दार्चुला । दार्चुलाको अपिहिमाल आरोहणको लागि आएको टोलीका दुई जना सदस्य आरोहणको क्रममा घाइते भएका छन् । अपिहिमालको पहिलो आरोहणको लागि आएको टोलीले गत भदौ १९ गतेबाट प्रशिक्षण सुरु गरेर शुक्रबार अपिहिमालको पहिलो आरोहणको लागि प्रस्थान गरेको थियो । सोही क्रममा टोलीका २ जना सदस्य घाइते भएको अपिहिमाल गाउँपालिका भक्तबहादुर सिंह ठेकरे बोहराले बताउनुभयो ।
आरोहणको क्रममा टोलीका सदस्य सञ्जीव गुरुङ र तेन्जिङ लामा शेर्पा घाइते हुनुभएको छ, उहाँहरुको उद्धारको लागि २ दिन देखि निरन्तर प्रयास भइरहेको छ, उहाँले भन्नुभयो । घाइतेहरुको हेलिकप्टर मार्फत उद्धारको लागि प्रयास भइरहेको भए पनि मौषम प्रतिकुलताका कारण उद्धार हुन नसेको उहाँले बताउनुभयो ।
गुरुङ र शेर्पालाई लिन शुक्रबार देखि सिम्रिक एयरको हेलिकप्टरले नियमित प्रयास गरिरहेको भए पनि भिजिविलिटी कम हुँदा हेलिकप्टर अवतरण नै नभएको उहाँले बताउनुभयो । अहिले आरोहण टोली वेश क्याम्पमा रहेको छ भने घाइतेको उद्धारको लागि आएको हेलिकप्टर र टोली गाउँपालिका केन्द्र खण्डेश्वरीमा रोकिएको छ ।
घाइतेहरुमा संन्जिव गुरुङको खुट्टा भाचिएको र तेन्जिङ लामा शेर्पा लाई शरीरमा चोट लागेको छ । आज पनि दिन भर घाइतेहरुको उद्धारको प्रयास जारी रहेको भए पनि पानी परिरहेकोले अहिले सम्म उद्धार गर्न नसकिएको गाउँपालिका अध्यक्ष ठेकरे बोहराले बताउनुभयो ।
टोलीका २ सदस्य घाइते भए पछि अहिलेको लागि आरोहण स्थगित गरिएको छ । घाइतेहरुको उद्धार पछि अन्य सदस्यले आरोहण गर्ने वा नगर्ने भन्ने विषयमा टुङ्गो लगाउने जानकारी पाएको गाउँपालिका अधयक्ष ठेकरे बोहराले बताउनुभयो ।





प्रतिक्रिया