भारतसहित १० मुलुकबाट हुने अन्तर्राष्ट्रिय उडान रोक्ने तयारी

दार्चुला । सरकारले भारतसहित १० मुलुकबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने तयारी गरेको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाभाइरसबाट अति प्रभावित १० मुलुकबाट हुने सीधा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको हो ।

सीसीएमसीले कोरोना अतिप्रभावित मुलुकहरु भारत, अमेरिका, बेलायत लगायतका दश मुलुकबाट हुने उडानलाई रोक लगाउन सिफारिस गरेको हो ।। ट्रान्जिट हुँदै आउने विमानमा भने यो नियम लागू नहुने पर्यटनमन्त्री भानुभक्त ढकालले बताउनुभयो ।

सीसीएमसीले गरेका सिफारिस मन्त्रिपरिषद्को आगामी बैठकले पारित गर्ने र त्यसपछि कार्यान्वयनमा जाने उहाँले बताउनुभयो ।

यस्तै कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति सीसीएमसीले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ ।

शुक्रवार सिंहदरबारमा बसेको बैठकले नेपालको भारततर्फ खुलेका ३५ नाकामध्ये १३ नाका मात्रै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । दार्चुलाको खलंगासहित बाँकी २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । सुदूरपश्चिमको बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाका खुला रहनेछन् ।

यस्तै बैठकले निषेधाज्ञा लागू भएका जिल्लामा एक चौथाइ कर्मचारी राखेर कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै सरकारी कार्यालय र बैंक वित्तीय संस्थाका थोरै कार्यालय मात्र खुल्नेछन् । सरकारले क्वरेण्टीनसहित खुला राखेका नाकाहरू काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?