दार्चुला । बैतडीको पुर्चौडीमा एकै घरका दुई बालकको ६ दिनको अन्तरमा मृत्यु भएपछि गाउँ शोकमग्न बनेको छ । नगरपालिका वडा नम्बर १० महरागाउँका दुवै बालकको ज्वरो र अन्य समान लक्षणको रोगका कारण ज्यान गएको हो । रोगको कारणबारे पुष्टि हुन बाँकी रहेको वडा नम्बर १० का वडा अध्यक्ष हिक्मत बहादुर विष्टले बताउनुभयो।
स्थानीय कैलाश महरा र मानमती महराका १३ वर्षीय छोरा विनोद महरा र १० वर्षीय छोरा विकास महराको निधन भएको वडा अध्यक्ष विष्टले जानकारी दिनुभयो। महरा दम्पतीका दुई मात्रै सन्तान रहेका थिए।
कक्षा ७ मा अध्ययनरत विनोदको फागुन ११ गते बिहान निधन भएको थियो भने कक्षा ५ मा अध्ययनरत विकासको फागुन १६ गते उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको वडा सदस्य विष्णु अवस्थीले जानकारी दिनुभयो ।
दुवै बालकमा उच्च ज्वरो, वान्ता, जिउ दुख्ने तथा कमजोरी देखिने जस्ता लक्षण देखिएको जनाइएको छ। सुरुमा सामान्य ज्वरो भन्दै हेलचेक्र्याइँ गर्दा अवस्था गम्भीर बन्दै गएको वडा अध्यक्ष विष्टको भनाइ छ।
उहाँका अनुसार माघ महिनादेखि नै सोही प्रकृतिका लक्षण भएका बिरामी गाउँमा देखिन थालेका थिए। हाल गाउँमा थप १५ जना सोही लक्षण भएका बिरामी रहेका छन्।
घटनापछि स्थानीयले नगरपालिकाको स्वास्थ्य शाखामा खबर गरेका थिए। त्यसपछि जिल्ला स्वास्थ्य कार्यालय र नगरपालिकाको समन्वयमा चिकित्सक, स्वास्थ्यकर्मी र ल्याबसहितको स्वास्थ्य टोली शनिबार गाउँ पुगेको छ। टोलीले बिरामीहरूको स्वास्थ्य परीक्षण, नमुना संकलन तथा आवश्यक उपचार सुरु गरेको जनाएको छ।
लगातार दुई सन्तान गुमाएपछि महरा दम्पती गहिरो मानसिक आघातमा रहेको स्थानीयले बताएका छन्। घटनापछि गाउँभरि शोकसँगै रोगको त्रास फैलिएको छ। स्थानीयवासीले मृत्युको यथार्थ कारण सार्वजनिक गरी प्रभावकारी उपचार, राहत तथा मनोसामाजिक सहयोग उपलब्ध गराउन माग गरेका छन्।





प्रतिक्रिया