कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना होला कि नहोला ?

दार्चुला । २०७८ जेठ २५ देखि असार ८ गते सम्म नेपालमा राष्ट्रिय जनगणना हुँदैछ । हरेक १० वर्षमाहुने जनगणनालाई राष्ट्रिय पर्व जस्तै मानिन्छ । यतिबेला राष्ट्रिय जनगणनाको तयारीमा जुटेको छ, राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्यांक विभाग ।

काठमाडौंमा पाँच स्थानमा र देशका आधा दर्जन जिल्लामा दुई-दुई स्थान र अन्य जिल्लामा एक-क वटा गरी जम्मा ८७ स्थानमा जिल्ला जनगणना कर्यालय स्थापना भइसकेका छन् ।

२०७८ वैशाख १ बाट ३ सय ४९ स्थानीय तहमा स्थानीय जनगणना कार्यालय स्थापना हुनेछन् । यी कार्यालयमार्फत राष्ट्रिय जनगणना हुनेछ ।

जनगणनाको तयारीका बीच यसपटक आम चासो नेपाल र भारतबीचको विवादित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरातर्फ छ । यो भूमिमा जनगणना के हुन्छ त ? यो प्रश्नमा स्वयमः विभागका अधिकारीहरू अन्योलमा छन् ।

भारतको कब्जामा रहेको यो नेपाली भूमिमा अन्तिमपटक २०१८ सालमा जनगणना भएको बताइन्छ । तर, त्यसको आधिकारिक तथ्यांक अध्यावधि भने छैन ।

त्यसयता भारतकै कब्जामा रहेको यो भूमिलाई समेटेर गत वर्ष सरकारले नयाँ नक्सा सार्वजनिक गरिसकेको छ । त्यसो भए यो भूमिमा जनगणना के हुन्छ त ?

यो प्रश्नमा स्वयमः विभागका अधिकारीहरू अन्योलमा छन् । केन्द्रीय तथ्यांक विभागमा जनगणना अभियानको नेतृत्व गरिरहेका निर्देशक ढुण्डीराज लामिछाने यो विषय अहिले पनि छलफलकै क्रममा रहेको बताउनुहुन्छ ।

‘हामीले सरकारको आदेश मान्ने हो, विभिन्न फोरममा छलफल चलिरहेको छ’, उहाँले भन्नुभयो, ‘के हुन्छ, हाम्रो स्तरबाट भन्नसक्ने अवस्था छैन ।’ यद्दपि नेपालको भूमि भएका कारण त्यो क्षेत्रलाई जनगणनामा समेट्नुपर्छ भन्ने सैद्धान्तिक विषयमा भने कुनै विवाद नहुने उहाँ बताउनुहुन्छ ।

तर, व्यवहारिक रूपमा यो क्षेत्रमा पहुँच स्थापित गरी जनगणना कसरी गर्ने भन्ने विषयको टुंगो भने नेपाल सरकारबाटै लगाउनुपर्ने अपेक्षा विभागका अधिकारीको छ ।

विकल्प अनेक

भारतीय सेनाको कब्जामा रहेको र भारतले समेत आफ्नो भनेर दाबी गरिरहेको यो भूमिमा नेपाली कर्मचारी घरघरमै पुगेर जनगणना गर्न सम्भव हुने नहुने अन्यौलमा केन्द्रीय तथ्यांक विभागका उच्च अधिकारी छन् । यसअवस्थामा जनगणनाका अनेक उपाय अपनाएर जनसंख्याको आकंलन भने गर्न सकिने अधिकारीहरुको भनाइ छ ।

पाकिस्तानमा स्याटलाइट विधिबाट कतिपय समस्याग्रस्त क्षेत्रको जनसंख्याको अनुमान गरिएको भन्दै एक अधिकारीले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत जनगणनामा समेट्न सकिने बताउनुभयो ।

जनगणनाका हुने मूख्य दिन नजिकिए पनि अहिलेसम्म विकल्प नदिइएका कारण भौतिक उपस्थितिमै कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना हुनसक्ने सम्भव हुनेमा भने उहाँले पनि आशंका व्यक्त गर्नुभयो । भारतीय सेनाले कब्जा गरेको यो क्षेत्रमा नेपाली सुरक्षाकर्मी समेत जान सक्दैनन् ।

दार्चुलामा तयारी कहाँ पुग्यो ?

दार्चुलामा दुई चरणमा जनगणना गर्ने तयारी भइरहेको छ । पहिलो चरणमा २०७८ बैशाख २५ गते देखि जेठ १५ गते सम्म सुपरिबेक्षकले लगत सुचिकरण गर्ने, घरपरिवार सुचिकरण गर्नेछन् ।

दोस्रो चरणमा जेठ २५ गते देखि असार ८ गते सम्म गणकले घर–घरमा गएर तथ्याङ्क संकलन गर्ने तयारी भएको छ । दार्चुलामा राष्ट्रिय जनगणनाका लागि १ सय ९० जना गणक तथा ६१ जना सुपरिबेक्षक खटाइने तयारी भइरहेको तथ्याङ्क अधिकृत पदमराज पाण्डेले जानकारी दिनुभयो ।

जनगणनाका लागि अगामी बैशाख १ गते देखि मालिकार्जुन गाउँपालिकाको शंकरपुर पस्ती र शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा स्थानीय जनगणना कार्यालयको स्थापना गरिनेछ । स्थानीय जनगणना कार्यालयमा इलाकाका जनगणना अधिकारी सहित तीन जनाको कर्मचारी जनशक्ती ब्यवस्थापन गरिने छ ।

देशभरको तयारी कहाँ पुग्यो ?

निर्देशक लामिछानेका अनुसार अहिले ५० वटा जिल्लामा जनगणनासँग सम्बन्धित सामग्री ढुवानी भइसकेको छ । बाँकी जिल्लामा छिट्टै पुगिसक्ने छ । जनगणनाका लागि खटिने अधिकृतस्तरका कर्मचारीहरूका लागि आवश्यक तालिमचलिरहेको छ ।

जिल्ला स्तरमा सुपरीवेक्षक तालिम संचालन गरिने तयारी भएको छ । गणकको भर्ना प्रक्रिया चलिरहेको छ । देशभर ३९ हजार गणक र ८ हजार सुपरीवेक्षक करारमा नियुक्त हुनेछन् । भर्ना सकिएपछि उनीहरुलाई तालिम दिइने छ । कर्मचारी अपुग भएमा भने स्थानीय सरकारी विद्यालयका शिक्षक र सरकारी कर्मचारीबाट व्यवस्थापन गरिने छ ।

जनगणनासम्बन्धी तथ्य

नेपालमा वि.सं. १९६८ मा पहिलो जनगणना चन्द्र शमशेरको पालमा राष्ट्रिय जनगणना भएको थियो । राणाविरुद्धको आन्दोलनका कारण विं स। २००८ को जनगणना रोकिएको थियो । जुन गणना वि.स. २००९-११ मासम्पन्न भएको थियो । वि.सं. २०१८ देखि हरेक १०-१० वर्षमा जनगणना हुँदै आएको छ ।

विं. सं. २०२८ मा तथ्यांक प्रशोधनका लागि पहिलो पटक कम्प्यूटरको प्रयोग सुरु भयो । विं. सं. २०६८ मा पहिलोपटक पशुपंक्षीको समेत विस्तृत गणना थालियो । विसं २०७८ मा पहिलो पटक वडास्तरीय आर्थिक तथ्यांक समे संकलन गरिँदै छ ।

मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं जनगणना, २०७८ देशभर सञ्चालन हुँदैछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?