दार्चुला । गर्मी र वर्षातको समयमा मात्र देखिने डेङ्गु दार्चुला सहित सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ ।
जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असमान्य बढ्नु र वर्षा चक्रको अनियमियतताले डेङ्गुको सङक्रमण बढ्दै गएको हो । दार्चुलामा पछिल्लो ६ महिनाको अवधिमा २ जनामा डेङ्गुको सङक्रमण पुष्टी भएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले बताउनुभयो ।
तापक्रम र वर्षाको चक्रले डेङ्गुको जोखिमलाई बढाएको उहाँको भनाइ छ ।उहाँका अनुसार छ महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशका एक सय ६७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।
जसअनुसार कञ्चनपुरमा २९, डोटीमा २५, अछाममा २४, बझाङमा ११, बाजुरामा ११ र दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण देखापरेको छ । एडिस एजिप्टाई जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट डेङ्गु सर्छ । पानी जम्ने ठाउँ र प्लाष्टिकजन्य फोहर व्यवस्थापन हुन नसक्दा डेङ्गु सार्ने लामखुट्टेको वृद्धि विकास हुँदै गएकोले डेङ्गुलाई मौसमी समस्याका रूपमा मात्र नबुझेर वर्षभरि नै सतर्कता तथा सावधानी अपनाउन डाक्टरको सुझाव छ ।





प्रतिक्रिया