दार्चुला । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट एकैदिन १७ जनाको मृत्यु भएको छ । यो संख्या सुदूरपश्चिममा अहिलेसम्मकै उच्च हो ।
कैलाली, कञ्चनपुर, र बाजुरामा गरेर आइतबार १७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा कैलालीमा सबैभन्दा धेरै ९ जना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरमा ७ जना, बाजुरामा १ जनाको मृत्यु भएको छ ।
कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचाररत ४ जना शंकास्पद बिरामीको मृत्यु भएको छ । उनीहरुको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको निर्देशनाले जनाएको छ ।
१ हजार ६७ जना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा प्रदेशभर एक हजार ६७ जनामा संक्रमित थपिएका छन् ।
सेती प्रादेशिक अस्पतालसहित प्रदेशका विभिन्न प्रयोगशालामा पीसीआर र विभिन्न ठाउँमा एन्टिजेन विधिबाट दुई हजार पाँच सय ६४ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । जसमा पीसीआर विधीबाट एक हजार सात सय ८१ जनाको परीक्षण गर्दा आठ सय ५६ र सात सय ८३ जनाको एन्टिजेन विधीबाट परीक्षण गर्दा दुई सय ११ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २४ हजार एक सय ७८ पुगेको छ । उनीहरु मध्ये दुई सय ८ जनाको मृत्यु भइसकेको छ ।





प्रतिक्रिया