दार्चुला । पछिल्लो २४ घण्टामा थप २४ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
१० हजार एक पीसीआर परीक्षणमा २३ सय ६५ र चार सय ४७ एन्टिजेन परीक्षणमा ६३ जना गरेर २४ घण्टामै २४ सय २८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएकासहित नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई लाख ९२ हजार एक सय ५२ पुगेको छ । यस्तै थप दुई सय ५२ जना निको भएसँगै अहिलेसम्म दुई लाख ७६ हजार तीन सय ४५ जना सङ्क्रमणमुक्त भएका छन् । यसैबीच कोरोना सङ्क्रमण हुने दर बढ्दो र निको हुने दर घट्दो क्रममा रहँदा सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको छ ।
आज १२ हजार ६ सय ९० जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै थप पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ सय १७ पुगेको छ ।
३५ हजारलाई अक्सिजन चाहिने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो असारसम्ममा नेपालमा थप तीन लाख व्यक्तिमा कोरोना सङ्क्रमण देखा पर्नसक्ने अनुमान गरेको छ ।
मन्त्रालयले कोरोनाको युके भेरियन्टको सङ्क्रमण दर उच्च भएकाले अबको तीन महिनामा सङ्क्रमण दर उच्च हुने देखिएको बताएको हो ।
आज प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले ३ लाख सङ्क्रमितमध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार बिरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष ९आईसीयू० आवश्यक पर्ने अनुमान गरिएको बताउनुभयो । त्यसैअनुसार मन्त्रालयले तयारी गरिरहेको पनि सचिव अर्यालले बताउनुभयो ।
सचिव अर्यालले पछिल्लो केहीदिन काठमाण्डौका अस्पतालमा आएका कोरोना सङ्क्रमित बिरामीहरुको अवस्था छिटो गम्भीर अवस्थामा पुग्ने देखिएको बताउनुभयो । सचिव अर्यालले कुल जनसङ्ख्याको ७६ प्रतिशतमा कोरोना विरुद्धको खोप लगाउने योजना बनाएको पनि बताउनुभयो ।
मन्त्रालयले चालु आर्थिक वर्षमा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि झण्डै ८ अर्ब रुपैयाँ खर्च गरेको छ । यस्तै, आउँदो आर्थिक वर्षका लागि ६२ अर्बको सिलिङ्ग प्राप्त भए अनुसार कार्यक्रमहरु तयार गरिएको सचिव अर्यालले बताउनुभयो ।





प्रतिक्रिया