गर्मी बढ्न थाल्यो, हुरी बताससहित चट्याङ्गको जोखिम

दार्चुला । देशभरको तापक्रम ह्वात्तै बढेको छ । बुधबारदेखि देशभरको तापक्रम बढेको हो । तापक्रमको वृद्धि भएसँगै आमनागरिकले गर्मीको महसुस गर्न थालेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत २४ घण्टाभित्र देशका अधिकांश भूभागको अधिकतम तापक्रममा वृद्धि भएको हो । जसअनुसार नेपालगञ्जमा सबैभन्दा बढी ४० डिग्री सेन्टिग्रेड तापक्रम पुगेको छ ।

त्यस्तै भैरहवाको तापक्रम ३९ डिग्री पुगेको छ । सिमराको ३८.२ डिग्री, जनकपुरको ३७.५, वीरेन्द्रनगरको ३६.४, विराटनगरको ३४.७, धनकुटाको ३१ र काठमाडौँको ३० डिग्री सेन्टिग्रेड तापक्रम रहेको छ ।

यसैबिच गएराति सुदूरपश्चिमसहित देशका धेरै ठाउँमा हुरी बताससहित चट्याङ्ग परेको छ । चट्याङ्ग लागेर हिजो एकैदिन तीन जनाले ज्यान समेत गुमाएका छन् ।

नेपालमा गएको मार्च महिनादेखि नै प्रिमनसुन भित्रिएको भए पनि सक्रिय हुन सकेको थिएन । यसले गर्दा मौसम धुम्म हुने गरेको थियो ।

अबको केही दिन भने प्रिमनसुन सक्रिय देखिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । तर, प्रिमनसुन सक्रिय भए पनि पानी पर्ने गरी प्रणाली नबनेकाले ठूलो हुरी चले पनि वर्षाको सम्भावना भने खासै छैन ।

यस्तै, आज र भोलि पनि बेलुकापछि ठूलो हुरीबतास चल्ने अनुमान गरिएको छ । मौसमविद् मानन्धरका अनुसार अबका केही दिन ठूलो हुरीबतास चल्ने सम्भावना छ । तर, पानी भने हल्का मात्रै पर्नेछ । प्रिमनसुनमा दिउँसोपछि मौसम बद्ली भएर हावाहुरी चल्ने, चट्याङ्ग पर्ने र पानी पर्ने हुन्छ ।

गएरातिको ठूलो हुरीले वायुमण्डलमा थुप्रिएका धुलोका कणलाई केही उडाए पनि पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण फेरि बढ्ने सम्भावना छ । तुवाँलो, धुवाँधुलो र डढेलोका कारण वायु प्रदूषण बढेकाले पानी नपरेसम्म पूर्णरुपमा वायुमण्डल सफा नहुने मौसमविद्को भनाइ छ ।

चट्याङ्ग र ठूलो हावाहुरीको सम्भावना रहेकाले सुरक्षित रहन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?