दार्चुला । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर फैलिरहेकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने सङ्केत गरेको छ ।
सोमवार (आज) भर्चुअल माध्यममार्फत भएको प्रेस बिफ्रिङमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोनाको दोस्रो लहर फैलिरहेकाले यसको रोकथामका लागि स्वास्थ्य सङ्कटकालको विषयमा सरकार सकारात्मक रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘स्वास्थ्य सङ्कटकाल लगाउने विज्ञको सुझावमा हामी सकारात्मक छौँ, अहिले कोरोनाको नयाँ भेरियन्ट फैलिरहेको छ, यसको रोकथामका लागि स्वास्थ्यको मापदण्ड पालनालाई सबैले प्राथमिकता दिनुपर्दछ ।’
यस्तै उहाँले कोरोना रोकथाम तथा उपचारका लागि सरकारले सके जति गर्ने पनि बताउनुभयो । थप खोप ल्याउन अमेरिका, बेलायत, चीन, रुस लगायतका देशसँग सकारात्मक छलफल भइरहेको मन्त्री त्रिपाठीले जानकारी दिनुभयो ।
यस्तै युरोपेली सङ्घसँग मौज्दातमा रहेको खोप नेपाल ल्याउने विषयमा पनि छलफल थालेको उहाँले बताउनुभएको छ ।
यसैबिच नेपालले कोभिड १९ विरुद्धको खोप आपूर्तिमा आफूलाई प्राथमिकतामा राख्न अमेरिकालाई आग्रह गरेको छ ।
अमेरिकी उपविदेशमन्त्री वेन्डी सेर्मनसँग बिहान भएको टेलिफोन वार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाललाई प्राथमिकतामा राख्न आग्रह गर्नु भएको हो ।
मन्त्री ज्ञवालीले पहिलो डोज लगाएर दोस्रो डोजको प्रतिक्षामा रहेकालाई लगाउन आवश्यक खोप उपलब्ध गराइदिन आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जवाफमा अमेरिकाले नेपाललाई सहयोग गर्न सकारात्मक रहेको बताएको परराष्ट्र मन्त्रालयद्वारा निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै, मन्त्री ज्ञवालीले महामारीविरुद्ध अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेकोमा अमेरिकालाई धन्यवाद पनि दिनु भएको छ ।
केही दिनअघि अमेरिकाले नेपाललाई कोरोनाविरुद्ध लड्नका लागि भन्दै अक्सिजन सिलिन्डरसहित भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।





प्रतिक्रिया