा सामान्य उपचार सेवा, ३५ जनाले ल्याव सेवा, ५ जनाले पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा लिएका छन् भने ४२ जनाले पशुसेवा र ६० जनाले कृषि शाखाबाट प्रदान गरिने सेवा लिएका थिए ।

यसरी वडा नम्बर ६ मा दुई दिन सञ्चालन भएको घुम्ती शिविरबाट ५ सय ७५ जनाले गाउँपालिकाको स्वास्थ्य, कृषि र पशु शाखाबाट उपलब्ध सेवाहरु एकै ठाउँबाट लिएको स्वास्थ्य शाखा प्रमुख धामीले जानकारी दिनुभयो । त्यस्तै आज वडा नम्बर ५ को सल्लेधार माध्यमिक विद्यालय मुरैमा सञ्चालन भएको शविरबाट १ सय १ जनाले स्वास्थ्य परीक्षण तथा उपचार, ७३ जनाले ल्याव, २६ जनाले पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा लिएको स्वास्थ्य शाखा प्रमुख धामीले बताउनुभयो । त्यस्तै ८२ जनाले पशुसेवा र १ सय २७ जनाले कृषि शाखाबाट सेवा लिएका छन् ।

शिविरमा स्वास्थ्य शाखाबाट नसर्ने रोगहरु अन्तर्गत मधुमेह (डायबेटिज), उच्च रक्तचाप, दम, अनिद्रा, मुटुरोगलगायतका विभिन्न स्वास्थ्य समस्याको चिकित्सकबाट परीक्षण तथा उपचार सेवा र महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको जाँच सेवा प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख धामीले बताउनुभयो । त्यस्तै पशु सेवा शाखाबाट पशु स्वास्थ्यसम्बन्धी परामर्श तथा औषधि वितरण र कृषि शाखाबाट कृषि प्रसार सेवा तथा बीउ–बिजन वितरण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?