सुदूरपश्चिममा बिहानैदेखि वर्षा, मेघगर्जनसहित चट्याङ्गको जोखिम

दार्चुला । सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

भारतको बिहार र पश्चिम बङ्गालमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै पश्चिमी वायु र प्रिमनसुनको गतिविधिका कारण बिहानैदेखि पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश १ र २ मा हल्का वर्षा भएको छ भने सुदूरपश्चिमका जिल्लामा मध्यम खालको वर्षा भइरहेको उहाँले बताउनु भयो । अहिले दार्चुला, बैतडी, कैलाली र कञ्चनपुरमा वर्षा भइरहेको पनि मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो । आज दिनभरि नै वर्षा नभए पनि यी क्षेत्रको मौसम बद्ली रहने उहाँले बताउनुभयो । भोलि पनि यी तीन प्रदेशको मौसम यस्तै रहने अनुमान छ ।

काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी प्रदेशका धेरै ठाउँमा भने यतिबेला घाम लागेको छ । यी क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बद्ली रहने मौसमविद्ले बताएका छन् । प्रिमनसुनका कारण काठमाण्डौ उपत्यकालगायत पहाडी क्षेत्रका दिउँसोपछि मेघगर्जन र चट्याङ्गसहित फाट्टफुट्ट पानी पर्ने मौसमविद्ले बताएका छन् ।

भोलि र पर्सि पनि पहाडी क्षेत्रको मौसम सामान्य बद्ली भइ फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अहिले प्रिमनसुन बाहेक अन्य प्रणालीको प्रभाव नपरेकाले ठूलो पानी पर्ने सम्भावना भने छैन ।

यसैबीच, मौसमविद्ले यसपालि समयमा नै मनसुन भित्रिने बताएका छन् । सामान्यतया जुन १० तारिखमा नेपालमा मनसुन भित्रने गर्दछ । यसपालि जुन १० तारिखकै आसपासमा मनसुन भित्रिने अनुमान रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

मौसमविद्ले यसपालिको मनसुनमा धेरै पानी पर्ने अनुमान गरेका छन् ।

यसैबिच दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ ओडीगाउँमा वर्षासंगै चट्याङ पर्दा माधी गिरीको घरमा क्षति भएको छ ।

चट्याङ लागेर गिरीले पालेको एउटा भैँसीको मृत्यु भएको र घरमा भौतिक क्षति भएको लटिनाथ नमुना माबि चौपाताका प्रधानाध्यापक केशवराज बिष्टले जानकारी दिनुभयो ।

घरधनी चट्याङको आवाजले त्रसित भएर केहि समय बेहोस ‍भएपनि अवस्था सामान्य रहेको र कुनै मानविय क्षति नभएको उहाँले बताउनुभयो ।

अहिले इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

वर्षासंगैको हावाहुरी र चट्याङका कारण विद्युत सेवा अवरुद्ध भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?